१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
टेकराज थामी काठमाडाैं
२०८० चैत ९ शुक्रबार ०६:४२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सांसद चौधरीसँग साढे तीन घण्टा बयान

बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा सिआइबी र सरकारी वकिलले लिए बयान

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० चैत ९ शुक्रबार ०६:४२:००

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोप लागेका कांग्रेस सांसद एवं उद्योगी विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सरकारी वकिल कार्यालयले संयुक्त रूपमा बयान लिएका छन् । भद्रकालीस्थित सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान चौधरीसँग साढे तीन घण्टा बयान लिइएको हो ।

बयानका दिन चौधरी बिहान आठ बजे नै सरकारी वकिल कार्यालय पुगेका थिए । ‘बिहान करिब साढे तीन घण्टा उहाँसँग बयान भएको छ,’ सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले भने ।

बयानमा चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा नियमसंगत नै लिएको दाबी गरेका छन् । ४२ वर्षअघि बाँसबारी क्षेत्र विकट भएको, सोहीअनुसार जग्गाको मूल्यांकन निर्धारण भएको र सेयरबापत उक्त रकम भुक्तानी गरेरै जग्गा लिइएको चौधरीको जवाफ छ । वकिल कार्यालय स्रोतले भन्यो, ‘हामीले प्राप्त प्रमाणका आधारमा उहाँसँग सोधपुछ गर्‍यौँ । उहाँले जग्गा लिएको स्वीकार गर्नुभएको छ । ४२ वर्षअघि बाँसबारी क्षेत्र विकट रहेको, सोहीअनुसार जग्गाको मूल्यांकन भएको र उक्त मूल्य सेयरमा सट्टापट्टा गरिएको हुँदा यो गैरकानुनी नभएको उहाँको भनाइ छ ।’

सन्देश श्रेष्ठ, सहन्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना सम्बन्धमा बिहान विनोद चौधरीसँग करिब साढे तीन घण्टा बयान लिइएको छ । सरकारी वकिल कार्यालय र सिआइबीको टोलीले बयान लिएको हो ।

सिआइबी र सरकारी वकिल कार्यालयलाई बयान दिएपछि सञ्चारकर्मीसँग पनि चौधरीले यस्तै दाबी गरे । व्यवस्थित निजी लगानीमा मुलुककै ठूलो औद्योगिक ग्राम सञ्चालन गर्ने समूहले १० रोपनी जग्गामा कुदृष्टि राख्ने भन्ने सोच विकृत मानसिकताको उपज रहेको उनको भनाइ छ ।

‘४२ वर्षअघि बाँसबारी अनकन्टार थियो । त्यसवेला त्यहाँको जग्गा कौडीको भाउमा पनि बिक्दैनथ्यो । १० रोपनी जग्गाको मूल्य कति नै पथ्र्याे र ? देशैकै सबैभन्दा ठूलो निजी औद्योगिक ग्राम स्थापना गर्न सक्ने उद्योगीले १० रोपनी जगगामा कुनै पनि किसिमको कुदृष्टि राख्छ भन्ने सोच्नु नै एउटा विकृत मानसिकताको उपज हो,’ बयानपछि चौधरीले भने । बयानपछि उनी बिहीबारै श्रीलंका उडेका छन् । प्रहरीका अनुसार नियमित कार्यक्रमका लागि भन्दै उनी श्रीलंका गएका हुन् । 

चौधरीमाथि अनुसन्धान गर्न बुधबार नै सिआइबीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो । त्यसअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका थिए ।   

चौधरी समूहले बाँसबारीको १० रोपनी जग्गा च्याम्पियन सु–फ्याक्ट्री अर्थात् तत्कालीन ‘च्याम्पियन फुटवेयर लिमिटेड’को नाममा लगेको थियो । जसको संस्थापक सेयर सदस्यहरूमा विनोद चौधरी, वसन्त चौधरी, अरुण चौधरी, लुनकरणदास चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए । 

लिमिटेडको कुल पाँच हजार कित्ता सेयरमध्ये विनोद तथा भाइहरू वसन्त र अरुणको नाममा दुई–दुई सय कित्ता थियो । त्यस्तै, उनीहरूका बुवा लुनकरणदासको नाममा दुई हजार एक सय, भिनाजु महेशकुमारको नाममा दुई सय, आमा गंगादेवीको नाममा एक सय कित्ता सेयर थियो । बाँकी दुई हजार कित्ता सेयर भने बाँसबारी छालाजुत्ता कारखानाको नाममा थियो । सेयरबापत कारखानाले १० रोपनी जग्गा दिएको थियो, जसको मूल्यांकन २० लाख रुपैयाँ मात्रै गरिएको थियो । जब कि च्याम्पियन फुटवेयर लिमिटेडको सेयर त्यतिवेलै प्रतिकित्ता एक हजार रुपैयाँ तोकिएको थियो ।  

अहिले च्याम्पियन फुटवेयर लिमिटेड बन्द भइसकेको छ । उक्त जग्गा हाल सिजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ, जसको सम्पूर्ण सेयर अरुण चौधरीको नाममा छ । अरुणले उक्त जग्गामा चाँदबाग स्कुल चलाइरहेका छन् । गैरकानुनी ढंगले जग्गा हडपेको अभियोगमा प्रहरीले गत १८ माघमा अरुण, तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो । ६ दिनको हिरासतपछि तीनैजनालाई हाजिरी जमानीमा छाडिएको थियो । सिआइबीले वसन्तसँग पनि बुधबार नै बयान लिइसकेको छ । 

०२० मा चीन सरकारले स्थापना गरेको छालाजुत्ता कारखानाको १० रोपनी जग्गासँग फुटवेयरले सेयर साटेको थियो । तर, फुटवेयर तीन वर्ष पनि चलेन । लगातार घाटा देखाएर छालाजुत्ताको सेयर फुटवेयरले पछि आफ्नै नाममा नामसारी गरेको थियो । 

चौधरी भन्छन्, ‘मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेलाई बुझाउनुपर्दैन’
पब्लिक–प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रूपमा खडा गरिएको एउटा नवीनतम सोचलाई जुन किसिमबाट राजनीतीकरण गरियो, यो दुःख लाग्दो छ । ४२ वर्षअघि १० रोपनी जग्गाको मूल्य कति नै पर्न सक्थ्यो र ? यो सबैले बुझेका छन् । यो देशैकै सबैभन्दा ठूलो निजी औद्योगिक ग्राम स्थापना गर्न सक्ने उद्योगीले १० रोपनी जग्गामा कुनै पनि किसिमको कुदृष्टि राख्छ भन्ने सोच्नु नै एउटा विकृत मानसिकताको उपज हो । मेरो ४५ वर्षको लामो अभियानमा उद्यमी, विचारक, राजनीतिकर्मी, उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको अध्यक्षको हैसियतले मैले सधैँ विकासको राजनीति गरेँ । गलत कुरालाई कहिले पनि प्रश्रय दिइनँ । दलको आपसी मतभेदको जोडघटाउमा सरिक भइनँ । आफूलाई विकासप्रेमीको हैसियतले सबै फोरममा उभ्याएँ । तर, यो इस्युमा राजनीतीकरण भयो  । लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतीकरण गर्ने प्रस्टसँग देखियो । ४५ वर्षको करिअरमा मैले स्टन्ट गर्नेहरूलाई मेरो चरित्रको सर्टिफिकेट बुझाउनुपर्दैन ।