१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
एकान्तकुनास्थित ट्रायल सेन्टर सुजुकी ड्राइभिङ स्कुल प्रालि । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
सुवास भट्ट काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:२५:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपत्यकाका सरकारी ट्रायल सेन्टर नै पालना गर्दैनन् मापदण्ड

मापदण्ड पालना नगर्दा अधिकांश परीक्षार्थी ट्रायलमा पटक–पटक असफल भएको सतर्कता केन्द्रको ठहर

Read Time : > 5 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:२५:oo

सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका सरकारी ट्रायल सेन्टरले नै मापदण्ड पालना नगरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले काठमाडौंमा सञ्चालित पाँचवटा सरकारी ट्रायल सेन्टरले कानुनबमोजिम पूर्ण रूपमा मापदण्डको पालना गरेका छैनन् । निजी दुईवटा ट्रायल सेन्टर पनि कानुन पालना गर्न चुकेका छन् । 

ट्रायल सेन्टरहरूले मापदण्ड पालना नगरेकोबारे उजुरी परेपछि त्यस विषयमा भए–गरेका अनियमितता विस्तृत रूपमा छानबिन गरेर प्रतिवेदन पेस गर्न केन्द्रको ९ चैतको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । केन्द्रका प्रहरी नायब उपरीक्षक बुद्धिराम खनालको संयोजकत्वमा गठित छानबिन समितिमा नापी अधिकृत विमला क्षेत्री, इन्जिनियर दिनेश भण्डारी र सबइन्जिनियर सुनीलकुमार यादव सदस्य थिए । समितिलाई काठमाडौं उपत्यकाभित्र रहेका सम्पूर्ण ट्रायल सेन्टरहरू प्रचलित कानुनमा तोकिएको मापदण्डअनुरूप भए–नभएको विषयमा अनुगमन तथा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको थियो ।

मापदण्ड पालना नगर्ने कारबाहीका भागीदार हुन् : बुद्धिराम खनाल संयोजक, छानबिन समिति
काठमाडौंका सबै ट्रायल सेन्टरमा मापदण्डको पूर्ण पालना नभएको पाइयो । ट्रायल सेन्टरले नै मापदण्ड पालना नगर्दा निर्देशिकाले तोकेका मापदण्डअनुसार तयारी गरेर गएका परीक्षार्थीहरू असफल हुने जोखिम उत्तिकै छ । ट्रायल सेन्टरहरूले कानुनबमोजिम मापदण्ड पालना गर्नुपर्छ । नगर्ने कारबाहीका भागीदार हुन् । 

छानबिन समितिले प्रचलित कानुनी व्यवस्था र मापदण्डको अध्ययन गरी स्थलगत निरीक्षण, नापजाँच, सरोकारवालासँगको छलफल आदिका आधारमा ‘काठमाडौं उपत्यकामा सञ्चालित ट्रायल सेन्टरहरूको अनुगमन प्रतिवेदन, २०८०’ तयार गरेर केन्द्रमा बुझाएको छ । समितिले ट्रायल सेन्टरको सञ्चालन अवस्थाको विश्लेषण गरेर सुझावसहितको प्रतिवेदन दिएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यातायात व्यवस्था विभागले सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ लागू गरेको छ । निर्देशिकाको मापदण्ड पूर्ण पालना नभएकाले ट्रायल सेन्टरहरूले प्रयोगात्मक परीक्षास्थलमा लिएको परीक्षालाई विधिसम्मत भयो भन्न सक्ने अवस्था नदेखिएको प्रतिवेदनले किटान गरेको छ । ती ट्रायल सेन्टर र त्यसको अनुगमन गर्नुपर्ने भूमिका भएका जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न केन्द्रले सुझाएको छ । 

छानबिनका क्रममा समितिले यातायात व्यवस्था कार्यालयहरूबाट सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा प्रयोजनका लागि सम्झौता भएर उपत्यकामा सञ्चालनमा रहेका ट्रायल सेन्टरहरूको अनुगमन र नापजाँच गरेको थियो । छानबिन समितिले भक्तपुरको राधेराधेस्थित इजी वे ट्रायल सेन्टर प्रालि र बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल तथा काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि र गोकर्णेश्वरस्थित नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालिको अनुगमन र नापजाँच गरेको थियो । त्यस्तै, ललितपुरको एकान्तकुनास्थित सुजुकी ड्राइभिङ स्कुल प्रालि र अन्य दुईवटा निजी ट्रायल सेन्टरहरू सिटी ड्राइभिङ प्रशिक्षण केन्द्र र एकान्तकुना ड्राइभिङ सेन्टरको पनि अनुगमन तथा नापजाँच गरेको थियो । 

