१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जब रत्नकलाले आफ्नै आँखाले नाकको फुली देखिन्...

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o३:oo

जिल्लाका पाँच स्थानीय तहले मोतीविन्दुको नि:शुल्क शल्यक्रिया गर्ने सुविधा दिएपछि नागरिकमा उपचारको पहुँच अभिवृद्धि 

शल्यक्रियापछि देब्रेआँखाको पट्टी खोल्नेबित्तिकै रत्नाकला खरालले आफ्नै आँखाले नाकको फुली देखेर निकै खुसी भइन् । इस्मा गाउँपालिका– ३ की ९७ वर्षीया खरालको दाहिनेआँखा पाँच वर्षदेखि बन्द थियो । गत कात्तिकदेखि देब्रेआँखा पनि बन्द भएपछि बुढेसकालको दैनिकी निकै कष्टकर बनेको थियो । 

दाहिनेआँखा बन्द भएको लामो समय भएको र उमेर ढल्किएकाले उपचार हुनेमा रत्नाकला र परिवार ढुक्क थिएनन् । तर, छोरा केशजराज खरालले आमालाई नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासमा जचाउन ल्याए । नेत्र चिकित्सकको सल्लाहअनुसार गत फागुनमा आँखाको अप्रेसन भयो । आशा नै नगरेको आँखाले देख्न थालेपछि जीवन सहज बन्यो । केही दिनअघि तम्घास आएर देब्रेआँखाको पनि शल्यक्रिया गरेपछि दुवै आँखाले देख्ने भएकी छिन् । 

शल्यक्रियापछि रत्नाकलाले आफ्नै आँखाले नाकको फुली देख्न पाएको खुसी चिकित्सकहरूसँग सुनाइन् । रत्नाकलालाई गाडी लागेर हैरान हुन्छ । लामो समय घर नछोडेको र बुढेसकाल भएकाले बाहिरको वातावरण रत्नाकलालाई रुच्दैन । ‘आमालाई ह्विलचियरमा पनि बान्ता हुन्छ । वर्षौँ घर नछोडेकाले बाहिर हिँड्न मान्नुहुँदैन,’ छोरा केशवराजले भने, ‘जीवनमा औषधि नआएको मान्छेलाई आँखाले दुःख दिए ।’ 

बुढेसकालमा दुवै आँखा बन्द हुँदा आमा र परिवारलाई परेको सास्तीबाट मुक्ति मिलेको खरालले बताए । उनले इस्मा गाउँपालिकाको सहयोगमा आफ्नै जिल्लामा नि:शुल्क रूपमा आँखाको उपचार गर्न पाएकोमा खुसी व्यक्त गरे । 

छत्रकोट गाउँपालिका– ३ काभ्रेका ४१ वर्षीय ओमप्रकाश अर्ज्याल परदेश आउ–जाउ गर्छन् । उनलाई तीन–चार वर्षदेखि दाहिने आँखाले विस्तारै देख्न छोडेपछि पीडा भएको थियो । घर बिदामा आएको वेला केही दिनअघि तम्घासको आँखा उपचार केन्द्रमा आए । 

त्यो समयमा शल्यक्रिया शिविर चलेको थियो । चिकित्सकले शल्यक्रिया नै गर्न सुझाव दिए । उनी दुई दिन तम्घास बसे । अनि शल्यक्रिया गरेर देख्ने भएपछि घर फर्किए । उनले आर्थिक अभावको कारण घरमै दृष्टि गुमाएर बसेकाहरूलाई स्थानीय सरकारले गरेको सहयोग निकै महत्वपूर्ण भएको बताए । 

रेसुंगा नगरपालिका– ७ की ७५ वर्षीया लालकुमारी पन्थीका दुवै आँखा पूर्ण रूपमा बन्द थिए । आँखाले देख्न छोडेपछि लामो समय पन्थीले पीडा खेपिन् । गत साउनमा एउटा र अहिले अर्को आँखाको शल्यक्रिया गरेपछि दुवै आँखाले देख्ने भइन् । 

