१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:२३:oo
Read Time : > 5 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

वर्ष ०८० मा खेलकुद

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:२३:oo

अघिल्लो वर्षको तुलनामा ०८० मा नेपाली खेलाडीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाए । क्रिकेटतर्फ एकदिवसीय विश्वकप ग्लोबल छनोट, एसिया कप, एसियाड र आइसिसी–१९ विश्वकप प्रतियोगिता यही वर्ष भए । फुटबलमा साफ च्याम्पियनसिप र महिला टोलीले वाफ च्याम्पियनसिपमा आमन्त्रित टोलीका रूपमा भाग लियो ।

पेरिस ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत विभिन्न खेलका छनोट खेल यही वर्ष भए । एसियाडमा पुरुषभन्दा महिलाले देशको इज्जत जोगाए । घरेलु खेलमा नम्बर एक मानिने फुटबल वर्षभरि नै आन्तरिक विवादले चर्चामा रह्यो । घरेलु प्रतियोगिता नहुँदा दर्जनाैँ फुटबलर अस्ट्रेलिया पलायन भए । क्रिकेटले एसिया कपदेखि विश्वकपसम्म स्थान बनाएर वाहवाही कमायो । 

 आन्तरिक विवादमा रुमलिएको फुटबल
फुटबल नेपालको सर्वाधिक लोकप्रिय खेल हो । तर, यस वर्ष फुटबल मैदानभित्र र बाहिर उत्तिकै चर्चा भइरह्यो । अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीबीच आपसी भाग मिलाउन अध्यक्ष पंकज नेम्बाङ वर्षभरि नै सक्रिय रहे । संस्थापन पक्षले खुसी पार्न नसक्दा असन्तुष्ट पक्षहरूले अध्यक्ष नेम्बाङविरुद्ध नै महाअभियोग दर्ता प्रस्तुत गरे । फुटबल इतिहासमा अध्यक्षमाथि महाअभियोग लागेको यो नै पहिलोपटक थियो । यद्यपि, नेम्बाङले आफूमाथि अभियोग प्रतीक्षा गर्न सफल भए । यसमा सबैभन्दा ठूलो हात पूर्वमहासचिव तथा सिइओ इन्द्रमान तुलाधरको देखियो ।

असन्तुष्ट पक्षका शक्तिशाली मानिने तुलाधर संस्थापन पक्षसँग सुटुक्क मिलेर मात्र उनले एन्फाको सिइओसमेत कुम्ल्याउन सफल भए । सिइओ खाएदेखि नै तुलाधर निकै विवादास्पद बनेका थिए । राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिविना नै एन्फाका सिइओलगायत अन्य ११ जना मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीका सदस्यका रूपमा सहभागी हुन गए । 

हालै मात्र राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा तथा खेलकुदमन्त्री भएका विराजभक्त श्रेष्ठले राखेपबाट स्वीकृति नलिई गएका पदाधिकारीलाई कारबाही गर्नु भने पनि यो केवल कागजमै सीमित भइरहेको छ । आन्तरिक विवादमै अल्झिएको एन्फाले कहिल्यै पनि पूर्णकालीन कार्यसमितिको बैठक राख्न सकेन ।

मैदानबाहिर पदाधिकारीबीच वादविवाद चलिरहँदा मैदानभित्र भने महिला खेलाडीले नेपालको सान उच्च पार्न सफल भए । साउदी अरबमा वाफ महिला च्याम्पियनसिप प्रतियोगितामा नेपाली महिला टोली पहिलो सहभागीमै उपविजेता बनेको थियो । प्रतियोगितामा नेपालले चार खेलमा १७ गोल गर्दै वाहवाही कमाएको थियो । फ्रेन्च लिगमा आबद्ध सावित्रा भण्डारी एक्लैले नौ गोल गरेकी थिइन् । अपराजित रही फाइनलमा पुगेको नेपाल उपाधि भिडन्तमा जोर्डनविरुद्ध चुक्यो । निर्धारित समयमा साबिक विजेता जोर्डनलाई दुई–दुईमा रोकेको नेपाल टाइब्रेकरमा पछि पर्‍यो ।

