१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नवीन यादव
२o८१ बैशाख १७ सोमबार o७:५४:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

मधेशकेन्द्रित दलहरूको ‘मधेश’ बिर्सिने रोग

अन्य दलले मधेशका पीडा बुझेनन्, मधेश उपेक्षित भयो भनेर नयाँ दल गठन गर्ने नेताले नै सत्तामा पुगेपछि मधेशलाई चटक्कै बिर्सिए

Read Time : > 5 मिनेट
नवीन यादव
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:५४:oo

राणा शासनको अन्त्यअघिदेखि नै मधेशले आफ्नो हक–अधिकार र पहिचानका निम्ति अवाज नउठाएको होइन । तर, २००७ सालपछि मात्र संगठित रूपमै मधेशले मधेशकेन्द्रित राजनीतिको जग बसाल्यो । राणाशासनविरुद्धको आन्दोलन सबै नेपाली नागरिकको सझा समस्या थियो । त्यसमा सम्पूर्ण नेपाली जनतासँगै दशकौँदेखि विभेद र असमानताको वृत्तमा घेरिएका मधेशीले पनि सबै चोट बिर्सिएर २००७ सालको क्रान्तिमा जबर्जस्त रूपले आफ्नो सहभागिता जनाए ।

त्यसयताका दिनमा मात्र मधेशले आफ्ना निम्ति संघर्ष सुरु गर्‍यो । त्यसवेला कम्युनिस्ट पार्टीमाथि भन्दा कांग्रेसप्रति मधेशको विश्वास बढी थियो । अधिकांश  मधेशका जमिनदार कांग्रेसमै थिए । २००८ सालमा मधेशकेन्द्रित दल नेपाल तराई कांग्रेस स्थापना भयो । वेदानन्द झा, कुलानन्द झा, बलदेव दास यादवजस्ता केही चर्चित मधेशी नेताले तराई कांग्रेसको मोर्चा सम्हाले ।

तराईमा स्वायत्त राज्य हुनुपर्ने, हिन्दीलाई राज्य भाषासरह मान्यता दिनुपर्ने, सरकारी सेवामा मधेशीको उचित सहभागिता हुनुपर्ने, देशमा संघीयता स्थापना हुनुपर्नेजस्ता कैयन् मुद्दा उसले उठाएको थियो । त्यसैले तराई कांग्रेसप्रति मधेशको झुकाव बढ्यो । विभिन्न राजनीतिक दल र मोर्चा छाडेर मधेशी नेता तथा बुद्धिजीवी तराई कांग्रेसमा आबद्ध भए । तराई कांग्रेस बलियो हुँदै गयो । राज्य र अरू बलिया दलले यसलाई मधेशको जनाधार बोकेको दलका रूपमा हेर्न थाले । तर, ०१५ सालको निर्वाचनसम्म पुग्दा तराई कांग्रेसका एउटा उम्मेदवार विजयी भएनन् । त्यसपछि तराई कांग्रेस कमजोर हुँदै गयो । 

०१७ मा महेन्द्रले ‘कु’ गरेपछि तराई कांग्रेसका केही नेता पञ्चायतमा सहभागी भए । त्यसका केही नेता कांग्रेसमै फर्के, केही अन्य दलमा मिसिए भने केही दलविहीन रहे । रामजनम तिवारीलगायत नेता कांग्रेसमै फर्के । वेदानन्द झालगायत नेता पञ्चायती सरकारमा मन्त्री, राजदूत भए । तराई कांग्रेसको दुर्दिन यहीँबाट सुरु भयो । तराई कांग्रेसले चुनाव जित्न नसके पनि महेन्द्रको नजरमा सो दल मधेशकै बलियो आधार थियो ।

