१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार

काठमाडौं महानगरमा २ सय ४२ सहकारीविरुद्ध ६ हजार उजुरी

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:१o:oo

अनुगमन गरिएका सहकारी नियमसम्मत सञ्चालन भएको भेटिएन 

काठमाडौं महानगरपालिकामा दुई सय ४२ सहकारीविरुद्ध ६ हजार उजुरी दर्ता भएका छन् । यी सहकारीले बचतकर्ताको करिब एक खर्ब रकम फिर्ता गर्न बाँकी छ । 

महानगरका सहकारी विभाग निर्देशक बलराम त्रिपाठीका अनुसार करिब तीन हजार उजुरी भने सामान्य सहमतिमा फिर्ता भएका छन् । ‘हाल महानगरको कार्यक्षेत्रमा एक हजार नौ सय सहकारी छन् । यीमध्ये दुई सय ४२ सहकारीविरुद्ध ६ हजार उजुरी दर्ता भएका छन् । तीन हजार उजुरी भने सामान्य सहमतिका आधारमा फिर्ता भइसकेका छन् । विभागमा अहिले पनि दैनिक दुई–तीनवटा उजुरी आउँछन्,’ त्रिपाठीले भने, ‘बचत गरेको रकम सहकारीले फिर्ता नदिएको, तोकिएबमोजिम ब्याज प्राप्त नभएकोलगायत उजुरी परेका छन् ।’ 

त्रिपाठीले केही उजुरी सहकारी सञ्चालकले बचतकर्ता र ऋणीविरुद्ध पनि दर्ता गरेको बताए । बचतकर्ताले धम्क्याएको, ऋणीले ऋण नतिरेको, ऋणीबाट पैसा असुलउपर नहुन्जेल घरजग्गा रोक्का राखिदिनुपर्नेलगायत उजुरी परेको उनले बताए । 

पछिल्लो समय सहकारीसँग सम्बन्धित विभिन्न समस्या देखिन थालेपछि महानगरले गत १६ चैतदेखि अनुगमनसमेत थालेको छ । यसबीचमा पाँच सहकारीमा अनुगमन भएकोमा कुनै पनि नियमसम्मत सञ्चालन भएको नभेटिएको त्रिपाठीले जानकारी दिए । 

‘सुमेरु बचत ऋण तथा सहकारी संस्था लिमिटेड, महागुठी बहुउद्देश्यीय सहकारी, अग्रिम बचत तथा ऋण सहकारी, साई बचत तथा ऋण सहकारी र पर्यटन व्यवसायी विकास बचत तथा ऋण सहकारीको अनुगमन भइरहेको छ । तर, यी कुनै पनि सहकारी पूर्ण रूपमा कानुनसम्मत सञ्चालित भएको पाइएन,’ उनले भने, ‘महानगरभित्र भएका सबै सहकारीलाई ट्र्याकमा नल्याई अनुगमन छाड्दैनौँ ।’ 

महानगरले पहिलो चरणमा ४० सहकारीको अनुगमन गर्ने सूची तयार पारेको छ । त्यसपछि दोस्रो चरणको काम थाल्नेछ । नियमअनुसार सञ्चालन नभएका सहकारीविरुद्ध प्रहरीमा उजुरीसमेत गर्दै जाने महानगरले जनाएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको काम, कर्तव्य र अधिकारअन्तर्गत सहकारीसम्बन्धी अधिकार पनि छ । जसअन्तर्गत सहकारी संस्थासम्बन्धी स्थानीय नीति, कानुन, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन, सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन, सहकारी बचत तथा ऋण परिचालनसम्बन्धी स्थानीय मापदण्ड निर्धारण, नियमन, सहकारीसम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघसंस्थासँग समन्वय र सहकार्य, सहकारीसम्बन्धी स्थानीय तथ्यांक व्यवस्थापन र अध्ययन–अनुसन्धानलगायत छन् ।

८६ सहकारीको अनुसन्धान गर्न प्रहरीलाई पत्र 
महानगरले ८६ सहकारीलाई कारबाही गर्न प्रहरीमा उजुरी गरेको छ । बचत तथा ऋण सहकारीहरू न्युज डेभलपमेन्ट, अष्ट मंगल ढुकु पिकु, चाइना टाउन, समुन्नत, बिजनेस, एलपिजी, लक्षपमबास, सुर्योदय ज्योति, स्वतन्त्र शान्ती, र मानापाथी छन् ।

त्यस्तै, ल्होत्से, सोसाइटी, तिब्र, उपासी, सिर्कादेवी, ऊँ बटु, हलमार्क र सम्यक बचत तथा ऋण सहकारी संस्थालाई पनि कारबाही गर्न प्रहरीमा उजुरी परेको छ । ए टु जेड, पानी ट्यांकी, उन्नती, मुस्किलमा सजिलो, मनसुन, जनमत, आनन्द नगर, सुपर टप, जनजीविका, अस्मोसिस महिला चालक मजदूर, जिलेट, गृह शान्ती, सर्वश्री र कान्ती बचत तथा ऋण सहकारी संस्थामाथि पनि अनुसन्धान गर्न प्रहरीमा पत्र गएको छ ।

त्यस्तै, संघर्ष, हेल्प विथ अस, नमस्ते गोसाइकुण्ड, द नेक्स्ट, जाम्बाला, पुण्यभुमी, जय हनुमान, सुख समृद्धि, डेभलपमेन्ट, आरक्ष, नव संकल्प, अमृताम्भ, पर्फेक्ट, अष्ट, स्वर्णकालीन, हाम्रो भकारी, जनमिलन, मिनी, हिराखुशी र ट्रेजर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि कारबाही माग गरिएको छ ।

त्यस्तै, बहुउदेश्यीय सहकारी संस्थाहरू स्वर्ण पथ, हितकोष, मध्यबिन्दू र किरणोदयविरुद्ध महानगरले प्रहरीलाई पत्र पठाएको छ । उजुरी गरिएको पर्फेक्ट बचत तथा ऋण सहकारीले भने बचत फिर्ता गरिरहेको महानगरले जनाएको छ ।

ad
ad