यद्यपि, आमन्त्रित टोलीका रूपमा प्रवेश पाएको नेपाली महिला टोली उपविजेता हुँदै घर फर्कियो । महिला फुटबलको चर्चा गरिरहँदा सावित्राले ठूलै छलाङ मार्न सफल भइन् । उनी सुरुमा इजरायली क्लबमा आबद्ध हुने पहिलो नेपाली महिला खेलाडी बनिन् । त्यसपछि फ्रान्सको शीर्ष डिभिजन लिगमा आबद्ध हुँदै उनले अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता प्राप्त गरिन् । अर्कोतिर पुरुष फुटबलले बिर्सन लायक प्रदर्शन गर्‍यो । सहभागी भएको कुनै पनि प्रतियोगितामा फाइनलसम्म पुग्न सकेन । फिफा विश्वकप–२०२७ अन्तर्गत एसियाली क्षेत्रको पहिलो चरणमा लाओसलाई हराउँदै नेपालले दोस्रोे स्थान गर्‍यो । वास्तवमा पुरुष टोलीले यस वर्ष प्राप्त सफलतको विश्लेषण गर्दा यही मात्र सम्झनायोग्य थियो । यसबाहेक अरू नतिजा सम्झनलायक भएनन् । 

भारतमा आयोजना भएको साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो । कमजोर तयारी तथा एक्सपोज पर्याप्त नहुँदा नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरणमा केवल चार खेलमा १४ गोल खाएको थियो । दुई साताअघि बहराइनसँग दुई खेलमा आठ गोल नेपालले व्यहोरेको थियो । एन्फाको कमजोरीका कारण दशरथ रंगशालामा हुनुपर्ने विश्वकप छनोट खेल बहराइनमा पुर्‍याउँदा अन्तर्राष्ट्रिय बेइज्जत नै भयो । घरेलु फुटबल सुचारु रूपमा चल्न नसक्दा युवा तथा सिनियर खेलाडी क्रमिक रूपमा अस्ट्रेलिया पलायन भए । राम्रा खेलाडी विदेशमा भविष्य बनाउन पलायन हुँदा नेपाली राष्ट्रिय फुटबल टोलीले खराब नतिजा यस वर्ष व्यहोरेको हो । तीन महिनाभन्दा बढी चलेको ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्यो । त्यही नै लामो इतिहास बोकेको एपिएफ क्लब बी डिभिजनमा घटुवा भएको छ । 

चर्च ब्वाइज ‘सी’, ‘बी’ र ‘ए’ डिभिजन च्याम्पियन हुने मनाङ मस्र्याङ्दीपछि दोस्रो क्लब हो । दोस्रो संस्करणको नेपाल सुपर लिगले जाडो मौसमलाई तताउने काम भयो । यसपटक ललितपुर च्याम्पियन बन्यो । पुरुषतर्फ नयाँ खेलाडी विदेशी लिगमा आबद्ध हुन नसक्दा महिलातर्फ ६ खेलाडी भारतीय महिला लिगमा अनुबन्धित भए । पुरुषतर्फ एरिक विष्ट र डिफेन्डर अनन्त तामाङ मात्र भारतीय लिग क्लबमा आबद्ध भए । मच्छिन्द्र एएफसी कप छनोटको दोस्रो प्ले अफमा मोहन बगानसँग पराजित हुँदै बाहिरियो । 

