१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मार्चमा मात्रै एक लाख २८ हजार पर्यटक भित्रिए, भारतीय र चिनियाँसँगै पश्चिमा देशबाट पनि बढ्न थाले

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:o६:oo

२९ प्रतिशतले बढे विदेशी पर्यटक, कोभिडयताकै उच्च

सन् २०२४ को पर्यटकीय सिजन सुरु भएसँगै विदेशी पर्यटक आगमनमा पनि सुखद सुरुवात भएको छ । मार्च महिनामा विभिन्न देशबाट एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल घुम्न आएका छन् । यो कोभिडयताकै उच्च हो । 

अघिल्लो वर्षको मार्च महिनाको तुलनामा यो मार्चमा पर्यटक आगमन २८.९० प्रतिशतले बढेको पर्यटन बोर्डले जनाएको छ । मार्च २०२३ मा ९९ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका थिए । यो मार्च महिनामा भित्रिएका पर्यटक कोभिड सुरु हुनुअघि २०१९ मार्चको भन्दा पनि धेरै हुन् । सो महिना एक लाख २७ हजार तीन सय ५१ पर्यटक भित्रिएका थिए । नेपालको पर्यटन इतिहासमा सन् २०१९ मा सबैभन्दा धेरै ११ लाख ९७ हजारभन्दा बढी पर्यटक भित्रिएको तथ्यांक छ ।

सन् २०२० सुरुवातदेखि विश्वव्यापी रूपमा कोभिड महामारी फैलिन थालेपछि पर्यटक आवागमन रोकिएको थियो । २०२० मार्चमा ४२ हजार सात सय ७६, २०२१ मार्चमा १४ हजार नौ सय ७७ र २०२२ मार्चमा ४२ हजार पर्यटक नेपाल भित्रिएका थिए । कोभिडका कारण २०२० अप्रिलमा १४ र मेमा ३१ पर्यटक मात्र आएको तथ्यांक छ । महामारीका कारण वर्ष २०२० र २०२१ पूरै प्रभावित भएको थियो । 

२०१९ मा करिब १२ लाख पर्यटक भित्रिएकोमा २०२० मा दुई लाख ३० हजार, २०२१ मा एक लाख ५० हजार, २०२२ मा ६ लाख १४ हजार र २०२३ मा १० लाख १४ हजार आठ सय ७६ पर्यटक भित्रिएका थिए । २०२४ को पहिलो तीन महिना (जनवरी, फेब्रुअरी र मार्च)मा तीन लाख चार हजार ६ सय ९३ विदेशी पर्यटक भ्रमणमा आइसकेका छन् । यो वर्ष पर्यटकको संख्या करिब १५ लाख पुग्ने अपेक्षा पर्यटन व्यवसायीको छ । 

महामारी फैलिन कम हुँदै गएपछि २०२२ यता पर्यटक आगमन बढ्दै गइरहेको पर्यटन व्यवसायी वसन्त मिश्रले बताए । उनले भने, ‘हामीले प्रचारप्रसारमा अलि मिहिनेत गरेको खण्डमा १० लाख पर्यटक भारतबाट मात्रै भित्र्याउन सकिन्छ ।’

धेरै आगमन भारत र चीनबाट
नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिने गरेका छन् । मार्च महिनामा भारतबाट मात्रै ३० हजार ६ सय ९८ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । चीनले आफ्ना नागरिकलाई आउटबाउन्ड टुर खुला गरेपछि नेपालमा पनि चिनियाँ पर्यटक बढ्न थालेको देखिन्छ । मार्चमा चीनबाट भने १२ हजार ९३ पर्यटक आएको देखिन्छ ।

नेपालमा पर्यटक घुम्न आउने प्रमुख १० देशहरूमध्ये पाँच देश एसियाकै छन् । मार्चमा अमेरिकाबाट १० हजार सात सय ६३, बेलायतबाट सात हजार दुई सय ४१, श्रीलंकाबाट पाँच हजार सात सय ४१, जर्मनीबाट पाँच हजार दुई सय ५५, थाइल्यान्डबाट चार हजार पाँच सय ६७, अस्ट्रेलियाबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ पर्यटक आएको तथ्यांक छ । 

सार्कका पाँच देशबाट मात्रै मार्च महिनामा ४० हजार सात सय २७ पर्यटक आएको तथ्यांक छ, जुन कुल पर्यटकको ३१.८ प्रतिशत हो । सार्कबाहेकका एसियाली देशबाट २८ हजार ६ सय ४८ पर्यटक (२२.४ प्रतिशत) आएका छन् । त्यस्तै, युरोपेली देशबाट २७ हजार पाँच सय ८२ (२१.५ प्रतिशत), आसियाना (अस्ट्रेलिया र न्युजिल्यान्ड)बाट चार हजार सात सय ८० (४.८ प्रतिशत), अमेरिकाबाट १२ हजार ६ सय १४ (९.८ प्रतिशत), मध्यपूर्वी इजरायल र टर्कीबाट एक हजार तीन सय ४५ पर्यटक आएको तथ्यांक छ । 

ad
ad