१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले उम्मेदवार सुहाङ चुनावकेन्द्रित अभियानमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:१३:oo

आगामी १५ वैशाखमा हुने इलाम २ को संघीय उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङले जिल्लाकेन्द्रित चुनावी अभियान सुरु गरेका छन् । काठमाडौंबाट बुधबार निर्वाचन क्षेत्र प्रस्थान गरेका नेम्वाङले शनिबारसम्म चुनावकेन्द्रित भेटघाट र बैठकमार्फत चुनावी अभियान सुरु गरेका हुन् ।

इलाम २ प्रदेश (२) का एमाले सांसद तथा कोशी प्रदेशका पूर्वकृषिमन्त्री राम रानाका अनुसार सुहाङले बुधबार दमकस्थित दमक क्याम्पसमा अध्ययन गर्ने इलामका विद्यार्थीसँग चुनावकेन्द्रित अन्तरक्रिया र भेटघाट गरेर अभियान सुरु गरेका हुन् ।

बिहीबार बिहान इलाम पुगेका उनी शुक्रबारसम्म त्यस्तै प्रकृतिका भेटघाट, अन्तरक्रिया र बैठकमा व्यस्त रहे । यसबीचमै उनले पार्टीको इलाम र देउमाई नगर कमिटीको बैठकमा भाग लिएर स्थानीय मंगलबारे र सदरमुकामस्थित इलाम बजारमा मतदाता भेटघाट र सामाजिक व्यक्तित्वसँग भेटघाट र अन्तरक्रिया गरेका छन् । त्यस्तै, माङसेबुहाङवासीसँग पनि उनले भेटघाट गरेका छन् । 

सुहाङसँगै अभियानमा सक्रिय रहेका पूर्वमन्त्री रानाले विशेषतः नेम्वाङले नयाँ पुस्ताका युवासँग बढी अन्तरक्रिया र भेटघाट गरिरहेका छन् । ‘युवा जमातले उहाँसँग प्रश्न सोध्ने, अन्तरक्रिया गर्ने गरिरहेका छन्, उहाँ पनि युवा नै भएकाले युवाहरूको जिज्ञासा र समाधान गर्ने कामले अभियानमा उत्साह नै थपिएको छ,’ रानाले भने, ‘उहाँप्रति नकारात्मक टिप्पणी गर्ने र फरक बुझाई रहेका पार्टीपंक्तिभित्रकै कतिपय व्यक्तिसँग पनि पार्टी नेतासहित बसेर उहाँले अन्तरक्रिया र छलफल गर्नुभएको छ, त्यसले बुझाइमा एकरूपता देखिएकाले सिंगै पार्टी एकढिक्का साथ अगाडि बढ्ने वातावरण बनेको छ ।’

सुहाङले चुनावकेन्द्रित अभियान सुरु गरिसके पनि एमाले जिल्लाले भने चुनावी प्रचार अभियान सार्वजनिक गरिसकेको छैन । रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । तर, कांग्रेस, माओवादी र नेकपा एसले भने उम्मेदवार तय गरिसकेका छैनन् । 

२४ मंसिरमा उम्मेदवारी मनोनयनपछि जिल्लाले अलग्गै चुनावी प्रचार अभियान तथा घरदैलो कार्यक्रमको तालिका बनाएर अघि बढाउने एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बताए । ‘अहिले एक हिसाबले चुनावी प्रचारको वार्मिङ चलिरहेको छ,’ धमाधम वडा तहसम्म चुनावी रणनीति बनाउने गरी बैठक चलिरहेका छन्, यो चरण सकिएपछि व्यवस्थित ढंगले प्रचार अभियान अगाडि बढ्छ,’ खतिवडाले भने, ‘हामीले त्यहीअनुसार जिल्लालाई निर्देशित गरेर समन्वय गरिरहेका छौँ ।’

गत ११ चैतमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनी संविधानसभा अध्यक्ष सुवास नेम्वाङका कान्छा पुत्र हुन् । गत २६ भदौमा हृदयाघातबाट सुवासको निधन भएपछि इलाम २ मा चुनाव हुन लागेको हो । पछिल्लो निर्वाचनमा सुवास कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई एक सय १४ मतको झिनो अन्तरले पराजित गर्दै विजयी भएका थिए । सुवासले ३० हजार २० मत प्राप्त गरेका थिए । कानुन विषयमा स्नातक ३२ वर्षीय सुहाङ पेसाले वकिल पनि हुन् । उनलाई एमालेले एक महिनाअघि केन्द्रीय कानुन विभाग सदस्य मनोनीत गरेको थियो ।