छानबिन समिति संयोजक खनालले काठमाडौंका सबै ट्रायल सेन्टरमा मापदण्डको पूर्ण पालना नभएको साझा समस्या देखिएको बताए । ट्रायल सेन्टरले नै मापदण्ड पालना नगर्दा निर्देशिकाले तोकेका मापदण्डअनुसार तयारी गरेर गएका परीक्षार्थीहरू असफल हुने जोखिम हुने उनको भनाइ छ । ‘यो त परीक्षामा पाठ्यक्रमबाहिरबाट प्रश्न आएजस्तो भयो,’ उनले भने, ‘ट्रायल सेन्टरहरूले कानुनबमोजिम मापदण्ड पालना गर्नुपर्छ ।’ 

जिम्मेवार पदाधिकारी र ट्रायल सेन्टरलाई कारबाही गर्नुपर्ने सतर्कताको निष्कर्ष 
राष्ट्रिय सतर्कता केन्द्रले ट्रायल सेन्टरहरूले कानुनी मापदण्ड पालना नगरेको निष्कर्ष निकालेको छ । ट्रायल सेन्टरहरू सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिकाले तोकेको मापदण्डअनुसार नभएको छानबिनको ठहर छ । त्यस प्रकारका प्रयोगात्मक परीक्षास्थलमा लिएको परीक्षालाई विधिसम्मत भयो भन्न सक्ने अवस्थासमेत नदेखिएको प्रतिवेदनले किटान गरेको छ । ती ट्रायल सेन्टर र त्यसको अनुगमन गर्नुपर्ने भूमिका भएका जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न केन्द्रले सुझाव दिएको छ । ‘अनुगमन तथा निर्देशन दिने निकाय सम्बन्धित यातायात व्यवस्था कार्यालयका जिम्मेवार पदाधिकारी तथा ट्रायल सेन्टरलाई कानुनबमोजिम कारबाही गरी कानुनअनुसार तोकिएको मापदण्डअनुसार सञ्चालनमा ल्याउन निर्देशन दिनुपर्ने’ निष्कर्ष छानबिन समितिको छ । 

त्यस्तै, निजी ड्राइभिङ स्कुलहरूबारे पनि छानबिन समितिले चासो देखाएको छ । त्यस्ता निजी ड्राइभिङ स्कुलहरू के–कति सञ्चालनमा छन, अनुमति लिए–नलिएको तथा नवीकरण भए–नभएको सम्बन्धमा यकिन विवरण नरहेको पाएको प्रतिवेदनमा उल्लेख छ । तिनले मनलाग्दी ढंगले प्रयोगात्मक प्रशिक्षण दिई रकम असुलउपर गरेकाले यस सम्बन्धमा सम्पूर्ण सेन्टरलाई अनुगमन गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ । मापदण्डमा सञ्चालन भएकालाई नवीकरण गरी सञ्चालनमा ल्याउने, दर्ता भएका तर नवीकरण नभएकालाई तोकिएबमोजिम नवीकरण गर्ने र दर्ता नभएकालाई मापदण्डअनुसार प्रयोगात्मक परीक्षास्थल बनाउन लगाउने तथा मापदण्ड पुर्‍याउन नसक्नेलाई बन्द गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने सिफारिस छानबिन समितिले गरेको छ । 

मापदण्ड पालना नगर्दा अधिकांश परीक्षार्थी ट्रायलमा पटक–पटक असफल भएको सतर्कता केन्द्रको ठहर

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, एकान्तकुना र सुजुकी ड्राइभिङ स्कुलबीच प्रयोगात्मक परीक्षास्थल र त्यसमा प्रयोग हुने दुई र चारपांग्रे सवारीसाधन उपलब्ध गराउने गरी ३ कात्तिक ०७३ मा सम्झौता भएको थियो । यो ड्राइभिङ सेन्टरमा दुई र चारपांग्रे सवारीको तोकिएको लेआउटको क्रम नमिलेको, केन्द्रबिन्दु रुख/पोल भएकाले ‘फिगर ड/युटर्न टेस्ट’को यकिन नापजाँच गर्न नसकिएको, दुईपांग्रे सवारीसाधनको बम्पी टेस्टअन्तर्गत पिसिसी प्ल्याटफर्म नभएको लगायत समस्या प्रतिवेदनमा उल्लेख छ । दुई तथा चारपांग्रे सवारीसाधनको ट्राफिक सिग्नल टेस्ट निर्देशिकामा तोकिएबमोजिम भएको नपाइएको पनि छानबिन समितिले औँल्याएको छ । 

