१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा मन्त्री व्यवस्थापनमा समस्या, मन्त्रालयको संख्या १३ पुर्‍याउने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:२५:oo

बागमती प्रदेश सरकारमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको नयाँ गठबन्धनबाट १२ वटा मन्त्रालयमा १३ जना मन्त्री बनेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलका लागि मन्त्री व्यवस्थापन समस्या बनेको छ ।

सत्तासमीकरण परिवर्तन भएसँगै कांग्रेस सरकारबाट बाहिरिएपछि गत १९ चैतमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासकोे मत लिएका थिए । उक्त समयमा एकीकृत समाजवादीबाट थप एकजना र एमालेबाट चारजना मन्त्रीले शपथ लिएपछि बागमतीमा १२ मन्त्रालयमा १३ मन्त्री बनेका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले सत्ता जोगाउनकै लागि तत्काल एकीकृत समाजवादीकी रमा आलेमगरलाई विनाविभागीयमन्त्रीका रूपमा शपथ गराएको चर्चा चलेको थियो । सांसद आलेले मन्त्री नबनाए विश्वासको मत नदिने अडान लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएलगत्तै सांसद आलेलाई विनाविभागीयमन्त्रीमा नियुक्त गरेका थिए ।

मन्त्री आलेलाई एक हप्ताभित्र जिम्मेवारी दिने आश्वासन दिइएको भए पनि दुई हप्ता पुग्दासमेत उनले कुनै जिम्मेवारी पाएकी छैनन् । हाल बागमतीमा मुख्यमन्त्रीसहित माओवादी केन्द्रका चार, एमालेका पाँच, एकीकृत समाजवादीका तीन र हाम्रो नेपाली पार्टीका एकजना मन्त्री छन्। 

सरकार गठनको समयमा एकीकृत समाजवादीलाई दुईवटा मात्रै मन्त्रालय दिने सहमति भएको एमाले र माओवादी केन्द्रको दाबी छ । समाजवादीका एकजना मन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने उनीहरूको भनाइ छ । तर, एकीकृत समाजवादीले भने मन्त्री आलेलाई जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाएको छ । 

एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद खनालले आफ्नो पार्टीबाट मन्त्री बनेका कसैले पनि राजीनामा नदिने दाबी गरे । बरु मन्त्री आलेलाई तत्कालै जिम्मेवारी दिनुपर्ने उनको माग छ ।‘हामी मन्त्रालय बढाउने पक्षमा पनि छैनौँ र हाम्रा मन्त्रीले राजीनामा पनि दिँदैनन् । बरु जतिसक्दो चाँडो विनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिनुपर्छ,’ उनले भने ।

मन्त्रालयको संख्या १३ पुर्‍याउने तयारी
मुख्यमन्त्री जम्कट्टेलले मन्त्री व्यवस्थापनमा समस्या भएपछि प्रदेशमा रहेका मन्त्रालयको संख्या बढाएर १३ बनाउने तयारी गरेको संकेत गरेका छन् । विनाविभागीयमन्त्री व्यवस्थापनका लागि भए पनि प्रदेशमा मन्त्रालयको संख्या बढाउने कि भन्ने विषयमा चर्चा भइरहेको उनले बताए । यसका लागि सत्तासाझेदार दलहरूसँग छलफल भइरहेको बताए ।

‘विगतमा १४ वटा मन्त्रालय रहेकोमा घटाएर ११ सम्म बनाएका थियौँ । तर, अघिल्लो गठबन्धनका कारण मन्त्रालयको संख्या १२ पुर्‍याउन बाध्य भएका थियौँ । अहिले पनि त्यस्तै परिस्थिति छ । मन्त्रालयको संख्या थप्ने कि भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।

मुख्यमन्त्री जम्कट्टेलले सत्तासाझेदार दल एकीकृत समाजवादीका दुईजनालाई मन्त्री बनाउने सहमति भए पनि तीनजना मन्त्री बनेपछि समस्या भएको स्वीकार गरे । उनले विनाविभागीयमन्त्रीको विषय र मन्त्रालयको संख्याको विषयमा एक हप्ताभित्रै निर्णयमा पुग्ने बताए ।

ad
ad