१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:२o:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

उपाधि रक्षा गर्न सकेन नेपालले

Read Time : > 4 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२o:oo

नेपाल एसिसी प्रिमियर कपको साबिक विजेता हो । ओमानमा उपाधि रक्षा गर्ने लक्ष्य राखेको नेपाल दोस्रो संस्करणको सेमिफाइनलबाट बाहिरिएको छ । एसोसिएट राष्ट्रमा चिरपरिचित प्रतिद्वन्द्वी युएईसँग नेपाल ६ विकेटको फराकिलो अन्तरले पराजित भयो । हारसँगै नेपालले दुई महत्वपूर्ण पक्ष गुमाएको छ । पहिलो, नेपालले उपाधि रक्षा गर्न सकेन् । दोस्रो, नेपालले पुनः एकपटक एसिया कप खेल्ने सपना गुमाएको छ । प्रतियोगिताको विजेताले एसिया कप खेल्न अवसर पाउनेछ । जसमा एकदिवसीय तथा टी–२० विश्वकपका पूर्वविजेताहरू भारत, पाकिस्तान र श्रीलंकाजस्ताविरुद्ध खेल्ने सुनौलो अवसर नेपाली खेलाडीले गुमाएका छन् । एसियामा यी राष्ट्रबाहेक अफगानिस्तान र बंगलादेशसमेत सहभागी छन् । 

एसियन क्रिकेट काउन्सिल (एसिसी)ले एसोसिएट राष्ट्रहरूलाई आइसिसीको पूर्णकालीन सदस्यहरूसँग म्याच एक्सपोज र अनुभव बटुल्ने अवसर प्रदान गर्न प्रिमियर कपका विजेतालाई एसिया कप खेल्ने प्रावधान बनाएको हो । अब यो अवसर ओमान वा युएईमध्ये एकले पाउने पक्का छ । यी दुवै टोली फाइनलमा पुगेका छन् । ओमानले हङकङलाई पाँच विकेटले हराउँदै अन्तिम दुईको स्थान पक्का गरेको हो । 

दोस्रोपटक अल इमरेत मैदान अनलक्की
ओमानको अल इमरेत क्रिकेट मैदान–१ नेपाललाई दोस्रोपटक अनलक्की भएको छ । यसै मैदानमा नेपालले डेढ वर्षअघि युएईसँग खेल गुमाउँदा आइसिसी टी–२० विश्वकप क्रिकेटमा छनोट हुने मौका गुमाएको थियो । यसपटक युएईसँगै हार्दा नेपालको एसिया कप खेल्ने सपना तुहिएको छ । सन् २०२२ मा नेपालले आइसिसी टी–२० विश्वकप छनोट ‘ए’को सेमिफाइनलमा नेपाल अल इमरेत मैदानमै युएईसँग ६८ रनले पराजित भएको थियो । संयोग कस्तो रह्यो भने त्यसवेला पनि नेपाल समूह विजेता तथा युएई समूह उपविजेताका रूपमा अन्तिम चारमा भिडेका थिए । नेपालले चालू प्रिमियर कपमा अपराजित रही अन्तिम चारको स्थान पक्का गरेको थियो । युएई भने समूह ‘बी’ उपविजेता भएको थियो । नेपालले समूहमा मलेसियामाथि पाँच विकेटको जित निकालेको थियो । अर्को खेलमा नेपालले कतारलाई ३२ रन र हङकङविरुद्ध आठ विकेटको जित हात पारेको थियो ।  