मापदण्ड पालना नगर्ने अन्य ट्रायल सेन्टरहरूमा भक्तपुर राधेराधेको इजी वे ट्रायल सेन्टर, भक्तपुरकै बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल, काठमाडौं गुर्जुधाराको भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि र गोकर्णेश्वरको नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर छन् । त्यस्तै, छानबिन समितिले दुईवटा निजी ट्रायल सेन्टरको पनि नापजाँच गरेको थियो । सिटी ड्राइभिङ प्रशिक्षण केन्द्र र एकान्तकुना ड्राइभिङ सेन्टर दुवैमा लेआउटको क्रम नमिलेको र ट्रायल सेन्टरको नापजाँच तोकिएबमोजिम भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ । 

कुन ट्रायल सेन्टरमा कस्तो कैफियत ?

इजी वे ट्रायल सेन्टर, राधेराधे भक्तपुर 
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, जगाती, भक्तपुर र इजी वे ट्रायल सेन्टर प्रालिबीच सशुल्क रूपमा प्रयोगात्मक परीक्षास्थल र परीक्षामा प्रयोग हुने दुई र चारपांगे्र सवारीसाधन उपलब्ध गराउने गरी १६ वैशाख ०७६ मा सम्झौता भएको थियो । सम्झौतामा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीलाई सम्झौतामा तोकिएबमोजिमको रकम लिने गरी सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ बमोजिमको सम्पूर्ण भौतिक पूर्वाधार भएको प्रयोगात्मक परीक्षास्थल र सवारीसाधनसमेत उपलब्ध गराउने उल्लेख छ । 

केन्द्रको छानबिनबाट यस ट्रायल सेन्टरमा दुई र चारपांग्रे सवारीसाधनका लागि तोकिएको लेआउटको क्रम नमिलेको, दुईपांग्रे सवारीसाधनको ‘बम्पी टेस्ट’अन्तर्गत ‘पिसिसी प्ल्याटफर्म’ नभएको, ‘न्यारो प्ल्याक’को ‘स्लोप पार्ट’ बिग्रेकाले वास्तविक नाप लिन नसकिएको जस्ता समस्या देखिएका छन् । चारपांग्रे (साना सवारी)को र्‍याम्प टेस्ट जाँच गर्दा रेखा मेटिसकेकाले कहाँबाट नाप लिने स्पष्ट नभएकाले जाँच गर्न नसकिएको, ग्यारेज पार्किङ टेस्ट एउटा हुनुपर्नेमा सँगसँगै दुईवटा रहेको र लेआउटमा राइट टर्नको प्रावधान निर्देशिकामा नरहेकामा दुईवटा यस्ता राइट टर्न रहेको लगायत समस्या छानबिन समितिले औँल्याएको छ । 

बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल, भक्तपुर
सवारी तथा यातायात व्यवस्था ऐन, सवारीचालक प्रशिक्षण केन्द्र निर्देशिका, २०७४ को व्यवस्थाअनुसारको सवारीसाधनको प्रयोगात्मक परीक्षास्थल तथा तोकिएको मापदण्डअनुसारका सवारीसाधन उपलब्ध गराउने गरी यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, जगाती, भक्तपुर र बुढाथोकी ट्रेडर्स एन्ड ट्रेडिङ स्कुलबीच सम्झौता भएको थियो । क्याटेगोरी ‘एफ’ (मिनीबस र मिनीट्रक) तथा क्याटेगोरी ‘जी’ (ट्रक, बस र लरी)का प्रयोगात्मक परीक्षास्थल र त्यसमा प्रयोग हुने सवारीसाधन उपलब्ध गराउने गरी दुई पक्षबीच २९ वैशाख ०८० मा सम्झौता भएको थियो । यो ट्रायल सेन्टरमा ठूलो समस्या नदेखिएको र निर्देशिकाबमोजिम नै सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । 

भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि, गुर्जुधारा
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ठूलोभर्‍याङ, काठमाडौं र भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालिबीच प्रयोगात्मक परीक्षास्थल त्यसमा प्रयोग हुने चारपांग्रे सवारीसाधन उपलब्ध गराउने गरी १३ जेठ ०७६ मा सम्झौता भएको थियो । सम्झौतामा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीलाई तोकिएबमोजिमको रकम लिने गरी प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने निर्देशिका, २०६९ अनुसारको सम्पूर्ण भौतिक पूर्वाधार भएको प्रयोगात्मक परीक्षास्थल र सवारीसाधनसमेत उपलब्ध गराउने उल्लेख छ । सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ कार्यान्वयनमा आइसकेपछि पुरानो कार्यविधिको व्यवस्थाअनुसारको भौतिक पूर्वाधार भएको परीक्षास्थल उपलब्ध गराउने गरी भएको सम्झौता गैरकानुनी भएको केन्द्रको ठहर छ । 

