१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o८:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

निजी विद्यालयको नाममा नेपालीपन झल्काउन महानगरको ताकेता

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:४२:oo

महानगरभित्र रहेका निजी विद्यालयले ‘इन्टरनेसनल’ शब्द राख्न एकतिहाइ विदेशी विद्यार्थी, ‘नेसनल’ शब्द राख्न २५ जिल्लाका विद्यार्थी हुनुपर्ने र ‘पब्लिक’ शब्द राख्न एकतिहाइले पूर्ण छात्रवृत्ति पाएको हुनुपर्ने

विदेशको जस्तै शिक्षा दिने बहानामा ‘इन्टरनेसनल’ शब्द झुन्ड्याइरहेका काठमाडौं महानगरपालिकाभित्रका निजी विद्यालयलाई नामअनुसार काम गर्न वा नाम सच्याउन महानगरले एक साता समयसीमा तोकेको छ । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुसार निजी विद्यालयले ‘इन्टरनेसनल’ शब्द राख्न एकतिहाइ विदेशी विद्यार्थी पढाउनुपर्छ, ‘नेसनल’ शब्द राख्न २५ जिल्लाका विद्यार्थी हुनैपर्छ र ‘पब्लिक’ शब्द राख्न कुल विद्यार्थीमध्ये एकतिहाइले पूर्ण छात्रवृत्ति पाएको हुनुपर्छ । तर, कुनै पनि विद्यालयले नियमावलीअनुसार काम नगरेको भन्दै महानगरले त्यस्ता शब्द हटाउन बुधबार सूचना जारी गरेको हो । 

नियमावलीविपरीत नाम सच्याउन अटेर गर्नेलाई कारबाहीस्वरूप भर्ना कार्यक्रम नै रोकिदिने महानगरको चेतावनी छ । महानगरपालिकाले शैक्षिक वर्ष ०७९ को भदौदेखि नै ‘इन्टरनेसनल, नेसनल र पब्लिक’ शब्द हटाउन ताकेता गरेको हो । तर, हालसम्म केहीले मात्रै नाम नेपालीकरण अर्थात् सच्याएका छन्, अन्यले अटेर गर्दै आइरहेका छन् । अब भने महानगरले ती निजी विद्यालयलाई नाम नसच्याए छुट दिनेछैन । काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, १०७४ अनुसार निजी विद्यालयलाई ‘इन्टरनेसनल, नेसनल र पब्लिक’ शब्द हटाउन निर्देशन दिएको हो । नियमावलीअनुसार दुई वर्षभित्र नै सबै विद्यालयले नाम सच्याइसक्नुपर्ने थियो । तर, नियमावली बनेको ६ वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन । नियमावलीमै स्पष्ट उल्लेख भएकाले त्यसको कार्यान्वयन गर्न लागिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

निजी विद्यालयले नाम सच्याउन कम्पनी रजिस्ट्रारको कार्यालयमा जानुपर्नेछ भने उनीहरूले होर्डिङ बोर्ड, डिस्प्ले, प्रशासनिक कागजातलगायतमा पनि नाम सच्याउनुपर्नेछ । यदि ती शब्द राख्ने भए मापदण्ड पूर्ण पालना गर्नुपर्नेछ । त्यस्तै, यसअघिको संघीय शिक्षा ऐनले पनि विद्यालयको नामकरणमा मौलिकता र नेपालीपन झल्कने किसिमको हुनुपर्ने व्यवस्था गरेको छ । 

कुन शब्द राख्न कस्तो मापदण्ड ? 
कुनै विद्यालयले नामको अगाडि वा पछाडि इन्टरनेसनल शब्द राख्छ भने त्यो विद्यालयले छुट्टै मापदण्ड पालना गर्नुपर्छ  । उक्त विद्यालयले एकतिहाइ संख्यामा विदेशी विद्यार्थी पढाएको हुनुपर्छ । यस्तै, विद्यालयको नामको पछाडि ‘नेसनल’ शब्द जोड्न कम्तीमा पनि २५ जिल्लाका विद्यार्थी अध्ययनरत हुनुपर्छ । नियमावलीले यदि कुनै स्कुलले ‘पब्लिक’ शब्द जोड्छ भने त्यहाँ पढ्नेमध्ये कम्तीमा एकतिहाइले पूर्ण छात्रवृत्तिमा पढेको हुनुपर्छ  । तर, यो मापदण्डभित्र पर्ने कुनै पनि निजी विद्यालय महानगरपालिकाभित्र छैनन् । त्यसकारण सबै विद्यालयले ती शब्द हटाउनुपर्ने महानगरपालिकाले जनाएको छ । 

४४८ विद्यालयले सच्याए नाम 
नियमावली पालना गर्न झन्झट हुने भएपछि निजी विद्यालयहरूले उक्त शब्द नै हटाउन थालेका छन् । यही क्रममा चुच्चेपाटीस्थित प्राक्सिक इन्टरनेसनल स्कुल, कालीमाटीस्थित एमइटी विथ कोएजुकेसन विद्यालय’ कालीमाटीकै क्रिस्टल इन्टरनेसनल एकेडेमी, कोटेश्वरको भ्याली भ्यु इन्टरनेसनल स्कुलसहित चार सय ४८ वटा विद्यालयले ‘इन्टरनेसनल’ ‘नेसनल’ र ‘पब्लिक’ शब्द हटाएको महानगरको तथ्यांक छ ।

३२३ विद्यालयले नाम सच्याएनन् 
काठमाडौं महानगरपालिका शिक्षा विभागको तथ्यांकअनुसार महानगरपालिकाभित्र सात सय ७१ वटा निजी विद्यालय छन् । यीमध्ये तीन सय २३ वटा विद्यालयले नाममा अझै अंग्रेजी शब्द झुन्ड्याइरहेका छन् । अब पनि नाम नसच्याए भर्ना नै रोकिदिने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । सूचनासँगै नाम सच्याउन निजी विद्यालयलाई पत्राचार गरेको उनको भनाइ छ । 

ad
ad