पावर प्लेमा फितलो ब्याटिङ 
नेपाली खेलाडी अक्सर महत्वपूर्ण खेलमा ब्याटिङमा चुक्दै आइरहेका छन् । जिम्मेवारीपूर्वक ब्याटिङ गर्नुपर्ने अवस्थामा भरपर्दा ब्याट्सम्यान सस्तै रनमा पेभेलियन फर्कनु नेपालको मुख्य समस्या हो । एकरूपताका साथ ब्याटिङ गर्न नसक्नु नेपालको प्रमुख कमजोरीकै रूपमा रहेको छ । युएईविरुद्धको सेमिफाइनलमा यही पक्ष दोहोरिएको छ । युएईले टस जित्दै पहिलो फिल्डिङ गर्ने निर्णय लियो । यस पिचमा पहिलो, दोस्रो ब्याटिङ गर्न सजिलो छ । सुरुवातको स्पेलमा बलर ब्याट्सम्यानमाथि हाबी हुने गर्छन् । जुन नेपालमाथि युएईका सिमर मजाले हाबी मात्र भएनन् । उनीहरूले मानसिक रूपमा दबाब राखे । पहिलो पावर प्लेमा नेपाल ३०–२ को अवस्थामा थियो । पावर प्लेमा ब्याट्सम्यान आक्रामक रूपमा प्रस्तुत हुँदा विपक्षी बलर त्यतिकै दबाबमा पर्छ । ब्याट्सम्यानले बलरविरुद्ध ‘माइन्ड गेम’ पर्ने वेलामा उल्टै मानसिक दबाबमा ब्याटिङ गरे । यसको फाइदा युएईका बलरले उठाए । पावर प्लेमा कमजोर प्रदर्शन गरेको नेपालले युएईविरुद्ध ठूलो योगफल खडा गर्न नसक्नु प्रमुख कारण थियो । 

जोराको अर्धशतकीय योगदान
युएईका बलर हाबी भएको पिचमा नेपालको फितलो ब्याटिङ प्रदर्शन भयो । इनिङ्सको ९.१ ओभरमा नेपालले स्कोर बोर्डमा ५० रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल इनिङ्सको पहिलो बलमै पेभेलियन फर्केपछि नेपालका खेलाडी एकपछि अर्को गरी आउट हुँदै गए । आसिफ शेखले आठ रन तथा कप्तान रोहित पौडेलले पाँच रन मात्र बनाए । मध्यक्रमका भरपर्दा ब्याट्सम्यान कुशल मल्लले तीन रन तथा दीपेन्द्रसिंह ऐरीले पाँच रन बनाउँदा नेपालले १३.२ ओभरमा पाँच विकेटको नोक्सानीमा ७५ रन जोडेको थियो । दीपेन्द्रसिंहले कतारविरुद्धको अन्तिम ओभरमा ६ बलमै छक्का प्रहार गरी कीर्तिमान बनाएका थिए । कतारपछि उनको ब्याटिङ खासै चल्न सकेन । 

इनिङ्सको १५.३ ओभरमा सोमपाल कामी आउट हुँदा नेपाल ८९/७ को स्थितिमा रह्यो । सन्दीप जोरा र गुल्सन झाले नेपालको ब्याटिङ उकासेका थिए । तर, दुवैले स्कोर बोर्डमा युएईविरुद्ध चुनौतीपूर्ण योगफल खडा गर्न सकेनन् । जोराले ४० बलमा चार चौका र दुई छक्का प्रहार गरी ५० रन बनाए । गुल्सनले १६ बलमा समान एक छक्का र चौका प्रहार गरी २० रन बटुले । करण केसीले १२ बलमा दुई छक्काको सहयोगमा १७ रन बटुले । नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १९ रनको मध्यम योगफल खडा गरेको थियो । टी–२० खेलमा नेपालको यो १६औँ कम योगफल हो । प्रत्युत्तरमा युएईले १७.२ ओभरमा चार विकेट गुमाउँदै एक सय २३ रन जोड्दै नेपाललाई स्तब्ध पार्न सफल भयो । 

कप्तान रोहित पौडेल भन्छन्— 
टस हार्नु नै हाम्रो दुर्भाग्य हो । यस पिचमा युएईका बलरले भरपूर फाइदा लिए । नियमितजसो विकेट झरिरहँदा हामीले राम्रो साझेदारी गर्न सकेनौँ । साझेदारी राम्रो हुँदा युएईविरुद्ध राम्रो योगफल खडा गर्न सकिन्थ्यो । आज हारको एक मात्र कारण हाम्रो खराब ब्याटिङ प्रदर्शन हो । 

टी–२० मा नेपालको ६ कम योगफल
१३ जुलाई २०१५ 
नेपाल ५३/१० । आयरल्यान्ड ५४/२
आयरल्यान्ड आठ विकेटले विजयी

