१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १४:o९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

‘खोटाङ सेवा समाज बेलायत’ले जिल्लाका ११ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका दशवटै स्थानीय तहको ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको छ। 

खोटाङ घर भई विभिन्न पेसा तथा व्यवसाय गर्न बेलायतमा बसोवास गर्दै आएका खोटाङेहरूको संस्था खोटाङ सेवा समाज बेलायतले यही चैत १६ गतेदेखि २३ गतेसम्म जिल्लाका विभिन्न ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको हो। 

हरेक स्थानमा दुई–दुई दिन सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरूसहित स्वास्थ्यकर्मीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिने आयोजक खोटाङ सेवा समाज बेलायतका महासचिव राजेनरामजंग राईले जानकारी दिए। 

चैत १६ र १७ गते जिल्लाका चार स्थानमा एकै दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। 

‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने स्वास्थ्य शिविर चैत १६ र १७ गते साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङबजार स्वास्थ्य चौकी, जन्तेढुंगा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको रावाबेँसी स्वास्थ्य चौकीमा सञ्चालन हुने जनाइएको छ। 

हरेक स्थानमा पाँच–पाँचजना विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीहरूले शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै शिविरमा सहभागी बिरामीलाई आवश्यक औषधि वितरण गर्ने जनाइएको छ। 

आयोजकले चैत १७ र १८ गते ऐँसेलुखर्क गाउँपालिकाको ऐँसेलुखर्क बजार तथा चैत २० र २१ गते चार ठाउँमा शिविर सञ्चालन गर्ने जनाएको छ। 

चैत २० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ९ निर्मलीडाँडामा शिविर सञ्चालन गर्ने तयारी गरिएको महासचिव राईले जानकारी दिए। 

चैत २२ र २३ गते दिक्तेल रूपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ। स्थानीय तहमा आयोजना गरिने शिविर सम्पन्न गरेपछि चैत २४ गते दिक्तेलस्थित शुभम् फाउन्डेसनमा औपचारिक रूपमा समापन कार्यक्रम गरिने खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डाक्टर प्रमोद कोयी राईले जानकारी दिए। 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– २ सोल्मास्थित शुभम् फाउन्डेसनमा आयोजना गरिने समापन कार्यक्रममा आयोजकले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार– २०८०’समेत वितरण गर्ने जनाएको छ। यस वर्ष संस्थाले शिक्षाविद् एवं समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान र कवि चन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

नगद एक लाख राशि र ताम्रपत्रसहितको नागरिक सम्मान तथा रु. ५० हजार राशि र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार आगामी चैतमा दिक्तेलमा कार्यक्रम गरेर हस्तान्तरण गर्ने निर्णय गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभागका संयोजक डिल्लीराम राईले जानकारी दिए। 

शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, ठाउँ, समाज र राष्ट्रलाई पुर्‍याएको योगदानको कदर गर्दै समाजसेवी चतुरभक्त र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कवि रानोहँछालाई सम्मान एवं पुरस्कृत गर्ने तयारी गरिएको हो।

समाजले साहित्य, कला, संगीत, शिक्षा, खेलकुद, समाजसेवालगायतका माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पुर्‍याउँदै आएका ६० वर्षमाथिका व्यक्तित्वलाई नागरिक सम्मान तथा २० वर्षमाथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ। 

समाजले पहिलो चरणमा कृषिविज्ञ मदन राई र गायक रूपकुमार राई, दोस्राे चरणमा साहित्यकार जसराज किराँती र संगीतकार शान्तिराम राई, तेस्राे चरणमा शिक्षासेवी एवं समाजसेवी इमानसिं राई र गीतकार टीका चाम्लिङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुवलक्ष्मी राई र सञ्चार अभियन्ता टंकबहादुर थापा तथा पाँचौँ चरणमा शिक्षाविद् जयकुमार राई र साहित्यकार एवं प्राध्यापक डा. धनप्रसाद सुवेदीलाई नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ।

रोजगारीको सिलसिलामा युकेमा बसे पनि आफूहरू खोटाङे भएकाले खोटाङेको समस्यालाई समाधान गर्न आफूहरूको पनि उत्तिकै जिम्मेवारी हुने उनीहरूले बताउँदै आएका छन्। जिल्लाका विभिन्न ठाउँमा स्थायी घर भई बेलायतमा बसोवास गर्दै आएका खोटाङेहरूले चन्दा संकलन गरेर २०७३ चैत– २६ गते खोटाङलाई सातवटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको थियो।