१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ८ बिहीबार ०८:३१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिमेन्ट कम्पनीको सेयर कारोबार बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ८ बिहीबार ०८:३१:००

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएर पहिलोपटक बुक बिल्डिङ विधिमार्फत कारोबारमा आएको सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा आएपछि लगातार दुई दिन सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टको मूल्य बढेसँगै नेप्सेमा सूचीकृत अन्य तीन सिमेन्ट कम्पनीको सेयर कारोबार पनि अस्वाभाविक रूपमा बढेको छ । 

लगानीकर्ताका लागि निकै चासोको साथ हेरिएको सर्वोत्तमको सेयर सूचीकृत भएर कारोबारमा आएसँगै मंगलबार १० प्रतिशतले मूल्य बढेर सकारात्मक सर्किट लागेको थियो । पहिलो कारोबार पाँच सय ५६ रुपैयाँबाट सुरु भएर ६ सय ११ रुपैयाँमा बन्द हुन पुगेको थियो ।

बुधबार पनि कम्पनीको सेयर मूल्य ९ दशमलव ९९ (करिब १०) प्रतिशतले बढेर ६ सय ७२ रुपैयाँमा पुगेको छ । सर्वोत्तम सिमेन्टको सेयर बढ्दा सूचीकृत तीन कम्पनीको कारोबार बढ्नुलाई भने स्वाभाविक मान्न नसकिने एक ब्रोकरले बताए । सर्वोत्तमको सेयर मूल्य बढेपछि अन्य सिमेन्ट कम्पनीको सेयर पनि बढ्छ भन्ने मनोवैज्ञानिक कारणले यस्ता कम्पनीको सेयरमा चाप देखिएको हुन सक्ने उनको भनाइ छ ।

नेप्सेमा सोनापुर मिनरल्स एन्ड आयल, घोराही सिमेन्ट र  शिवम् सिमेन्ट सूचीकृत छन् । बु्धबार सोनापुर मिनरल्स एन्ड आयलको १९ करोड ५२ लाख रुपैयाँको सबैभन्दा धेरै कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १७ करोड ६० लाख र घोराही सिमेन्ट कम्पनीको पाँच करोड ९४ लाख रुपैैयाँको कारोबार भएको छ । तीनवटै कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । 

पछिल्लो तीन दिनमा सोनापुरको मूल्य करिब सात प्रतिशतले घटेको छ । घोराही सिमेन्टको सात दशमलव ७१ प्रतिशतले घटेको छ भने शिवम् सिमेन्टको ६ दशमलव ४७ प्रतिशतले घटेको छ । सोनापुरको सोमबार १३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको थियो भने मंगलबार १८ करोड ८९ लाख रुपैयाँको कारोबार भएको थियो । 

त्यस्तै, शिवम् सिमेन्टको सोमबार २० करोड ३० लाख रुपैयाँको कारोबार हुँदा मंगलबार २५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको थियो । घोराही सिमेन्टको सोमबार सात करोड रुपैयाँको कारोबार भएको थियो भने मंगलबार बढेर १० करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।सर्वोत्तम कम्पनीको कारोबारमा आउँदैमा अन्य सिमेन्ट कम्पनीको कारोबार बढ्नु संयोग मात्र भएको एक लगानीकर्ताले बताए ।