१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२० बैंकको नाफा ४० अर्ब ६८ करोड

आव ०७९/८० को चैतसम्म ४७ अर्ब कमाएका बैंकको नाफा यस वर्ष १३.४७ ले घट्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:३३:oo

चालू आर्थिक वर्ष ०८०/८१ को तेस्रो त्रैमास (चैत)सम्ममा २० वाणिज्य बैंकले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । उनीहरूको यो नाफादर गत आव ०७९/८० को सोही अवधिको तुलनामा भने १३.४७ प्रतिशतले कमी हो ।

नाफा आर्जन गरे पनि १० बैंकहरू मुनाफा दिन नसक्ने (वितरणयोग्य नाफा ऋणात्मक) अवस्थामा पुगेका छन् । वाणिज्य बैंकहरूले शुक्रबार सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार निष्क्रिय कर्जा अनुपात (एनपिएल) थप बढेर ३.६५ प्रतिशत पुगेको छ । 

गत आवको समीक्षा अवधिमा वाणिज्य बैंकको खुद नाफा ४७ अर्ब एक करोड १५ लाख रुपैयाँ थियो । यो वर्ष भने खुद नाफा १३.४७ प्रतिशतले घटेको हो । तेस्रो चौमाससम्म १३ बैंकको नाफा घटेको छ भने सातवटाले नाफादर वृद्धि गरेका छन् ।

सबैभन्दा बढी नबिल बैंकले नाफा आर्जन गरेको छ । नबिलले चार अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन अर्ब २७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ ।

वाणिज्य बैंकहरूले नौ महिनामा ४० अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाए पनि वितरणयोग्य नाफाको अवस्था भने कमजोर छ । समीक्षा अवधिमा १० बैंक नाफा बाँड्नै नसक्ने अवस्थामा छन् । हिमालयन बैंकको वितरणयोग्य नाफा पाँच अर्ब २४ करोड रुपैयाँले ऋणात्मक छ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगाको पाँच अर्ब १८ करोड रुपैयाँ, कुमारीको चार अर्ब २० करोड रुपैयाँ, एनआइसी एसियाको एक अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइजको एक अर्ब २४ करोड रुपैयाँ र नेपाल बैंकको एक अर्ब चार करोड रुपैयाँले वितरणयोग्य नाफा ऋणात्मक छ । 

एनएमबि बैंकको ४२ करोड ९२ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ४२ करोड ३१ लाख रुपैयाँ, माछापुच्छ«े बैंकको ३० करोड ५६ लाख रुपैयाँ र सिद्धार्थको २७ करोड १२ लाख रुपैयाँले वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । बाँकी १० बैंकको वितरण योग्य नाफा धनात्मक छ । तर, खुद नाफाको तुलनामा एकदमै कम रहेको तथ्यांकले पुष्टि गरेको छ । 

मुलुकमा आर्थिक शिथिलता भएका कारण बैंकको नाफादर घटेको र वासलातमा वितरणयोग्य नाफा नदेखिएको नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मनोज ज्ञवालीले बताए । आर्थिक शिथिलताका कारण बैंकहरूको सबै कर्जा असुल हुन सकेको छैन । फलस्वरूप निष्क्रिय कर्जा अनुपात बढ्दै गएको छ । त्यो अवस्थामा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ)बापत राख्नुपर्ने रकम बढ्दै गएको छ । 

एनएफआरएस प्रणालीमा वित्तीय विवरण बनाउँदा पनि खुद नाफाको तुलनामा वितरणयोग्य नाफा कम देखिएको ज्ञवाली बताउँछन् । ‘एनएफआरएस प्रणालीमा वित्तीय विवरण बनाउँदा एक्रुअल बेसिस (प्रोदभावी प्रणाली)मा नाफा–नोक्साना गणना गर्नुपर्छ । त्यसअनुसार असुल नभएको ब्याज पनि आम्दानीमा देखाउनुपर्छ । अहिलेको आर्थिक शिथिलताका कारण केही कर्जाको ब्याज उठ्न सकेको छैन । तर, आम्दानीमा राखिएको छ । त्यसले गर्दा नाफा बढेको छ,’ उनले भने, ‘तर, नउठेको ब्याजबापत छुट्टै रकम प्रोभिजनिङ गर्नुपरेको छ । त्यसमाथि निष्क्रिय कर्जाका कारण पनि कर्जा नोक्सानीमा राख्नुपर्ने रकम बढ्दै गएको छ । त्यसले गर्दा अधिकांश बैंकहरू नाफा बाँड्न नसक्ने अवस्थामा पुगेका छन् ।’

त्यसैगरी, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले पनि शिथिल अर्थतन्त्रको असर बैंकिङ क्षेत्रमा परेको बताए । यद्यपि, यो शिथिलतामा बैंकहरूले कमाएको नाफालाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ । 

‘अहिलेको अवस्थामा बैंकहरूको नाफा घट्नु स्वाभाविक हो । बैंकहरूले जुन नाफा कमाएका छन्, त्यो आफँैमा सकारात्मक पक्ष हो,’ उनले भने, ‘यो संकटको अवस्थामा अघिल्लो वर्षको तुलनामा नाफा बढेको भए अपाच्य हुन्थ्यो । घट्नु स्वाभाविक हो ।’

समीक्षा अवधिमा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा अनुपात औसतमा ३.६५ प्रतिशत पुगेको छ । गत आवको यसै अवधिमा वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात २.९९ प्रतिशत थियो । तर, अहिले त्यो उच्चदरमा बढेको छ । 

समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकको निष्क्रिय कर्जा अनुपात सबैभन्दा धेरै ५.४९ प्रतिशत पुगेको छ । यसैगरी हिमालयनको ४.९६ प्रतिशत, कुमारीको ४.९५ प्रतिशत र नेपाल बैंकको ४.८५ प्रतिशतसम्म निष्क्रिय कर्जा पुगेको छ । समीक्षा अवधिमा सबैभन्दा कम निष्क्रिय कर्जा एभरेष्ट बैंकमा रहेको छ । उक्त बैंकमा ०.७ प्रतिशत मात्रै निष्क्रिय कर्जा रहेको छ । 

ad
ad