 क्रिकेटमा एसिया कपदेखि विश्वकपसम्मको यात्रा
यस वर्ष नेपाली क्रिकेटर राष्ट्रियस्तरमा भन्दा अन्तर्राष्ट्रिय स्पर्धामा व्यस्त भए । एसिसी प्रिमियर कपदेखि एसियाडसम्म नेपालले सहभागिता जनायो । एकदिवसीय क्रिकेटमा नेपाली खेलाडीले सोचेभन्दा बढी एक्सपोजर प्राप्त गरे । आइसिसी डिभिजन–१ को तेस्रो स्थानमा रहँदै नेपाले एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान पक्का गर्‍यो । जिम्बावेमा भएको ग्लोबल छनोटमा नेपालका खेलाडीले वेस्ट इन्डिज र जिम्बावेजस्ता टेस्ट राष्ट्रविरुद्ध आफ्नो प्रतिभा देखाएर चर्चा बटुले । त्यहीँ नै नेपालले दोस्रोपटक एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानजस्ता विश्वकै दिग्गज क्रिकेट राष्ट्रविरुद्ध प्रतिस्पर्धाको अवसर पायो । 

भारत र पाकिस्तानविरुद्ध नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शनसमेत गरे । एसिया कपमा भारत र पाकिस्तानविरुद्ध खेलिरहँदा अन्तर्राष्ट्रिय मिडियाले नेपाली खेलाडीको खुबै प्रशंसा गरेको थियो । एसियाडमा नेपाल पुनः एकपटक भारतको समूहमा परेको थियो । नेपालले भारतविरुद्ध असाधारण प्रदर्शन गरेको थियो । नेपालले मंगोलियाविरुद्धको खेलमा टी–२० फम्र्याटमा विश्व कीर्तिमानी योगफल खडा गरेको थियो । त्यसै खेलमा कुशल मल्लले कम बलमा सय रनको विश्व कीर्तिमान राखेको थियो । उनको रेकर्ड डेढ महिनाअगाडि त्रिवि क्रिकेट मैदानमा तोडिएको थियो ।  

नेपाल दोस्रोपटक टी–२० विश्वकपमा छनोट यही वर्षमै भएको थियो । नेपालले मूलपानी क्रिकेट मैदानमा युएईलाई हराउँदै अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा स्थान बनायो । सिनियर मात्र होइन, जुनियर टोलीले पनि यस वर्ष सफलता चुम्यो । आठ वर्षपछि नेपालले आइसिसी यू–२० विश्वकप खेल्यो । यस वर्ष नै क्यानको कार्य समिति परिवर्तन भयो । चतुरबहादुर चन्दले निरन्तरता पाउँदा नेपालका पूर्वकप्तान पारस खड्का सचिव बने । नयाँ कार्यसमितिले पुरुष र महिला खेलाडीको वर्गीकरण गर्‍यो । लेग स्पिनर सन्दीप लामिछाने बलात्कारको आरोपमा दोषी ठहरिएपछि आठ वर्ष जेल सजाय सामना गरे । 

क्यानले राष्ट्रिय क्रिकेटको ‘ए’ टोली बनायो । नेपालले आयरल्यान्डको ‘ए’ टोलीसँग सिरिज खेल्यो । पुरुषतर्फ नेपाली टोलीले लगातार चार फाइनल गुमायो । यस वर्ष सन्न्यास लिएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय ‘ए’ टोलीका प्रशिक्षक बने । नेपालको यू–१६ टोलीले लगातार तेस्रोपटक एसिसी यू–१६ इस्ट जोन कप जित्यो । महिला क्रिकेटमा पूर्वकप्तान रुबिना क्षेत्रीले नेपालबाट अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो महिला क्रिकेटर बनिन् । एसिसी महिला प्रिमियर कपमा रुबिनाले माल्दिभ्सविरुद्ध ५९ बलमा १० चौका र पाँच छक्का प्रहार गर्दै एक सय १८ रन बनाइन् । 

१९औँ एसियनमा दुई पदक
यस वर्षको असोजमा चीनको हाङझाउ सहरमा १९औँ एसियन खेलकुद प्रतियोगिता आयोजना भयो । चीनले आयोजकका रूपमा अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गरेको छ । प्रतियोगितामा १० हजारभन्दा बढी खेलाडीले सहभागिता जनाउँदा नेपालकी एरिका गुरुङले ऐतिहासिक प्रदर्शन गरिन् । कराँतेकी खेलाडी एरिकाले व्यक्तिगत विधामा रजत जित्ने दोस्रो महिलाको सौभाग्य प्राप्त गरिन् । अहिलेसम्म एसियाडमा कराँतेबाट रजत जित्ने उनी मात्र एक्ली खेलाडी हुन् । 

