१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १२:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वर्ष २०८० मा सेयर बजार : नीतिगत लचकतापछि पनि देखिएन उत्साह

अस्वाभाविक उतारचढावले लगानीकर्ताको मनोबल बढेन, अर्थतन्त्रको सुधारसँगै वर्ष ०८१ सकारात्मक रहने आशा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:१३:oo

वर्ष ०८१ मा नेपालको सेयर बजार कस्तो रहला ? अर्थतन्त्रले क्रमशः सुधारको बाटो समातिरहेका वेला सेयर बजारप्रति लगानीकर्ताको आशा पनि उत्तिकै छ । तर, नयाँ वर्षमा पनि ०८० कै जस्तो उतारचढावपूर्ण हुने त होइन भन्ने चिन्ता पनि लगानीकर्तामा देखिएको छ । 

वर्ष ०८० मा नेपालको सेयर बजारमा उतारचढाव देखियो । ०८० वर्षको पहिलो कारोबार दिन ३ वैशाखमा नेप्से परिसूचक ०.१४ प्रतिशतले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ विन्दुमा झरेको थियो भने वर्षको अन्तिम कारोबार दिन बुधबार नेप्से परिसूचक ०.५२ प्रतिशतले घट्यो । उक्त दिन नेप्से परिसूचक १०.३० अकंले घटेर २०१६.३४ विन्दुमा झर्‍यो । 

अघिल्लो वर्ष ३० चैतमा नेप्से परिसूचक एक हजार नौ सय ३४ दशमलव ४७ विन्दुमा पुगेर बिट मारेको थियो भने यस वर्षको सेयर बजारले दुई हजार २५ दशमलव ३० विन्दुबाट बिट मारेको छ । यसबीचमा नेप्से सूचक ४ दशमलव ७ प्रतिशतले बढेको छ । यो एक वर्षको बीचमा नेप्से सूचक उच्चतम विन्दुमा ७ साउनको कारोबारमा दुई हजार दुई सय २७ दशमलव ७१ विन्दुमा पुगेको थियो । त्यसभन्दा यता नेप्से सूचक माथिल्लो विन्दुमा पुग्न सकेन । न्यूनतम विन्दु ९ जेठमा एक हजार आठ सय १८ दशमलव ३१ विन्दुसम्म झरेको थियो । 

पुँजी बजारका मुख्य तीन क्षेत्रहरू– लगानीकर्ता, ब्रोकर र नियामक निकायले यो वर्षलाई मिश्रित अवस्थाका रूपमा लिएका छन् । देशको आर्थिक अवस्था, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिजस्ता कारणले बजारलाई प्रभावित बनाइरह्यो । यो वर्षको अवधिमा ६ खर्ब १९ अर्ब ४१ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । बजार पुँजीकरण २८ खर्ब १८ अर्ब रुपैयाँबाट बढेर ३२ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । यसबीचमा बजार पुँजीकरण तीन खर्ब ९३ अर्ब ४० करोड रुपैयाँले बढेको छ ।  

कसिलो नीतिले असन्तुष्ट लगानीकर्ता 
सरकारले पुँजी बजारको क्षेत्रमा ल्याएको कसिलो नीतिले लगानीकर्ताले ठूलो मर्का खेप्नुपरेको थियो । विशेष गरी सेयर धितोकर्जामा लगाइएको सीमाले लगानीकर्ता सबैभन्दा बढी असन्तुष्टि रहेको थियो । एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट चार करोड रुपैयाँ र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ मात्र लिन पाउने राष्ट्र बैंकको नीतिले पुँजी बजार खुम्चिन पुगेको लगानीकर्ताको दाबी थियो ।

गत साउनबाट सरकारले कसिलो नीतिलाई केही सुधार गरेर चार करोडको सीमा कर्जा हटाएर १२ करोड रुपैयाँलाई मात्रै निरन्तरता दियो । त्यसपछि, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत १२ करोडको कर्जा सीमा बढाएर १५ र समग्रमा २० करोड रुपैयाँ पुर्‍याइएको छ । त्यस्तै, ठूलो सेयर धितो कर्जामा जोखिमभार १ सय ५० प्रतिशत कायम गरिएकोमा पहिलो त्रैमासिक समीक्षामार्फत १ सय २५ मा झारियो । अहिले पनि यही कायम छ ।

त्यस्तै, धितोपत्र बोर्डले म्युचुअल फन्डरूलाई निर्देशन जारी गर्दै आइपिओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म बेच्न नपाउने व्यवस्था गर्‍यो । यसले बजारमा आउन सक्ने आपूर्तिलाई नियन्त्रण गरेको लगानीकर्ता बताउँछन् । यो वर्ष करिब एक दर्जनभन्दा बढी प्रिमियम मूल्यमा सार्वजनिक सेयर निष्कासन भएका छन् । यसले समग्र बजारमा पुँजी बढे पनि विवादित बन्न पुगेको थियो । 

विशेष गरी कमजोर वित्तीय विवरण भएका कम्पनीलाई निष्कासनको अनुमति दिएर लगानीकर्तालाई ठगिरहेको आरोप लागेको छ । त्यसलाई सुधार गर्दै वर्तमान अर्थमन्त्रीले प्रिमियम आइपिओलाई  तत्काल अनुमति नदिने र अध्ययनपछि निर्णय लिने तयारी रहेका छन् ।

 सुधारको प्रयास 
सरकारले पुँजी बजारलाई सही दिशामा ल्याउनका लागि विभिन्न प्रयास पनि गरेको छ । पुँजी बजारमा नयाँ ब्रोकर थपेर लगानीकर्तालाई सहजीकरण गरेपछि अहिले नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालय ब्रोकर कमिसन घटाउने तयारीमा जुटेका छन् । करिब १० प्रतिशतले ब्रोकर कमिसन घटाउँदा लगानीकर्तालाई ठूलो उपलब्धि हुनेछ । त्यस्तै, निकै पेचिलो बनेको नयाँ स्टक एक्सचेन्जको विषयमा पनि सरकारले अध्ययन समिति बनाएको छ । राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको नेतृत्वमा अध्ययन समितिले प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ ।

 त्यस्तै, अर्थमन्त्रीमा वर्षमान पुनले सुरुवाती समयमै पुँजी बजारमा देखिएको समस्या समाधान र सुधारसहितको कार्ययोजना मागेका थिए र सोहीअनुसार नियामक निकायले पनि सुझावसहित अर्थ मन्त्रालयमा बुझाएका छन् । उनले प्राप्त सुझावका आधारमा नयाँ कदम चाल्न सकेको खण्डमा आगामी दिनमा पुँजी बजारको क्षेत्रमा नयाँ आयाम थपिने सेयर लगानीकर्ता देव गुरुङले बताए । उनले भने, ‘यो वर्ष उल्लेख्य केही सुधार नभए पनि आगामी वर्ष पुँजी बजारको क्षेत्र अहिलेकै अवस्थामा रहँदैन त्यसमा आर्थिक र राजनीतिक फ्याक्टरहरूले बोल्ड निर्णय लिनेछन् भन्ने लाग्छ ।’

यो वर्षको सेयर बजारलाई आशाभन्दा पनि बढी निराशा नै रहेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले बताए । यो वर्ष धेरै आशा नभए पनि आगामी दिनमा सकारात्मक हुन सक्ने आधार तयार भएका उनले बताए छन् । यो वर्षमा लगानीकर्तालाई आशा बढाउन सकिएको धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक अम्बिका गिरीले बताए । आगामी वर्ष अझ पुँजी बजारको हितमा रहेर काम गर्ने उनले बताए ।

सकारात्मक हुन सक्ने केही आधार तयार भएका छन् 
 धर्मराज सापकोटा, अध्यक्ष, स्टक ब्रोकर्स एसोसिएसन नेपाल

यो वर्षको सेयर बजारमा आशाभन्दा बढी निराशा देखियो । अहिले उत्साह नदेखिए पनि आगामी दिनमा सकारात्मक हुन सक्ने केही आधार तयार भएका छन् । अर्थतन्त्र सुधारोन्मुख छ, बजारलाई नीतिगत सुधार गरेर लैजाने बहस भएको हुँदा आशावादी छौँ ।

ad
ad