१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत २ शुक्रबार १०:५२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

४ चैतमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिँदै

पर्यटन व्यवसायी उत्साहित, पोखरामा पर्यटनसँगै अन्य व्यवसायसमेत फस्टाउने विश्वास

Read Time : > 2 मिनेट
२०८० चैत २ शुक्रबार १०:५२:००

आगामी ४ चैतमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागेका हुन् । यसअघि २९ कात्तिक ०७८ मा बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघ सरकारलाई अनुरोध गर्ने निर्णय गर्दै पत्राचार गरेको थियो । त्यसपछि पोखरा महानगरपालिकाले समेत निर्णय गर्दै संघ सरकारलाई पत्राचार गरेको थियो ।

प्रदेश सरकार र पोखरा महानगरको औपचारिक पत्राचारपछि पनि संघ सरकारले कुनै निर्णय नगरेपछि आइतबार पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । राजधानी घोषणाका लागि गण्डकी सरकारको २३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णयसमेत गरेको थियो ।

२९ कात्तिक ०७८ मा तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पर्यटकीय राजधानी घोषणाका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक प्रक्रिया सुरु गर्ने भन्दै गत मंसिर दोस्रो साता गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा सरोकारवाला संघसंस्थाका प्रतिनिधि, पर्यटनविज्ञसहितको ११ सदस्यीय समिति गठन गरेको थियो ।

समितिलाई पोखराको नयाँ पर्यटकीय गन्तव्यको पहिचान, विकास तथा प्रचारप्रसार, पर्यटकीय राजधानीका रूपमा विकास गर्न आवश्यक पूर्वाधारको पहिचान गर्ने, पर्यटकीय राजधानीका रूपमा विकास गर्न सेवाको गुणात्मकता वृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्न आवश्यक मापदण्डको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्ने प्रक्रिया पहिचान गर्ने, संघ सरकारसँग समन्वय गर्ने, विद्यमान पर्यटकीय पूर्वाधारको विकास तथा विविधीकरण गरी पोखरालाई देशकै पर्यटकीय राजधानीका रूपमा विकास र घोषणा गर्न विस्तृत अध्ययन गरी ३० दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पेस गर्ने गरी कार्यक्षेत्र तोकिएको थियो ।

यसअघि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्नेसम्बन्धी संक्षिप्त अवधारणापत्रसमेत तयार गरेको मन्त्री दीपेन्द्रबहादुर थापाले जानकारी दिए । सोही अवधारणापत्रबमोजिम विस्तृत अध्ययन गर्न समिति गठन गरिएको र समितिको प्रतिवेदनपछि २३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको उनले बताए ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले राजधानी घोषणाका लागि संघ सरकारलाई औपचारिक पत्राचारसँगै प्रधानमन्त्रीलाई भेटेर निर्णयका लागि पटक–पटक आग्रह गर्दा ‘गरौँला–गरौँला’ भने पनि कुनै निर्णय नगरेपछि प्रदेश सरकार र महानगर मिलेर घोषणा गर्न लागिएको बताए । संघ सरकारको निर्णय कुर्दासम्म ढिलो हुने देखेर प्रदेश र महानगर मिलेर घोषणा गर्न लागेको उनले जानकारी दिए । पर्यटकीय गन्तव्यका लागि पोखरा आफंँ पनि उत्तम स्थान रहेको र राजधानी घोषणापछि आउने पर्यटकको संख्याका वृद्धि हुने तिम्सिनाको भनाइ छ । 

संघ सरकारले औपचारिक निर्णय नगरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । कार्यक्रममा नेपालस्थित भारत, चीनलगायत देशका राजदूत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई समेत आमन्त्रण गरिएको छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारीसँगै यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पोखरेली पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले यो घोषणाले पोखराको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ हुने बताए । जसबाट पोखरामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । पर्यटकको बसाइका लागि पोखराका होटेलहरूमा हजारदेखि एक लाख मूल्यसम्मका कोठा उपलब्ध रहेको, विभिन्न साहसिक खेलका लागि पोखराले आफ्नो छुट्टै परिचय बनाएको, अन्तर्राष्ट्रिय विमानस्थलसमेत निर्माण भइसकेको, आवश्यक बाटाघाटासँगै पूर्वाधार बनिसकेको श्रेष्ठले बताए ।

होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय राजधानी घोषणापछि पोखरा नआएकाले पोखरा कस्तो रहेछ भनी हेर्न आउने र पर्यटकीय राजधानी घुम्न एकपटक जानुपर्छ भन्ने सोचको विकास हुने बताए । जसकारण यस क्षेत्रमा आउने पर्यटकको संख्या दोब्बर हुने उनको दाबी छ । पोखरामा केन्द्र सरकारदेखि प्रदेश र स्थानीय तहसम्मले विभिन्न पूर्वाधारसँगै अन्य कामका लागि हालको भन्दा धेरै बजेट व्यवस्थापन गर्ने, आवश्यक पूर्वाधार बनाउनेलगायत अन्य विकास निर्माणका कामले समेत गति लिने भएकाले पर्यटनसँगै अन्य व्यवसायसमेत फस्टाउने उनले बताए ।