१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १८:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लागुऔषध नियन्त्रणमा सहकार्य गर्न नेपाल–भारतका सुरक्षा अधिकारी सहमत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १८:४३:oo

नेपाल–भारत सीमा क्षेत्रका सुरक्षा अधिकारीहरू लागुऔषध नियन्त्रणका लागि मिलेर काम गर्न सहमत भएका छन्। भारतको पलियामा बसेको दुई देशका अधिकारीबीचको संयुक्त बैठकमा चोरी, तस्करी, सीमा अपराध तथा लागुऔषध नियन्त्रणका लागि सहकार्य गरेर जाने सहमति भएको हो।

सीमावर्ती बजारहरूमा बढ्दो लागुऔषधको कारोबार नियन्त्रणका लागि नेपाली सुरक्षा अधिकारीहरूले भारतीय सुरक्षा निकायको सहयोग खोजेका थिए। बैठकमा भारतीय सुरक्षा अधिकारीहरूले आसन्न लोकसभा चुनावका वेला सीमा क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउने विषयलाई प्राथमिकताका साथ उठाएका थिए।

कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले लागुऔषध नियन्त्रणका लागि सहकार्य गर्ने, भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी बढाउने, संयुक्त गस्ती गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए। लागुऔषध सीमावर्ती भारतीय बजारबाट आउने भएकाले नेपाली पक्षले लागुऔषध नियन्त्रणको विषयलाई प्राथमिकताका साथ उठाएको उनले बताए।

खुला सिमानाका कारण भारतबाट लुकीछिपी ल्याइने गरेकाले कैलाली, कञ्चनपुरमा लागुऔषधको कारोबार र प्रयोकर्ताको संख्या बढ्दो छ। प्रमुख सुरक्षा चुनौती बनेको लागुऔषध नियन्त्रणका लागि प्रहरीले सुदूरपश्चिममा कारोबारीलाई पक्राउ गर्ने तथा लागुऔषधविरुद्ध सचेतना फैलाउने अभियान नै सञ्चालन गरिरहेको छ।

नाकामा नेपालीमाथि दुर्व्यवहारका घटना हुन नदिन र सहज आवागमनको व्यवस्था गर्न पनि भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराइएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए। ‘लागुऔषधको कारोबार रोक्न र कारोबारीलाई पक्रन हामीले आग्रह गर्‍यौँ। उहाँहरू यसमा सहमत हुनुभएको छ,’ उनले भने, ‘भारतीय नागरिक नेपाल आउँदा हामीले सम्मानपूर्वक व्यवहार गर्छौँ, नेपाली नागरिकमाथि पनि यहाँ सम्मानपूर्वक व्यवहार होस् भनेका छौँ।’

भारतीय सुरक्षा अधिकारीले भारतमा हुन लागेको लोकसभा निर्वाचनको सुरक्षाको विषयलाई बैठकमा महत्त्वका साथ उठाएको नेपाली सुरक्षा अधिकारीले बताएका छन्। चुनावलाई लक्षित गरेर संयुक्त गस्ती गर्ने, नाकामा निगरानी बढाउने, शंकास्पद व्यक्तिमाथि निगरानी गर्ने, अपराध गरेर फरार भएका व्यक्तिलाई पक्राउ गर्ने, काठ तथा वन्यजन्तु तस्करी नियन्त्रण गर्ने विषयमा दुवै देशका सुरक्षा अधिकारीबीच समझदारी भएको बताइएको छ।

लोकसभा चुनावका वेला सुरक्षालाई ध्यानमा राखेर सीमानाका ७२ घण्टा बन्द गरिने जानकारी भारतीय अधिकारीले दिएका थिए। सो क्रममा एम्बुलेन्स र अत्यावश्यक सामान बोकेका सवारीसाधनलाई सहज रूपमा आवतजावतको व्यवस्था गर्न नेपाली अधिकारीले आग्रह गरेका छन्।

शनिबार भएको बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्र, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, दुवै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, त्रिनगर भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख, डिभिजन वन प्रमुखलगायतको सहभागिता थियो। त्यस्तै, भारतबाट सीमावर्ती लखिमपुर खिरी जिल्लाका डिएम महेन्द्रबहादुर सिंहलगायत सुरक्षा निकाय, भन्सार र वनका कर्मचारी सहभागी थिए।
 

ad
ad