त्यसैगरी यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ र भेइकल एकेडेमीबीच सशुल्क रूपमा प्रयोगात्मक परीक्षास्थल र त्यसमा प्रयोग हुने दुईपांग्रे सवारीसाधन उपलब्ध गराउने गरी ११ मंसिर ०८० मा अर्को सम्झौता भएको थियो । सम्झौतामा लिखित तथा प्रयोगात्मक परीक्षास्थलको मापदण्ड तथा व्यवस्था, सवारीचालक प्रशिक्षण केन्द्र निर्देशिका, २०७४ र बागमती प्रदेश सरकारबाट जारी सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षास्थल (छनोट तथा सञ्चालन) कार्यविधि, २०७८ को व्यवस्थाको पालना गर्नुपर्ने उल्लेख छ । तर, यस ट्रायल सेन्टरमा दुईपांग्रेको तोकिएको लेआउट मिले पनि स्पिड ब्रेकर टेस्टमा ‘मेटल प्लेट’ राखी स्लोप लामो बनाइएको तथा चारपांग्रे (साना, मझौला र ठूला सवारी)को तोकिएको लेआउट नमिलेको, ट्राफिक चिह्न जाँच निर्देशिकामा तोकिएबमोजिम नभएको र मापदण्डमा उल्लेख नभएको स्पिड ब्रेकर (बम्पी टेस्ट) राखेको लगायतमा समस्या रहेको छानबिनले औँल्याएको छ । 

नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि, गोकर्णेश्वर
यातायात व्यवस्था कार्यालय, चाबहिल र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन प्रालि, गोकर्णेश्वरबीच प्रयोगात्मक परीक्षास्थल र सो परीक्षामा प्रयोग हुने चारपांग्रे साना, मझौला र ठूला सवारीसाधन उपलब्ध गराउने भनी १० जेठ ०७८ मा सम्झौता भएको थियो । त्यस्तै, यातायात व्यवस्था कार्यालय र नेपाल ड्राइभिङ एन्ड रिकन्डिसनबीच प्रयोगात्मक परीक्षास्थल र त्यसमा प्रयोग हुने दुईपांग्रे सवारीसाधन उपलब्ध गराउने गरी ४ असोज ०७८ मा अर्को सम्झौता भएको थियो । यिनमा सबैको ताकिएको लेआउट क्रम मिले पनि दुईपांग्रे सवारीसाधनको बम्पी टेस्टअन्तर्गत पिसिसी प्ल्याटफर्म नभएको समस्या छानबिनले औँल्याएको छ । 

सुजुकी ड्राइभिङ स्कुल प्रालि, एकान्तकुना
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, एकान्तकुना र सुजुकी ड्राइभिङ स्कुलबीच प्रयोगात्मक परीक्षास्थल र त्यसमा प्रयोग हुने दुई र चारपांग्रे सवारीसाधन उपलब्ध गराउने गरी ३ कात्तिक ०७३ मा सम्झौता भएको थियो । यो ड्राइभिङ सेन्टरमा दुई र चारपांग्रे सवारीको तोकिएको लेआउटको क्रम नमिलेको, केन्द्रबिन्दु रुख/पोल भएकाले ‘फिगर ड/युटर्न टेस्ट’को यकिन नापजाँच गर्न नसकिएको, दुईपांग्रे सवारीसाधनको बम्पी टेस्टअन्तर्गत पिसिसी प्ल्याटफर्म नभएको लगायत समस्या प्रतिवेदनमा उल्लेख छ । दुई तथा चारपांग्रे सवारीसाधनको ट्राफिक सिग्नल टेस्ट निर्देशिकामा तोकिएबमोजिम भएको नपाइएको पनि छानबिन समितिले औँल्याएको छ । 

सिटी ड्राइभिङ प्रशिक्षण केन्द्र र एकान्तकुना ड्राइभिङ सेन्टर, ललितपुर (निजी)
छानबिन समितिले दुईवटा निजी ट्रायल सेन्टरको पनि नापजाँच गरेको थियो । सिटी ड्राइभिङ प्रशिक्षण केन्द्र र एकान्तकुना ड्राइभिङ सेन्टर दुवैमा लेआउटको क्रम नमिलेको र ट्रायल सेन्टरको नापजाँच तोकिएबमोजिम भएको नपाइएको प्रतिवेदनमा उल्लेख छ । 

 

 

ad
ad