आशा गरेका खेलका खेलाडी र टिम इभेन्ट्सले खराब नजिता आत्मसात् गरिरहेका वेलामा महिला कवड्डीले नेपाललाई कांस्य पदक दिलाएको थियो । कांस्य पदक जित्दा नेपाल सन् १९९० पछि खाली हात फर्कनुपरेन । एसियाड सकिने एक दिनअघि एरियाको सफलतो कवड्डीको ऐतिहासिक पदक छायामा परेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा एक खेलका पदाधिकारी अर्को खेलका अफिसियल बनाएर पठाउँदा ठूलै विवादको सामना गर्‍यो ।

आयोजकले पहिलोपटक समावेश गरेको पब्जी खेलमा नेपाली टोलीले फाइनल स्थान पक्का गरेको थियो । यसैगरी, क्यानोइनमा नेपालले फाइनल स्थान रक्षा गर्‍यो । एसियाडमा सधैँको झैँ सम्बन्धित निकायले पदाधिकारीलाई विदेश भ्रमणको अनुभव बटुल्ने रूपमा प्रयोग गरे । पारा तेक्वान्दोकी खेलाडी पलेसा गोवद्र्धनले हाङझाउमा भएको एसियन पारा खेलकुद प्रतियोगितामा उनले कांस्य पदक जितिन् । यो सफलता प्राप्त गर्ने उनी पहिलो पारा खेलाडी हुन् ।

 म्याराथनमा सन्तोषीको दबदबा
सन्तोषी श्रेष्ठले यस वर्ष घरेलु म्याराथनमा एकछत्र राज गरिन् । उनले ०८० मै अन्तर्राष्ट्रिय म्याराथनमा डेब्यु गरिन् । डेब्यु स्पर्धामै उनले पदकसमेत जितिन् । बंगलादेशमा भएको बंगबन्धु म्याराथनमा सन्तोषीले स्वर्ण जितिन् । मध्यम गतिकी धाविका सन्तोषीले सनसनी मच्चाउँदै डेब्युमै स्वर्ण जितिन् । पछिल्लो तीन महिना उनले घरेलु प्रतियोगितामा सहभागिता जनाएको ६ वटैमा स्वर्ण जितिन् । प्रथम अन्तरप्रदेश खेलकुदमा पनि उनले महिला १० हजार र पाँच हजार मिटर स्वर्ण हात पारिन् । उनी यतिमै रोकिइनन्, पोखरा रन, धरान रन, नेपाल आर्मी हाफ म्याराथन, लुम्बिनी पिस हाफ म्याराथन, रन फर प्रोटिन हाफ म्याराथनमासमेतका स्वर्ण आफ्नो पक्षमा राखिन् । 

 भारोत्तोलनमा नयाँ शक्ति सागर
भारोत्तोलनमा सागर भण्डारी यो वर्ष राष्ट्रिय कीर्तिमान राख्नमा व्यस्तझैँ देखिए । थाइल्यान्डमा भएको आइडब्लुएफ २०२४ मा सागरले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल रहे । उनले स्नाचतर्फ १३४ केजी, क्लिन एन्ड जर्कतर्फ १७२ केजी र कुलमा ३०६ केजी भारवहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान भंग गरे । उनले तीन राष्ट्रिय कीर्तिमान बनाए । उनले १९औँ एसियाडमा स्नाचमा १३३ केजी भारवहन गरेका थिए । यसअघि एसियन च्याम्पियनसिपको क्लिन एन्ड जर्कमा १७१ र कुलतर्फ चीनमै ३०३ केजी बहन गर्दै कीर्तिमान बनाएका थिए । 

ad
ad