Skip This
कांग्रेसमा गणेशमान र कृष्णप्रसादजस्तो त्याग र साहस आवश्यक छ : प्रदेश सभापति बानियाँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १३ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १३ मंगलबार २१:३९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसमा गणेशमान र कृष्णप्रसादजस्तो त्याग र साहस आवश्यक छ : प्रदेश सभापति बानियाँ

सिन्धुपाल्चोकको इन्द्रावतीमा गणेशमानसिंह स्मृति भवन शिलान्यास

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १३ मंगलबार २१:३९:oo

नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पार्टीका नेता र कार्यकर्तामा गणेशमानसिंह श्रेष्ठमा जस्तो त्याग र साहस आवश्यक रहेको बताएका छन् । 

सिन्धुपाल्चोकको इन्द्रावती– ३ कुन्चोक भञ्ज्याङमा गणेशमानसिंह स्मृति भवन शिलान्यास गर्दै प्रदेश सभापति बानियाँले त्यागका ठूलठूला इतिहास भएको पार्टीमा पदकै लागि संघर्ष देखिन नहुने बताए । सो भवन एक करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

‘आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आउँदा गणेशमानले किसुनजी (कृष्णप्रसाद भट्टराई)लाई अघि सार्नुभयो । किसुनजीले अन्तरिम सरकारको नेतृत्व गर्दा वा पछि पनि प्रधानमन्त्री बन्दा सादगीको उदाहरण पेश गर्नुभयो,’ सभापति बानियाँले भने, ‘यस्तो त्यागी नेताहरु भएको पार्टीमा अहिले वडाध्यक्षको टिकट नपाएर पार्टी छाड्नेहरु हुनुु दुर्भाग्यपूूर्ण हुन्छ ।’ 

पूर्वगृहराज्यमन्त्री बानियाँले कांग्रेसका अग्रजहरु बिपी, गणेशमान, किसुनजी, सुवर्णशम्शेर, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहरुले आआफ्ना समयमा मुलुकका लागि यथेष्ठ योगदान दिएको चर्चा गर्दै त्यत्रो विरासत भएको पार्टी कमजोर बन्न नसक्ने बताए । उनले राजनीतिमा त्यागको अभाव हुन दिन नहुने भन्दै इतिहासको गर्वलाई वर्तमानमा सबै कांग्रेसीले अंगीकार गर्नुपर्ने धारणा पनि व्यक्त गरे ।

वर्तमान समयमा सबै पार्टीका नेता–कार्यकर्तामा इमानको खडेरी परेको उनको भनाइ थियो । ‘हिजोको नेतासँग त्याग थियो । प्रजातन्त्रप्रति विश्वास थियो । त्यसका लागि निरन्तर लडेका थिए । आज मान्छे पद्धतिको लागि, प्रजातन्त्रको लागि लड्दैन । कांग्रेसमा नपाए एमालेमा जाने, एमालेमा नपाए माओवादीमा जाने, त्यहाँ पनि नपाए नयाँ पाटीमा जाने अस्थिरता देखिएको छ,’ उनले भने, ‘यसले लोकतन्त्र बलियो हुँदैन, प्रजातन्त्र सवल हुँदैन । मुलुक झन्झन् अस्थिरतातर्फ जान्छ ।’ 

प्रदेश सभापति बानियाँले कलिलो संविधानको रक्षा गर्दै सवल बनाउने भूमिका खेल्नुपर्ने वेला वर्तमान प्रधानमन्त्रीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेको जिकिरसमेत गरे । 

‘माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूलो भूमिका खेल्नुभयो । तर, अहिले त्यही माओवादी अस्थिरताको कारक बन्दै गएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीमा टिकिरहन अहिले जस्तो गतिविधि प्रधानमन्त्रीबाट भयो, त्यसले यो व्यवस्थाप्रति आमनागरिकमा निराशा बढाएको छ । मुलुकलाई अस्थिरतातर्फ धकेलेको छ ।’

उनले कांग्रेसको नेतृत्वमा सुरु भएको शान्तिप्रक्रिया टुंग्याउन माओवादीलाई कांग्रेसकै साथ आवश्यक पर्ने भन्दै प्रश्न गरे, ‘कांग्रेससँगको सहयात्रा तोडेर कसरी शान्तिप्रक्रिया पूरा होला ?’

उनले वर्तमान निर्वाचन प्रणाली पनि अस्थिरताको कारण बन्न पुगेको चर्चा गरे । ‘यो संविधानमा लेखिएको मिश्रित निर्वाचन प्रणाली पनि स्थिरताको बाधक देखियो । यही प्रणालीमा कसैले स्पष्ट बहुमत ल्याउन नसक्ने र स्थिर सरकार नबने भयो । त्यसैले अब संविधान संशोधन गरेर भए पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्नेछ,’ उनले भने ।  

जनताको नाम लिएर नथाक्ने कम्युनिष्टहरु कमाउधन्दामा लागेको आरोप लगाउँदै अब कांग्रेसले पार्टीभित्र पनि शुद्धीकरण अभियान चलाउनुपर्ने जिकिर गरे । ‘बलियो र निष्ठा भएको कांग्रेस पार्टी बनाउन राजनीतिलाई व्यापार बनाउन खोज्नेहरुलाई कांग्रेसले नै कारबाही गर्नुपर्छ । जतिसुकै ठूलो व्यक्ति होस्, आफ्नो होस् या आफूनजिकको होस्, कारबाही गर्ने र कांग्रेसलाई आदर्शवान पार्टी बनाउने काममा ढिला गर्न हुँदैन, ’ उनले भने, ‘त्यसो हुन नसके झुठको सहारामा झुक्याउनेहरुले जनतालाई गुमराहमा राखिराख्छन् । जनतामाथि शोषणा गरिराख्छन् ।’

कार्यक्रममा उनले गणेशमान स्मृति भवनको निर्माण सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गर्न सघाउने प्रतिबद्धता पनि व्यक्त गरे । उनले खेलमैदान र सडकको निर्माण कार्यमा पनि बजेट व्यवस्थापनमा पहल गर्ने बताए । 

कार्यक्रममा कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री  हरिशरण  श्रेष्ठ, कांग्रेस सिन्धुपाल्चोकका  सभापति  जंगबहादुर  लामा, पूर्वसभापति भूपेन्द्रबहादुर थापा, कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री निमा लामा, निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति एवं मेलम्ची नगरप्रमुख आइतमान तामाङलगायतले सम्बोधन गरेका थिए ।