वेदानन्द झाहरू पञ्चायती सरकारमा सहभागी हुनु मधेशका निम्ति घाटाको विषय थियो । यसले मधेशको मुद्दालाई कमजोर बनाउन सघायो । त्यतिखेर झाहरूको निकै आलोचना पनि भयो । राघुनाथ ठाकुरले मधेशी जनक्रान्ति दल स्थापना गरे । उनले स्वतन्त्र मधेशको मुद्दा उठाएका थिए । उनी विभिन्न अभियानमार्फत मधेसको समस्यालाई मुखरित गर्थे । उनले पदसँग कहिल्यै सम्झौता गरेनन् । त्यसपछि बलियो मधेशकेन्द्रित दलका रूपमा नेपाल सद्भावना पार्टी उदायो । मधेशको राजनीतिक वृत्त सद्भावना पार्टीविना अधुरो हुन्छ । मधेश राजनीतिलाई नयाँ ढंगबाट अगाडि सार्ने श्रेय सद्भावनालाई नै जान्छ । सप्तरीका गजेन्द्रनारायण सिंह तत्कालीन सद्भावना पार्टीका अध्यक्ष थिए ।


क्षेत्रीय राजनीतिक दलको मुख्य एजेन्डा सत्ताभन्दा पनि मुद्दा हुनुपर्छ । तर, अहिले मधेशकेन्द्रित दल र तिनका नेता मुद्दालाई कोशीमा बगाएर सत्तामा रमाइरहेका छन् ।
 

उनी पहिले कांग्रेसमै थिए । त्यति वेला विभिन्न दलमा आबद्ध कैयौँ मधेशी नेता सद्भावना पार्टीमा आबद्ध भए । गजेन्द्रनारायण सिंहले ०३८ मा राष्ट्रिय पञ्चायतको चुनाव लडे पनि जित्न सकेनन् । ०४८ को चुनावमा उनीलगायत उनको पार्टीका ६ उम्मेदवार विजयी भए । सद्भावनाले संघीयताको मुद्दा उठाए पनि त्यसका निम्ति खासै गृहकार्य भएजस्तो देखिन्न । आरक्षण, भाषा, नागरिकताजस्ता मुद्दा सद्भावनाले उठाएको थियो ।

०४८ को निर्वाचनपछि सद्भावना मधेशका मुद्दामा भन्दा सत्तामा झुम्मिन थाल्यो । अन्य दलले मधेशका कुरा सुनेनन् भनेर नयाँ दल गठन गर्ने नेताले नै सत्तामा पुगेपछि मधेशलाई चटक्कै बिर्सिए । गजेन्द्रनारायण सिंह आफैँ पटक–पटक मन्त्री भए । उनी पनि मधेशका मुद्दाप्रतिभन्दा सत्ताप्रति बढी इमानदार देखिन थाले । उनको मृत्युपछि सद्भावना कैयौँ चिरामा विखण्डित भयो । उनीबाटै दीक्षित केही नेता ज्ञानेन्द्रको सरकारमा सहभागी भए । त्यसयता उठ्नै नसक्ने गरी थला पर्‍यो ।

मधेश राजनीतिमा सिंहपछि अर्का नेताको नाम आउँछ, उपेन्द्र यादव । तर, कुनै वेला मधेशको नायक भनिने यादवको अहिले परिचय फेरिएको छ । उनी पनि मधेशका मुद्दा भुलेर सत्ताको चास्नीमा डुबिरहने नेताका रूपमा परिचित छन् मधेशमा । सत्ता उनका लागि अक्सिजन बनेको छ । मधेशमा उनको ‘क्रेज’ क्रमशः ओरालो लागिरहेको छ । ०५४ मा उनले मधेशी जनअधिकार फोरम नेपाल नामक गैरसरकारी संस्था स्थापना गरे । त्यसअघि उनी कम्युनिस्ट नेता थिए । ०६३ को पहिलो मधेश विद्रोहमा फोरमको मुख्य भूमिका थियो । फोरमले नै मधेशलाई विद्रोहको पाठ सिकाएको हो । तर, विद्रोहको विरासत बोकेका यादव अहिले सबै कुरा बिर्सिएर सत्ताको पछि दौडिएका छन् । 