नेपाल आफ्नो इतिहासमै आयरल्यान्डविरुद्ध कम योगफल ५३ रनमा अल आउट भएको छ । भर्खर टी–२० विश्वकप खेलेर हौसिएको नेपाल आयरल्यान्डविरुद्धको खेलमा १४.३ ओभरमा अलआउट भएको थियो । वेलफास्टमा सुरुवाती ब्याटिङ गरेका नेपालका ओपनर सागर पुनले सर्वाधिक २० र कप्तान पारस खड्काले १० रन जोडेका थिए । प्रत्युत्तरमा आयरल्यान्डले आठ ओभरमै दुई विकेट गुमाएर खेल जित्यो । 

१० अक्टोबर २०१९
नेपाल ६४/१० । ओमान ६५/४
ओमान ६ विकेटले विजयी

नेपालको दोस्रो खराब ब्याटिङ ओमानविरुद्ध हो । अल इमरेत मैदानमा नेपाल ११ ओभरमै ६४ रनमा अल आउट भएको थियो । आरिफ शेखले २० रन र दीपेन्द्रसिंह ऐरीले १० रन जोडे । कप्तान पारससहित कुनै पनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् । ओमानका आमिर कलिमले पाँच विकेट लिएका थिए । ओमानले चार विकेट गुमाउँदै ११.५ ओभरमा जित निकालेको थियो । ओमानका सुरज कुमारले ३० बलमा अविजित ४२ रन बनाए । 

१ जुलाई २०१५
नेदरल्यान्ड्स १७२/४ । नेपाल ६९/१०
नेदरल्यान्ड्स १०३ रनले विजयी 

नेदरल्यान्ड्स यात्रामा पुगेको नेपाली टोली ६९ रनमै अल आउट भयो । दोस्रो टी–२० मा नेदरल्यान्ड्सले चार विकेट गुमाउँदै एक सय ७२ रन बनायो । प्रत्युत्तरमा नेपालले १७.४ ओभरमा सबै विकेट गुमाउँदा मात्र ६९ रनको योगफल खडा गर्‍यो । नेपालको इनिङ्समा शरद भेसवाकरले सर्वाधिक १८ रन जोडे ।  नेदरल्यान्ड्सका माइकल रिपोनले तीन विकेट लिए । नेदरल्यान्ड्सका ओपनर माइकर स्वार्टले ५९ बलमा आठ चौका र एक छक्कासहित ७६ रन बनाएका थिए ।

२४ नोभेम्बर २०१४
नेपाल ७२/१० । हङकङ ७३/८
हङकङ दुई रनले विजयी 

टी–२० क्रिकेटमा नेपालले हङकङविरुद्ध चौथो कम योगफल बनाएको छ । श्रीलंका यात्रामा नेपालले चौथो खेलमा पूरै २० ओभर खेल्दा सबै विकेट गुमाएर मात्र ७२ रन बनाएको थियो । सोमपालले ३१ बलमा ४० रन बनाए । अन्य खेलाडीले दोहोरो रन नै बनाउन सकेनन् । प्रत्युत्तरमा हङकङले १९.५ ओभरमा जित निकालेको थियो । हङकङका इजाज खान र अनास खानले समान २१ रन जोडे । 

१३ मार्च २०२४
पिएनजी १७१/८ । नेपाल ८५/१०
पिएनजी ८६ रनले विजयी

हङकङमै भएको सिरिजमा नेपाल पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ८५ रनमा समेटिएको थियो । एक सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अल आउट भयो । नेपालको इनिङ्समा सन्दीप जोराले सर्वाधिक १७ रन बनाए । पहिलो इनिङ्समा पिएनजीका टोनी उराले ६१ रन बटुले । आकाश चन्द र कुशल भुर्तेलले समान तीन विकेट हात पारेका थिए । 

१७ जुलाई २०१५
नेपाल ९३/१० । पिएनजी ९९/२ 
पिएनजी आठ विकेटले विजयी 

डब्लिनमा भएको खेलमा नेपाल पिएनजीसँग आठ विकेटले पराजित भएको थियो । नेपालले मात्र १९.४ ओभरमा अलआउट हुँदा ९३ रन बनायो । ओपनर प्रदीप ऐरीले २९ र सागर पुनले १५ रन बनाए । प्रत्युत्तरमा टोनी उराले ३२ रन जोडेपछि पिएनजीले सहज जित निकाल्यो । 

ad
ad