गुल्मीदरबार गाउँपालिका– ३ का ६० वर्षीय मोहन सुनारलाई आँखाले जागिरबाट छुटायो । ४४ वर्ष भारतमा काम गरेका सुनार अचानक देब्रेआँखाले देख्न छोडेपछि घर आए । केही दिनअघि नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्रमा आएर शल्यक्रिया गरेपछि देख्ने भएका छन् । गाउँपालिकाले नि:शुल्क शल्यक्रियाको व्यवस्था गरेपछि विपन्न परिवारलाई ठूलो राहत भएको सुनारले बताए ।

जिल्लाका पाँच स्थानीय तहले नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्रसँग मोतीविन्दुको नि:शुल्क शल्यक्रियाको सम्झौता गरेका छन् । जसका कारण आर्थिक अभावमा आँखाको समस्या खेपेर घरमै बसेकाहरू उपचारको पहुँचमा आउन थालेका छन् । 

गत वर्षसम्म रेसुंगा, गुल्मीदरबार र इस्माले सम्झौता गरेका थिए । जसका कारण गत वर्ष रेसुंगाका ९८, गुल्मीदरबारका ५६ र इस्माका ३४ जना नागरिकको मोतीविन्दुको नि:शुल्क शल्यक्रिया गरे । 

यो वर्ष छत्रकोट र रुरुक्षेत्र गाउँपालिकाले पनि नि:शुल्क शल्यक्रियाका लागि केन्द्रसँग सम्झौता गरेका छन् । यो आर्थिक वर्षमा रेसुंगाका ७३, गुल्मीदरबारका ४९, छत्रकोटका २८, इस्माका १८ र रुरुक्षेत्र गाउँपालिकाका सातजनाको नि:शुल्क रूपमा मोतीविन्दुको शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले जानकारी दिए । 

मुसिकोट नगरपालिकाले सम्झौता नगरे पनि शल्यक्रिया गरेको बिलको आधारमा भुक्तानी गरेर नागरिकलाई उपचारमा प्रोत्साहन तथा सहयोग गरिरहेको कार्कीले बताए । 

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीले वार्षिक करिब ३३ हजार नागरिकको आँखाको उपचार र करिब पाँच सय नागरिकको शल्यक्रिया गर्ने गरेको छ । संघको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा ३२ हजार तीन सय ८१ जनाको आँखाको उपचार भएको छ भने गत वर्ष ३४ हजार नागरिकको आँखाको उपचार गरिएको छ । 

यो आर्थिक वर्षको आठ महिनामा २० हजार ६ सय २२ जनाको आँखाको उपचार भएको संस्थाले जनाएको छ ।  नेपाल नेत्रज्योति संघको जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्रसहित वामी, शान्तिपुर, सिमलटारी र मदाने गरेर पाँचवटा आँखा उपचार केन्द्रहरू रहेका छन् । जसमा १७ जना कर्मचारी कार्यरत रहेका छन् ।

जिल्लामा स्थायी रूपमा ०४५ सालबाट आँखा उपचार सेवा र ०४९ सालबाट नेपाल नेत्रज्योति संघको शाखा स्थापना भएको नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीका सचिव पदम पाण्डेले जानकारी दिए ।

देश संघीय संरचनामा गएसँगै स्थानीय तहले गाउँगाउँमा विशेषज्ञसहितका शिविर सञ्चालन गरिरहेका छन् ।  नि:शुल्क उपचार, औषधि र उपकरणहरूको सहयोग गर्न थालेपछि लामो समय उपचार नगरेरै घरमा बसेकाहरू पनि स्वास्थ्य संस्थामा पुग्न थालेका छन् । स्थानीय तहले नागरिकलाई नि:शुल्क आँखाको शल्यक्रिया गर्न अनुदान मात्रै नभएर घरछेउमै पुगेर शिविरहरूमार्फत सेवा दिइरहेको नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्रका प्रमुख तथा नेत्र चिकित्सक सूर्यबहादुर बस्नेतले बताए ।


 

ad
ad