१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:२५:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

इलाम २ मा प्रतिष्ठाको लडाइँ

Read Time : > 3 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:२५:oo

- निर्वाचन परिणामले भविष्यको रूपरेखा कोर्ने भएकाले सबै दल र पहिचानवादी सम्पूर्ण शक्ति लगाएर चुनावी मैदानमा
- इलाम २ मा २० र बझाङ (१)  मा १२ को उम्मेदवारी, अन्तिम नामावली मंगलबार
- इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ र बझाङ (१) मा ६१ हजार ७४८ मतदाता

१५ वैशाखका लागि तय इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा २० जनाको उम्मेदवारी परेको छ । संघीय संसद्को एक निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचन संसदीय अंकगणितका लागि धेरै अर्थपूर्ण नभए पनि राजनीतिक भविष्यको संकेत हुने भएकाले पुराना र नयाँ दलसँगै पहिचानवादीका लागि इलाम २ प्रतिष्ठाको विषय भएको छ । 

४ मंसिर ०७९ को आमनिर्वाचनबाट निर्वाचित सदस्य सुवासचन्द्र नेम्वाङको २६ भदौमा हृदयाघातबाट निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुँदै छ । निर्वाचन परिणामले राजनीतिक दलहरूको र पहिचानवादी मुद्दाको भविष्यको रूपरेखा कोर्ने भएकाले सबै दल र पहिचानवादी सम्पूर्ण शक्ति लगाएर चुनावी मैदानमा उत्रेका छन् । 

लगातार जित्दै आएको निर्वाचन क्षेत्र भएकाले एमाले यसको विरासत जोगाउने प्रयासमा छ भने कांग्रेसका लागि एमालेको विरासत तोड्ने अवसर आएको छ । गत निर्वाचनमा तीनमध्ये दुई क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी इलाम २ मार्फत पूर्वी नेपालमा पनि आफ्नो संगठन विस्तारको योजनामा छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र धरानका मेयर हर्क साङपाङको समर्थन पाएका स्वतन्त्र उम्मेदवारमार्फत पहिचानवादी आफ्नो एजेन्डा स्थापित गर्ने रणनीतिमा देखिन्छन् । 

मंसिर ०७९ को निर्वाचन परिणाम जे आए पनि यसपालिको उपनिर्वाचन आफ्नो पक्षमा आउने सबै दलको दाबी छ । एमाले उम्मेदवारलाई माओवादी र विप्लव नेतृत्वको नेकपाको समर्थन छ । अन्य दलबीच गठबन्धन भएको छैन । सत्तागठबन्धनमा रहेका दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका भिन्दाभिन्दै उम्मेदवार छन् । 

उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट १२ र स्वतन्त्र आठ गरी २० जनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार यहाँ दल तथा स्वतन्त्र रूपमा महिलाको उम्मेदवारी परेन । अद्यावधिक नामावलीअनुसार इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । 

इलाम २ मा कांग्रेसका डम्बरबहादुर खड्का पुनः उम्मेदवार बनेका छन् । ४ मंसिर ०७९ को चुनावमा खड्का एमालेका नेम्वाङसँग एक सय १४ मतले पराजित भएका थिए । अघिल्लो हारको बदला लिने खड्काको दाउ छ । कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले आफू नागरिकका हरेक समस्या समाधानमा लागिपरेको उम्मेदवार रहेकाले मत पाउनेमा ढुक्क रहेको बताए ।

यसपटक एमालेबाट सुवासका छोरा सुहाङ उम्मेदवार बनेका छन् । बुबाले तीन दशक धानेको संसदीय राजनीतिको विरासतलाई निरन्तरता दिनुपर्ने चुनौतीमाझ उनी मैदानमा छन् । उनलाई माओवादी र विप्लवको नेकपाले समर्थन गरेको छ । एमालेबाट उम्मेदवारी दर्ता गरेका सुहाङले पार्टीले तयार गरेको घोषणापत्रसँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन आफ्नो एजेन्डा रहेको बताए । 

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले मिलनकुमार योङयाङ लिम्बूलाई उम्मेदवार बनाएको छ । पत्रकारिता क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै रास्वपा प्रवेश गरेका लिम्बू विकासको एजेन्डा बोकेर मैदानमा छन् । गत वर्ष १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा रास्वपाले हासिल गरेको सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती लिम्बूसामु छ । 

यसअलावा राप्रपाका लक्ष्मी गुरुङ, एकीकृत समाजवादीका जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेमकिपाका श्यामबहादुर दर्जी, राप्रपा नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, मंगोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुनार पनि चुनावी मैदानमा छन् । 