दोस्रो जनआन्दोलनपछि अन्तरिम संविधान जारी हुने समयमा फोरमले संघीयतासहितको संविधान माग गर्‍यो । तर, ०६३ माघ १ मा संघीयताविनाको अन्तरिम संविधान जारी भयो । त्यसको विरोध गर्दै २ माघमा यादवलगायत केही मधेशी नेताले माइतीघर मण्डलामा संविधानको प्रति जलाए । प्रहरीबाट उनीहरू पक्राउ गरे । ३ माघदेखि फोरमका कार्यकर्ताले आफ्ना नेतालाई रिहा गर भन्दै मधेश आन्दोलन सुरु गरे । ५ माघमा लहानमा रमेश महतो मारिएपछि मधेश झनै आक्रोशित भयो । यहीँदेखि पहिलो मधेश विद्रोहको ढोका खुल्यो । आन्दोलन मधेशभर फैलियो । यस क्रममा धेरै मधेशी मारिए ।

राणाशासन र शाहशासनको विरोधमा भन्दा क्रूर तरिकाले लोकतान्त्रिक सरकारले निहत्था मधेशी जनतामाथि बर्बर दमन गर्‍यो । तर, दशकौँदेखि विभेद भोग्दै आइरहेका मधेशीलाई जति दबाउन खोजे पनि सरकार सफल भएन । परिणामतः सरकार र फोरमबीच २२ बुँदे सहमति भयो र पहिलो मधेश आन्दोलन टुंगियो ।

संविधानमा संघीयता, समानुपातिक समावेशिता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने जस्ता विषय समेटिए पनि सहमति पूर्णतः कार्यान्वयनमा गएन । परिणामतः दोस्रो मधेश आन्दोलन भयो । राजेन्द्र महतो, महन्थ ठाकुर र उपेन्द्र यादवले मोर्चाबन्दी गर्दै दोस्रो आन्दोलनको नेतृत्व गरे । फेरि पनि कैयौँ मधेशी आन्दोलनकारी मारिए । सरकार र मोर्चाबीच आठबुँदे सम्झौता भएपछि मधेशवादी दल पहिलो संविधानसभा निर्वाचनमा होमिए । ०७२ मा फेरि तेस्रो मधेश आन्दोलन भयो । सरकारले सम्झौता गरेअनुसारका बुँदा समावेश नभएको भन्दै आन्दोलन सुरु भएको थियो । यसपटक पनि दर्जनौँ मधेशी मारिए ।

०७४ सालसम्म छिटफुट आन्दोलन भई नै रहे । तर, विनाकुनै ठोस निर्णय तेस्रो मधेश आन्दोलन टुंगियो । पहिलो मधेश आन्दोलनले उपेन्द्र यादवलाई मधेशकेन्द्रित नेताका रूपमा स्थापित गर्‍यो । कम्युनिस्ट हुँदा खासै चर्चा नकमाएका उनी मधेश आन्दोलनबाट रातारात चर्चित भए । मधेशका निम्ति उनको योगदान अतुलनीय छ । संघीयताको जस मधेश आन्दोलनलाई नै जान्छ । र, मधेश आन्दोलनको एउटा बलियो स्तम्भ उनी पनि हुन् । तर, उनी आफ्नै सिद्धान्तमा टिकेनन् । फोरमले पनि एक मधेश एक प्रदेश नारालाई आगाडि सारेको थियो । फोरमले यस्तै खाले आफैँले उठाएका कैयौँ मुद्दा बिर्सियो । २२ बुँदे सहमतिदेखि नै द्वन्द्व सुरु भइसकेको फोरम पटक–पटकको टुटफुटले उठ्नै नसक्ने गरी थलियो । 

२००७ सालदेखि अहिलेसम्म मधेशका नाममा धेरै राजनीतिक दल खुले । तिनले मधेशका निम्ति छिटफुट काम नगरेका पनि होइनन्, तर आफ्नो सिद्धान्तमा टिक्न नसक्दा उनीहरूमा गम्भीर क्षति भयो । मधेशी जनअधिकार फोरमबाट अहिले जनता समाजवादी पार्टी बन्दासम्म पार्टीबाट ‘मधेश’ शब्द नै गायब भयो । तराईमा जन्मेको पार्टी अहिले पहाडसम्मै फैलिएको छ । मधेशी नेता अध्यक्ष रहेको पार्टी पहाडसम्म फैलिनु र पार्टीमा मधेश शब्द नहुनु अनौठो होइन । तर, सुरुमा मधेश शब्द जोडेर पछि हटाउनुले चाहिँ आफ्नो पहिचान बनाउन मात्र मधेश शब्दको दुरुपयोग गरिएको रहेछ भन्ने साबित भएको छ । 

