१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
दीपेश पछाई लुम्बिनी
२०८० चैत ३ शनिबार १८:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीबाट १२५० जनाकाे धम्मयात्रा सुरु

Read Time : > 1 मिनेट
दीपेश पछाई, लुम्बिनी
२०८० चैत ३ शनिबार १८:२१:००

बुद्ध जन्मस्थल लुम्बिनीबाट १२५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरूको धम्मयात्रा शनिबारदेखि सुरु भएको छ। मायादेवी मन्दिरबाट सुरु भएको धम्मयात्रा दुई दिनसम्म हुनेछ।

श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई र सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईले मायादेवी मन्दिरपरिसरमा पुष्प अर्पण गरी यात्रा सुरुवात गराएका हुन्।

लुम्बिनीबाट सुरु भएको धम्मयात्रा शनिबार भैरहवामा र आइतबार नवलपरासीको रामग्राममा गरिनेछ।

लुम्बिनीमा धार्मिक गतिविधि बढ्दो रहेको अवस्थामा यात्राले बुद्ध शिक्षालाई प्रवर्द्धन गर्ने कोषका कोषाध्यक्ष भट्टराईले बताए। उनले धम्मयात्राले समुदाय तहसम्म बौद्ध शिक्षालाई अघि बढाउने बताए।

अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा फागुन १६ गतेदेखि १२५० जनालाई कूलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो। भिक्षुहरूको जीवनमा धम्मयात्रालाई निकै महत्त्वपूर्ण मानिने र समुदाय तहसम्म बौद्ध शिक्षालाई पुर्‍याउने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए।

अल्पकालीन भिक्षुहरूले पहेँलो चिवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ। सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशील पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ। भिक्षु बन्नका लागि भने २२७ वटा नियम पालना गर्नुपर्नेछ।

धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो। ‘धम्म’को अर्थ कुशल कर्म हो भने ‘यात्रा’को अर्थ लाग्नु हो। धम्मयात्राको अर्थ कुशल कर्मतिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु भन्ने हुन्छ। फागुन २६ गते अल्पकालीन भिक्षुहरूलाई प्रवज्या गराई पहेँलो चिवर प्रदान गरिएको थियो।

लुम्बिनीमा भएको १२५० जनाको प्रवज्याले बुद्धधर्मको शिक्षा र बौद्ध गतिविधिलाई जोडेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताइन्। उनले धम्मयात्राले बुद्ध जन्मस्थलको प्रचारप्रसारसँगै बौद्ध गतिविधिलाई प्रवर्द्धन गर्ने बताइन्। फागुन १६ गतेदेखि सुरु भएको प्रवज्या चैत ८ गते सकिनेछ।