१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ८ बिहीबार ०८:४७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

परराष्ट्रमन्त्री श्रेष्ठ आइतबार बेइजिङ जाँदै, मंगलबार चिनियाँ विदेशमन्त्रीसँग वार्ता

Read Time : < 1 मिनेट
२०८० चैत ८ बिहीबार ०८:४७:००

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको साताव्यापी औपचारिक भ्रमणमा आइतबार जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका छन् । परराष्ट्र मन्त्रालय सम्हालेपछि उनले गर्न लागेको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

‘बोआओ फोरम फर एसिया सम्मेलनका लागि जाने तयारी भइरहेको थियो । तर, औपचारिक भ्रमणका लागि निमन्त्रणा आएको हुनाले र त्यसको महत्व बढी भएकाले परराष्ट्रमन्त्री बेइजिङ जाने तय भएको हो,’ प्रधानमन्त्री कार्यालयनिकट स्रोतले भन्यो । बिहीबार मन्त्रिपरिषद् बैठकले उनको भ्रमणबारे निर्णय गर्नेछ ।

श्रेष्ठ आइतबार अपराह्न काठमाडौंबाट प्रस्थान गर्ने र सोमबार बेइजिङ पुग्ने कार्यक्रम छ । भ्रमण दलमा उनीसँग परराष्ट्रको उत्तर–पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार अधिकृत र छलफलका क्रममा बुँदा टिप्ने प्रयोजनका लागि अधिकृत हुनेछन् भने बेइजिङबाट राजदूत विष्णुपुकार श्रेष्ठ, उपनियोग प्रमुख सुरेन्द्रकुमार यादव सहभागी हुनेछन् ।

उपप्रधानमन्त्री श्रेष्ठले मंगलबार चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले बेइजिङपछि चोङचिङ, सिचुआन र तिब्बतको भ्रमण गर्ने तयारी छ । तिब्बतको मौसम र उनको स्वास्थ्यले साथ दिएमा उपप्रधानमन्त्री श्रेष्ठ कैलाश मानसरोवरको दर्शनमा जानेछन् ।

यसअघि उपप्रधानमन्त्री बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागी हुने तयारी थियो । तर, त्यसमा प्रधानमन्त्रीका परराष्ट्र मामिालासम्बन्धी सल्लाहकार डा. रूपक सापकोटा सहभागी हुनेछन् । चीनले यसपटक १३ देखि १६ चैतमा बोआओ सम्मेलन आयोजना गरेको छ ।