
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्यालगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद मनीष झाले तराई–मधेशसहित देशका विभिन्न स्थानमा वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडक विकृत संस्कृतिका रूपमा विकास भइरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
उनले फिल्मी शैलीमा हेलिकोप्टरमा जन्ती लैजाने गतिविधिले सामाजिक रूपमा आर्थिक दायित्व बढ्नुका साथै गाउँबस्तीमा हेलिकोप्टरको हावाले घरहरूमा क्षति पुर्याउने गरेको बताए।
उनले विवाहका नाममा हल्दी, मेहन्दीजस्ता गतिविधिले दुलहीको माइतीमा आर्थिक दायित्व बढ्ने गरेको, गाउँबस्तीमा हेलिप्याड पनि नहुने भएकाले उडान सुरक्षामा समेत चुनौती थपिएकाले यसप्रकारका गतिविधिलाई तत्काल रोक्न आग्रह गरे।