कांग्रेसले मधेश मुद्दामा नबोलेको आरोप लगाएर ०६४ मा महन्थ ठाकुरले तराई शब्द जोडेर गठन गरेको तराई मधेश लोकतान्त्रिक पार्टी अस्तित्वमै छैन । उनी अहिले लोकतान्त्रिक पार्टीको नेतृत्व गर्दै छन् । उनको पार्टीमा पनि मधेश शब्द नहुनुले उही तथ्य पुष्टि गर्छ । मधेशका नाममा संघर्ष गरेका या गराएका नेताहरूले मधेशलाई भावनात्मक रूपमा मूर्ख बनाए । क्षेत्रीय राजनीतिक दलको मुख्य एजेन्डा सत्ताभन्दा पनि मुद्दा हुनुपर्छ । तर, अहिले मधेशकेन्द्रित दल र तिनका नेताहरू मुद्दालाई कोशीमा बगाएर सत्तामा रमाइरहेका छन् । उनीहरू मधेशबारे बोल्नसम्म नचाहने दलसँग टाँसिएर सत्तामा रमाइरहेका छन् । चुनाव नआउँदासम्म मधेशका माग पूरा भएनन् भनेर चुनाव बहिष्कारको नारा लगाउँछन् । तर, चुनाव नजिकिएपछि भने सबै कुरा बिर्सिएर मधेशकै नेताहरूसँग चुनावी प्रतिस्पर्धामा उत्रिन्छन् ।

 मधेशमा अहिले अर्को एउटा दल जन्मेको छ, जनमत पार्टी । त्यसको रबैया झनै खराब देखिन्छ । पुराना मधेशकेन्द्रित दल अहिले आएर दिशाहीन भए, सुरुमा ती दलले मधेशका निम्ति संघर्ष गरेकै हुन् । तर, जनमत भने छोटो र अनौठो बाटोबाट राजनीतिमा आएको हो । देश टुक्य्राउने र अलग मधेश देश बनाउने मुद्दाको सहाराबाट उठेको जनमत कुनै सिद्धान्तको जगमा बनेको पार्टी होइन ।

तैपनि, पुरानो दलको बदमासीका कारण उसले ०७९ को चुनावमा केही सिट प्राप्त पनि गर्‍यो । तर, मधेशको वैकल्पिक शक्ति भन्न भने यसलाई कदापि मिल्दैन । जनमतले आफ्नो नीति र विचारलाई सैद्धान्तिकीकरण गर्न सकेन भने त्यसको पनि आयु बढिरहला जस्तो लाग्दैन । अहिलेसम्म जनमत पनि पुरानै मधेशवादी दलजस्तै मुद्दाभन्दा सत्तालाई केन्द्रमा राख्ने संस्कृतिमा रमाइरहेको छ । उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोहरू मधेशले नै चिनाएका अनुहार हुन् । तर, अहिले उनीहरू मधेशका मुद्दाका लागि भन्दा पनि आफ्नो स्वार्थका निम्ति राजनीति गर्दै छन् ।

यो क्षेत्रीय राजनीतिक दल र नेताको गुण होइन । चुनावताका मधेशकेन्द्रित दल मधेशका नाममा मत माग्छन् । चुनाव जितिसकेपछि चाहिँ मधेश मुद्दाबारे चुँसम्म बोल्दैनन् र मधेशलाई वास्तै नगर्ने दल र नेताहरूको दौराको फेर समातेर मन्त्री बन्न दौडिन्छन् । चुनावको वेला मधेशकेन्द्रित मुद्दा उठाउँछन् । चुनाव जितिसकेपछि बिर्सिन्छन् । चुनावका वेला आफूलाई मधेशकेन्द्रित नेताका रूपमा प्रस्तुत गर्छन् । चुनाव जितिसकेपछि ठूला दलका इसारामा दौडिन्छन्, मन्त्री बन्छन् र मधेशका मुद्दा फेरि पनि कोशीमा बगाउँछन् । यसले उनीहरूको भलो त होला, तर मधेश र मधेशी जनताको भने कदापि भलो हुनेछैन । 

ad
ad