१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख १७ सोमबार ११:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

माग बढ्न नसकेपछि मूल्यवृद्धि दरमा संकुचन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:१२:oo

आठ महिनामा वस्तु आयात २.७ प्रतिशतले घटेर १० खर्ब ३० अर्ब २२ करोडमा सीमित 

मूल्यवृद्धि दरमा निरन्तर संकुचन देखिन थालेको छ । आर्थिक गतिविधि चलायमान नहुँदा माग कमजोर बन्दै गएपछि मूल्य वृद्धिदर (मुद्रास्फीति)मा संकुचन देखापरेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार फागुनमा मुद्रास्फीति ४.८२ प्रतिशत छ । माघमा यस्तो दर ५.०१ प्रतिशत थियो । 

केन्द्रीय बैंकका अनुसार आठ महिनामा वस्तु आयात २.७ प्रतिशतले घटेको छ । यस अवधिमा १० खर्ब ३० अर्ब २२ करोडको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १० खर्ब ५८ अर्ब ३९ करोडको आयात भएको थियो । आयातमा आधारित उपभोग प्रणालीका कारण मागमा संकुचन आउँदा मूल्यवृद्धिमा प्रभाव देखिएको हो ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले विश्वस्तरमै मुद्रास्फीति दर घट्दो क्रममा रहेकाले नेपालका लागि यो राहतको विषय भएको बताए । बिहीबार संघको पत्रकार सम्मेलनमा मुद्रास्फीति दर घट्दो क्रममा रहनुले आर्थिक स्थायित्वको पाटोमा सकारात्मक विषय भएको बताए । उनले भने, ‘अहिले संसारभर नै मुद्रास्फीति घट्दो क्रममा छ । यो राम्रो पाटो हो । नेपालमा पनि मुद्रास्फीति दर घटिरहेको छ । यसलाई सकारात्मक मान्नुपर्छ ।’

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)द्वारा प्रकाशित वल्र्ड इकोनोमिक आउटलुक, २०२४ का अनुसार सन् २०२४ मा विश्वको मुद्रास्फीति ५.८० प्रतिशत पुग्ने अनुमान छ । त्यस्तै, ०२५ सम्म थप घटेर ४.४० प्रतिशतसम्म कायम रहने प्रक्षेपण छ । यद्यपि, कोषले आपूर्ति शृंखलामा अवरोध, लगानीमा सुस्तता, वातावरणीय चुनौती र घट्दो उपभोगलाई प्रमुख चुनौतीका रूपमा लिएको छ । नेपालको हकमा पनि घट्दो उपभोग र मागमा आएको संकुचनले चुनौती थपिरहेको देखिन्छ । 

केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको उल्लेख छ । त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको ७.११ प्रतिशतले बढेको छ भने घिउ तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ११.७९ प्रतिशतले घटेको छ ।

भारतकै हाराहारी महँगीदर
चालू आर्थिक वर्षका मासिक रूपमा प्रकाशित मुद्रास्फीति दरलाई हेर्ने हो भने नेपाल र भारतबीच मुद्रास्फीति दरमा खासै अन्तर देखिएको छैन । नेपालमा आठ महिनाको औसत मुद्रास्फीति ६.०८ प्रतिशत कायम छ भने भारतमा सोही अवधिको औसत मुद्रास्फीति दर ५.४५ प्रतिशत छ । जसअनुसार औसत अन्तर हेर्ने हो भने ०.८१ प्रतिशत विन्दुले नेपालको मुद्रास्फीति छ ।  

शुक्रबार भारतमा मौद्रिक नीति, नेपाललाई के असर पार्छ ?
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै छ । भारतले हालसम्म नीतिगत दर (रिपोदर)लाई ६.५ प्रतिशतमै कायम राखेको छ । अमेरिकाको केन्द्रीय बैंक फेडले ब्याजदरलाई स्थिर नै राखेको अवस्थामा भारतले पनि नीतिगत दरलाई निरन्तरता दिने भारतीय सञ्चारमाध्यमको विश्लेषण छ । 

भारतको ४ प्रतिशतको लक्ष्यभन्दा माथि नै मुद्रास्फीति दर रहेकाले भारतका बैंकहरूमा रहेको अधिक तरलतालाई व्यवस्थापन गर्न अन्य मौद्रिक औजारहरू परिचालन गरिने अनुमान त्यहाँका सञ्चारमाध्यमले गरेका छन् । 

भारतमा हुने ब्याजदर वृद्धि वा गिरावटले नेपालको पुँजीलाई प्रत्यक्ष असर पार्ने गरेको छ । भारतमा नेपालीका आफन्तमार्फत पैसाको कारोबार हुने भएकाले बढी ब्याज पाइने अवस्थामा नेपालीले भारतमा पैसा लैजाने जोखिम रहन्छ । त्यस्तै, नेपालको पुँजीलाई भारत पलायन हुनबाट रोक्न पनि ब्याजदर अन्तरले ठूलो असर पार्ने गरेको अर्थशास्त्री बताउँछन् । 

थुप्रिँदै बाह्य अर्थतन्त्र
देशमा आर्थिक गतिविधि चलायमान बन्न नसक्दा बाह्य क्षेत्रमा सूचकहरू धनात्मक देखिएका छन् । रेमिट्यान्समा उत्साहजनक ढंगले वृद्धि भइरहँदा पनि विकास निर्माणमा खर्च नहुने र बैंक तथा वित्तीय संस्थाको लगानीयोग्य पुँजी थुप्रिनुले अर्थतन्त्र शिथिल रहेको देखाएको छ । 

फागुनसम्म रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेर नौ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ । गत आर्थिक वर्षको फागुनसम्म सात खर्ब ९४ अर्बको मात्रै रेमिट्यान्स भित्रिएको थियो । डलरमा रेमिट्यान्स बढेर सात अर्ब २४ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

आठ महिनामा चालू खाता एक खर्ब ६६ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५५ अर्ब २८ करोडले घाटामा थियो । त्यस्तै, शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४२ अर्बले बचतमा थियो । लगानीका हिसाबले खुद प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ६३ करोडले बचतमा छ । गत आवको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब १७ करोडले धनात्मक थियो ।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर कुल विदेशी विनिमय सञ्चिति थियो । फागुनसम्म यो २१.७ प्रतिशतले बढेर १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा फागुन मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ । आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

ad
ad