१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

काभ्रेमा यातायात कार्यालय स्थापना हुने

मन्त्रालय र  बनेपा नगरपालिकाबीच सम्झौता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:oo:oo

काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा यातायात कार्यालय स्थापना हुने भएको छ। बनेपा नगरपालिकाको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्सको भवनमा यातायात कार्यालय स्थापना हुने भएको हो। यातायात कार्यालय स्थापना गर्नको लागि बनेपा नगरपालिका र श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशबीच सम्झौता भएको छ।

शुक्रबार सपिङ कम्प्लेक्सको भवनको माथिल्लो दुई तल्ला मन्त्रालयअन्तर्गत यातायात व्यवस्था कार्यालय काभ्रे सञ्चालनको लागि भोगाधिकार उपलब्ध गराउने विषयमा नगरपालिका र मन्त्रालयबीच सम्झौता भएको हो। शुक्रबार बनेपामा एक कार्यक्रमको आयोजना गरी यातायात कार्यालय स्थापना गर्न नगरपालिका र मन्त्रालय सम्झौता भएको छ।

सो कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले काभ्रेको बनेपामा यातायात कार्यालय स्थापना गर्ने विषयमा विगत तीन/चार महिनादेखि प्रयास गरिरहेकोमा बल्ल सफल भएको बताए। जिल्लावासी र छिमेकी जिल्ला रामेछाप, दोलखा, सिन्धुपाल्चोकलाई सहज हुने गरी कार्यालयको स्थापना गरेको उनले बताए। ‘अब यहाँ स्थापना हुने कार्यालयले काभ्रेको मात्रै नभएर काठमाडौंपूर्वका पाँच जिल्लाहरू सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुली जिल्लाका नागरिकलाई यातायात सेवामा सहजता प्रदान गर्नेछ।’ मन्त्री लम्सालले भने, ‘काठमाडौं र भुक्तपुरमा रहेको कार्यालयहरूमा सेवा लिन जाँदा अहिलेपनि भिडभाड र अफ्ठ्यारो झेल्दै आएको छौँ, त्यसरी भोग्नुपरेको समस्यालाई समाधान गर्न र नागरिकलाई छिटो सेवा प्रवाह गर्न यो कार्यालय स्थापना गर्न लागिएको हो।’ 

अब सम्झौता भएको भवनलाई सरसफाइ गरी व्यवस्थित बनाउँदै एक महिनाभित्र यातायात सेवा कार्यालयबाट सेवा प्रदान हुने मन्त्री लम्सालले बताए। कार्यालय सञ्चालनमा आएपछि कुनै पनि सवारीसाधनको राजस्व तिर्न काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए। सवारी जाँचपासको सेवासहित विस्तारै सवारी दर्ता, सवारीचालक अनुमतिपत्र लिने र नामसारी गर्नेलगायतका सेवाहरूसमेत सोही कार्यालयबाट हुने व्यवस्था मिलाउँदै जाने निर्णय मन्त्रालयले गरेको उनको भनाइ छ।

भक्तपुरको सल्लाघारीबाट वितरण हुँदै आएको पटके सेवाको लागि कार्यालयमै पुग्नुपर्ने झन्झटिलो अवस्थालाई हटाएर अनलाइनबाटै पटके काट्नका लागि राजस्व बुझाएर जुनसुकै ठाउँमा बसेर पनि सेवा लिन सक्ने व्यवस्था गरिरहेको मन्त्री लम्सालले बताए। बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यालय सञ्चालनका लागि दुई तलाका कोठाहरू प्रयोग गरे पुग्ने भएकाले मन्त्रालय र नगरपालिकाबीचमा सोहीअनुसारको सम्झौता गरेको बताएका छन्। 

यातायात कार्यालयका लागि भवन निःशुल्क 
मन्त्रालय र नगरपालिकाबीच भएको सम्झौतामा सपिङ कम्प्लेक्सको भवन दश वर्षको लागि निःशुल्क उपलब्ध गराउने सहमति भएको छ ।

उपलब्ध भवनमा मन्त्रालयले उपयोग गर्ने भवनको भागमा कार्यालय सञ्चालनको लागि आवश्यक पार्टेसन गर्ने तथा कार्यालयको सेटअपसम्बन्धी काम मन्त्रालयले गर्नेछ ।

भवनको संरचनाको मर्मत, रङरोगन, सरसफाइलगायतका कार्यको लागत अनुमान नगरपालिकाले तयार गरी मन्त्रालयमा पठाउने र मन्त्रालयले क्रमिक रूपमा आफ्नो बजेटबाट वा प्रदेश सरकारको सहरी विकास कार्यालयमार्फत मर्मत, रङरोगन तथा सरसफाइका कार्यहरू गर्ने, भवनमा जडान भएको बिजुलीबाट मन्त्रालयले प्रयोग गर्ने भागमा विद्युत् आपूर्तिका लागि सबमिटर राखी मन्त्रालयले उपयोग गरेको बिजुलीको दररेटअनुसारको रकम नगरपालिकालाई उपलब्ध गराउने र यातायात व्यवस्था कार्यालयमा पर्याप्त पार्किङको आवश्यकता पर्ने भएकोले भवनसँगै जोडिएको खाली जग्गा नगरपालिकाले उचित दररेटमा भाडामा लिने र त्यसरी लिएको जग्गाको सम्झौताबमोजिमको बहाल रकम मन्त्रालयले उपलब्ध गराउने व्यवस्था मिलाउने सहमति भएको छ।

मन्त्रालयले प्रयोग गर्ने भवनको भागमा खानेपानीको आपूर्तिको लागि नगरपालिकाले छुट्टै खानेपानी धाराको लाइन व्यवस्था गरिदिने तथा मन्त्रालयले प्रयोग गर्ने भवनको भागमा खानेपानी आपूर्ति व्यवस्थापनका लागि आवश्यक संरचना तयार गर्ने कार्य मन्त्रालयले गर्नेछ।

यसरी जडित धाराको महसुल मन्त्रालयले भुक्तानी गर्ने, भवनको उपयोगका सम्बन्धमा यसपछि कुनै द्विविधा उत्पन्न भएमा तथा थप समझदारी कायम गर्नुपर्ने अवस्था देखिएमा दुवै पक्षबीचको आपसी समझदारीबमोजिम गर्ने र दुवै पक्षको सहमतिमा सम्झौताका सर्तहरू संशोधन हुन सक्ने सहमति गरेको छ।
 

ad
ad