यसैगरी, स्वतन्त्र रूपमा डकेन्द्रसिंह लिम्बू उम्मेदवार बनेका छन् । उनलाई पहिचानवादी शक्तिले समर्थन गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रले पहिचानको आन्दोलनको पृष्ठभूमिबाट उम्मेदवार बन्न पुगेको बताए । 

अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, डाकप्रसाद गौतम, दीपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले पनि स्वतन्त्र उम्मेदवारी दिएको इलामका जिल्ला निर्वाचन अधिकारी देवीचरण फुँयालले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारी दिनेमा नौजना युवा रहेका छन् । उनीहरू ४० वर्षमुनिका छन् । यस्तै, इलामबाहेकको जिल्लाका आठजनाले इलाम २ को उपनिर्वाचनका लागि उम्मेदवारी दिएका हुन् । इलाम २ मा हुने निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू मनोनयनअघि नै गाउँ–गाउँमा गएर भोट माग्न पनि थालिसकेका छन् । विश्लेषकहरू इलाम २ मा मुख्यतः कांग्रेस, एमाले र रास्वपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने ठान्छन् । यसबाहेक पहिचान पक्षधरले नतिजा प्रभावित पार्न सक्ने उनीहरूको आकलन छ । यहाँ कांग्रेस र एमालेले एक–अर्कालाई प्रतिस्पर्धी ठानेका छन् भने रास्वपाले एमालेलाई आफ्नो प्रतिस्पर्धी ठानेको छ । 

सबैभन्दा ठूलो चुनौती एमालेलाई नै छ : प्रा. कृष्ण पोखरेल, विश्लेषक
उपनिर्वाचन विभिन्न पार्टीहरूले यसबीचमा गरेका गतिविधिको परीक्षण हो । जसलाई जिताउँछन् उसको गतिविधि स्वीकार गरेको अर्थमा लिनुपर्छ । प्रतिस्पर्धाको आधार हेर्दा एमालेको सिट भएकाले उसले कायम राख्न सक्छ कि सक्दैन भन्ने हो । नयाँ उम्मेदवार ल्याउँदा सबैभन्दा ठूलो दाउ उसकै छ, ऊ हार्नु भनेको परम्परागत आधार गुमाउनु हो । त्यसैले सबैभन्दा ठूलो चुनौती एमालेलाई नै छ । यसलाई खोस्न सक्यो भने कांग्रेसको पाखुरामा नयाँ ऊर्जाको इन्डेक्स लाग्ने हो । रास्वपाले जित्यो भने पूर्वमा उदायो भन्ने सन्देश जाने भयो, ऊर्जा पाउने भयो । मैदानमा पहिचान पक्षधर पनि छ । उनीहरूले गरेको आन्दोलन एलिटको मात्रै हो वा जनस्तरमा पनि रापताप छ भन्ने परीक्षण हुनेछ, किनकि धरानको मेयर पनि प्रचारमा लागेका छन् । 

बझाङमा १२ को उम्मेदवारी
बझाङ प्रदेश सभा (१) बाट प्रदेश सभा सदस्यका लागि दलबाट १२ जनाको उम्मेदवारी परेको छ । यहाँबाट निर्वाचित पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर निधन भएपछि रिक्त पदका लागि एक महिला र ११ पुरुषको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमनबहादुर भण्डारी, माओवादीका जनकबहादुर बुढा, राप्रपाका किशोरकुमार खड्का, एकीकृत समाजवादीका दिलबहादुर सिंह, जसपाका रामबहादुर जाग्री, जनमतका सुशीलादेवी विष्टले मनोनयन दर्ता गराएका छन् । कांग्रेसले स्वर्गीय सिंहका छोरा अभिषेकलाई उम्मेदवार बनाएको हो । यसैगरी नेमकिपाका खगेन्द्रबहादुर शाही, नेपाली जनता दलका अशोक सुनार, नेसनल रिपब्लिक नेपालका कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काले उम्मेदवारी दिएका छन् । यहाँ रास्वपाले उम्मेदवारी दिएन । 

बझाङ प्रदेश सभा (१) मा कांग्रेसका पृथ्वीबहादुर सिंह ४ मंसिरको निर्वाचनबाट १७ हजार एक सय १२ मतसहित निर्वाचित भएका थिए । एमालेका अफिलाल ओखेडाले १३ हजार तीन सय ३६, राप्रपा नेपालका कर्णबहादुर खड्काले चार सय २६, राप्रपाका हरिलाल भट्टराईले चार सय चार मत प्राप्त गरेका थिए । उपनिर्वाचनका लागि अद्यावधिक मतदाता नामावलीअनुसार बझाङ प्रदेश (१) मा ६१ हजार सात सय ४८ मतदाता छन् । मतदानका लागि आयोगले ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकेको छ । 

ad
ad