१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत ५ सोमबार १२:१६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीमा समर्थन जुटाउन एमाले-माओवादीको दौडधुप

Read Time : > 1 मिनेट
२०८० चैत ५ सोमबार १२:१६:००

बागमती प्रदेश सरकारमा समर्थन जुटाउन नयाँ गठबन्धनमा रहेका ठूला दल एमाले र माओवादी केन्द्र दौडधुपमा लागेका छन्। केन्द्रमा बदलिएको नयाँ सत्तासमीकरणअनुसार प्रदेशमा सजिलै सरकार बन्ने अवस्था नरहेपछि सत्ता घटकका प्रमुख दलहरू दौडधुपमा लागेका हुन्।

यसैबीच बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री एवं एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल र माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता एवं मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग छुट्टाछुट्टै भेटेका छन्।

दुवै नेताहरूले नेता गोसाईंलाई बागमती प्रदेश सरकारलाई समर्थन गर्न आग्रह गरेका छन्। बागमती प्रदेशमा नेमकिपाका तीन सांसद रहेका छन्। नयाँ गठबन्धनलाई नेमकिपाले मात्रै समर्थन गर्ने हो भने पनि सरकार बनाउन आवश्यक बहुमत पुग्ने अवस्था छ।

नेताद्वयले नेता गोसाईंलाई भक्तपुरस्थित उनकै निवासमा पुगेर भेट गरेका हुन्। उनीहरूले पछिल्लो बदलिएको राजनीतिक परिस्थितिबाट प्रदेशमा देखिएको असहजतालाई सबै दल मिलेर समाधान गर्नुपर्ने भएकाले नेपाकिपाको पनि सहयोग र समर्थन आवश्यक रहेको बताएका थिए।

भेटका क्रममा एमालेका नेता पौडेलले विगतमा नेमकिपाले संसदमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै नयाँ गठबन्धन सरकारलाई समर्थन गरेर अझ प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। 

यस्तै, माओवादी केन्द्रका नेता एवं मुख्यमन्त्री जम्कट्टेलले पनि भेटका क्रममा नेता गोसाईंलाई आफ्नो सरकारलाई निरन्तरता दिने वातावारण मिलाउन समर्थन गर्न आग्रह गरेका थिए । उनले प्रदेशमा प्रतिनिधित्व गर्ने संघीय लोकतान्त्रिक पक्षधर दलहरू मिलेर जानुपर्ने अवस्था आएकोले समर्थन गर्न आग्रह गरेका थिए।

नेता गोसाईंले एमाले नेता पौडेल र मुख्यमन्त्री जम्कट्टेललाई तत्काल नयाँ गठबन्धनबाट बन्ने सरकारलाई समर्थन गरिहाल्न सक्ने अवस्था नरहेको जवाफ दिएका छन् । उनले केन्द्रमा बनेको नयाँ गठबन्धनपछि पार्टी छलफलमै रहेकाले तत्काल केही भन्न सक्ने अवस्थामा नरहेको जवाफ दिएका थिए।

नयाँ पत्रिकासँग कुरा गर्दै नेता गोसाईंले आफूले नेता पौडेल र मुख्यमन्त्री जम्कट्टेलसँग विभिन्न पाँचवटा विषय राख्दै तत्कालै नयाँ गठबन्धन सरकारलाई समर्थन गर्नुपर्ने आधार प्रस्ट पार्न आग्रह गरेको बताए।

उनले विगतमा नेमकिपाले दिएका रचनात्मक सुझावलाई कहिल्यै नसुनेकाले अब के सुन्लान्, केन्द्रमा सत्तासमीकरण परिवर्तन हुनेबित्तिकै प्रदेशमा किन परिवर्तन गर्न खोजिएको, साढे ६ वर्ष सरकारमा बस्दा जनताको आवश्यकताअनुसार डेलिभरी दिन नसक्नेले अब दिने कुरामा कसरी विश्वास गर्ने, फेरि पनि केन्द्रमा सत्ता परिवर्तन हुँदैन भन्ने र प्रदेशमा त्यसको प्रभाव पर्दैन भन्ने ग्यारेन्टी के र नयाँ सरकार बनेपछि चाहिँ जनाताको पक्षमा काम हुन्छ भन्ने आधार के ? भन्ने जिज्ञासा राखेको बताए।

नेता गोसाईंले केन्द्रमा गठबन्धन परिवर्तन भएकै आधारमा प्रदेशमा समेत सरकार परिवर्तन हुने परिस्थिति बनेकाले संघीयतामाथि नै प्रश्न उठेको बताए । उनले प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूमा संघीयताको चरित्र नै नभएको दाबी गर्दै नयाँ गठबन्धनको सरकारलाई पनि समर्थन गर्न सक्ने आधार नभएको स्पष्ट पारे ।

‘उहाँहरू आफैँ निर्णय गर्न सक्ने अवस्थामा हुनुहुन्न । प्रदेशमा नेतृत्व गर्नुहुन्छ, तर केही गर्नुपर्दा केन्द्रको निर्णय कुरेर बस्नुहुन्छ । उहाँहरूबाट प्रदेशमा केही हुँदैन । हामीले पटकपटक सचेत गराउँदा पनि सुनुवाइ नहुँदा आजको अवस्था आएको हो,’ नेता गोसाईंले भने ।

उनले नेमकिपा विगतमा पनि प्रखर प्रतिपक्षको रूपमा प्रस्तुत भएकाले आगामी दिनमा सरकारको कामको गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताए ।