१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा एकीकृत समाजवादीले समर्थन फिर्ता लियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:o७:oo

नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री नियुक्तिका लागि नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ। सत्तागठबन्धनबीच मंगलबार भएको छलफलमा नयाँ समझदारी बनेपछि समाजवादीले समर्थन फिर्ता लिएको हो।

एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका छन्। गठबन्धनको बैठकमा एकीकृत समाजवादी समर्थन फिर्ता लिन सहमत भएको माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए।

समाजवादीले समर्थन फिर्ता लिएको पत्र बुझाएको उल्लेख गर्दै उनले अब सरकार गठनका लागि प्रदेश प्रमुख नयाँ प्रक्रियाबाट अगाडि बढ्ने विश्वास व्यक्त गरे।

गठबन्धनले मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीलाई अघि सार्ने भएको छ। मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका दुई सांसद लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी परेको थियो। पार्टीको आन्तरिक विवादका कारण नागरिक उन्मुक्तिबाट दुईजनाको दाबी परेको हो।

एउटै पार्टीबाट दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रिया रोकेर राखेका छन्। दुवै दाबीमा नागरिक उन्मुक्तिको संसदीय दलको नेताको हैसियतले दुईजनाले पत्र पठाएपछि प्रदेश प्रमुख अन्योलमा छन्। स्रोतका अनुसार एउटै दलबाट दुईजनाको दाबी परेकाले दुवै दाबी रद्द गरेर सरकार गठनको नयाँ प्रक्रिया सुरु हुने सम्भावना छ।

सत्तागठबन्धनले मुख्यमन्त्री नदिएको भन्दै एकीकृत समाजवादीले नेपाली कांग्रेससँग मिलेर मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई समर्थन गरेको थियो। कैलाशलाई भने एमाले र माओवादीको समर्थन छ।

आज नागरिक उन्मुक्तिसहित एमाले, माओवादी र एकीकृत समाजवादीबीच भएको छलफलमा सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्ने सहमति भएको छ। सुदूरपश्चिमबाट गठबन्धनमा संकट देखिएपछि केन्द्रमा शीर्ष नेताहरूबीच पनि आज छलफल भएको थियो।

ad
ad