१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
इयान ब्रेमर
२o८१ बैशाख १७ सोमबार o९:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

सम्भव छ त अमेरिकाविनाको नेटो ?

Read Time : > 2 मिनेट
इयान ब्रेमर
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:१o:oo

ऊर्जा आपूर्तिका लागि रुसमाथिको निर्भरता अन्त्य गर्न सक्ने युरोप अमेरिकी प्रतिबद्धताविना बाँच्न किन सक्दैन?

उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) इतिहासको सबैभन्दा सफल सैन्य गठबन्धन हो र यो अहिले पहिलेभन्दा बलियो छ । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको पूर्ण–स्तरीय आक्रमणपछि नेटोको निरन्तर उद्देश्य र मूल्य थप पुष्टि भएको छ र त्यसपछि दुई सक्षम नयाँ सदस्य फिनल्यान्ड र स्विडेन नेटोमा थपिएका छन् । यद्यपि रुसले लगातार सैनिक, हतियार र दीर्घकालीन आर्थिक लचिलोपन गुमाउँदै छ, तर रुसको प्रहारलाई नेटोले नभई युक्रेनले अवशोषित गरिरहेको छ ।

नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको पुनः निर्वाचित हुन सक्ने सम्भावनालाई लिएर युरोपेली नेता चिन्तित छन् । ट्रम्पको पुनरागमनले नेटोको मुख्य समर्थक र गठबन्धनको बललाई अमेरिकाले दिने सुरक्षाको विश्वसनीयतामाथि शंका उत्पन्न गर्ने युरोपेली नेतालाई डर छ ।

वास्तवमा पूर्वराष्ट्रपति ट्रम्पले केही वैध चिन्ता व्यक्त गरेका छन् । रुसले सन् २०१४ मा क्रिमियामा आक्रमण गरेपछि प्रत्येक सदस्य राष्ट्रले सन् २०२४ सम्म राष्ट्रिय कुल गार्हस्थ उत्पादन (जिडिपी)को कम्तीमा दुई प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने वाचा गरेका थिए । दुई महिनाअघि नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले सन् १९४९ मा गठबन्धनको जन्मपछि पहिलोपटक युरोपेली सदस्यले सामूहिक रूपमा उल्लिखित वाचा पूरा गर्ने घोषणा गरेका थिए । तर, यो अपुग छ किनभने केही राज्य, विशेषतः रुसी सीमानजिकका राज्यले आफ्नो कोटाभन्दा बढी खर्च गरिरहेका छन् ।

विशेषतः नेटोका ३१ सदस्यमध्ये १३ ले अझै पनि रक्षामा जिडिपीको दुई प्रतिशत खर्च गर्नुपर्ने नियम पूरा गर्दैनन् र ट्रम्पले सहयोगीका रूपमा यी १३ राष्ट्रको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । यदि यी मुलुक रुससँग यति धेरै डराउँछन् भने किन तिनीहरू अझै पनि जिडिपीको दुई प्रतिशत आफ्नै सुरक्षामा खर्च गर्न इच्छुक छैनन् भन्दै ट्रम्प प्रश्न गर्छन् । अधिकांश युरोपेली नेताले रक्षा खर्च बढाउनुपर्ने आवश्यकतालाई स्विकारेका छन् । कम खर्च गर्ने देशले परिणाम भोग्नुपर्छ भन्ने ट्रम्पको हालैको आशयले युरोपेलीलाई सम्भावित राष्ट्रपति ट्रम्पको प्रभावबारे अनुमान लगाउन बाध्य बनाएको छ । 

प्रश्न उठ्छ, के नेटो बलियो र भरपर्दो अमेरिकी प्रतिबद्धताविना बाँच्न सक्छ ? नेटोको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा स्टोल्टेनबर्गले अमेरिकाको सन् २०२४ को चुनावी नतिजाबाट स्वतन्त्र भई युक्रेनका लागि १० खर्ब सात अर्ब डलरबराबरको पाँच वर्षको कोषको प्रस्ताव गरेका थिए । युक्रेन नीतिमा चिन्ताका अतिरिक्त युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले युरोपेली रक्षा आयुक्तका लागि गरेको आह्वानले आयोगको तयारीको कमीबारे युरोपको व्यापक डर झल्काउँछ ।

यो महत्वाकांक्षी योजना युरोपेली नेताले हालैका वर्षमा गरेको पहिलो योजना हुनेछैन । यी नेताले कोभिड–१९ महामारीका समयमा खोपको द्रुत वितरणको निरीक्षण गरेका थिए । आवश्यक पर्ने सरकारलाई आपत्कालीन राहत प्रदान गरेका थिए, र फेब्रुअरी २०२२ पछि ऊर्जा आपूर्तिका लागि रुसमाथिको निर्भरता अन्त्य गर्ने महँगो र जटिल कार्यक्रम सुरु गरेका थिए । र, यी नेताले ऐतिहासिकस्तरमा शरणार्थीको उच्च संख्यालाई शरण दिएका थिए । यति गर्न सकिने हो भने किन ट्रम्पविनाको युरोपेली सुरक्षा बलियो गर्न सकिँदैन? तर, तत्कालका तीनवटा चुनौतीका कारण शंका गर्ने ठाउँ भने कायमै छ ।

पहिलो, रक्षा र औद्योगिक नीतिमा युरोपेली आयोगका लागि बलियो भूमिका लागू गर्नु भनेको समय खर्च हुने प्रक्रिया हुनेछ । नियन्त्रणका लागि अनिच्छुक राष्ट्रिय अधिकारीको विरोधको सामना गर्नुपर्ने हुनेछ । सामूहिक रक्षा र आणविक क्षमताका लागि लामो समयदेखिको पैरवीलाई ध्यानमा राख्दै युरोपेली सुरक्षा नीति तय गर्नमा युरोपियन युनियनको एक मात्र आणविक राष्ट्र फ्रान्सको प्रभावबारेमा चिन्तित केही सदस्यबीच चिन्ता थप बलियो भएको छ ।

दोस्रो, अमेरिकी हतियार प्रणालीमा युरोपियन युनियनको भारी निर्भरता, अमेरिकी खुफियामा पहुँच र नेटोको अन्तरसञ्चालनमा अमेरिकाको नेतृत्वले महत्वपूर्ण चुनौती खडा गरेको छ । रुसको खतराले बढ्दो रक्षा खर्च र सैन्य क्षमतालाई उत्प्रेरित गरिरहेको वेला आत्मनिर्भरता हासिल गर्न एक दशक लाग्नेछ, जुन वर्तमान सुरक्षा चिन्ता सम्बोधन गर्न लाग्ने धेरै लामो समय हो ।

अन्त्यमा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान र स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको जस्ताका केही युरोपेली सरकारले युरोपियन युनियनका समकक्षीसँग निकट सम्बन्धका मामिलामा ट्रम्पसँग जोडिनुलाई प्राथमिकता दिन्छन् । इटली वा फ्रान्सजस्ता अधिक प्रभावशाली युरोपियन युनियनका सदस्य राष्ट्रमा लोकप्रियतावादी र रुसमैत्री सरकारले सम्भावित रूपमा शक्ति प्राप्त गर्न सक्ने भएकाले ट्रम्पसँग जोडिने प्रवृत्ति अझ बढ्न सक्छ । ऐतिहासिक रूपमा स्वतन्त्र युरोपेली विदेश एवं सुरक्षा नीतितर्फ झुकेको एलिसी प्यालेसभित्र पनि यो परिवर्तन देख्न सकिनेछ ।

आगामी अमेरिकी चुनावलाई हेर्दा एउटा महत्वपूर्ण दीर्घकालीन मुद्दा उठ्छ, यदि ट्रम्प पराजित भएमा के उनको राजनीतिक कार्यकालसँगै थप पृथकतावादी र लेनदेनात्मक अमेरिकी विदेश नीति समाप्त हुनेछ ? वा सन् १९४५ देखि २००८ सम्मको देशको अन्तर्राष्ट्रिय भूमिकासँग अपरिचित अमेरिकी मतदाताको युवा पुस्ताले परम्परागत रूपमा डेमोक्य्राट र रिपब्लिकन दुवैले वकालत गर्ने विश्वव्यापी नेतृत्वप्रतिको मनोवृत्ति परिवर्तन गरेका छन् ?

यदि यसो हो भने बाइडेनको विजयले पनि युरोपभित्र आफ्नै सुरक्षाबारेको बहस समाप्त हुनेछैन ।

(ब्रेमर युरेसिया ग्रुप र जिजेरो मिडियाका संस्थापक एवं अध्यक्ष हुन्) 

प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad