१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत २ शुक्रबार ०८:५२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजार सुधार्न नयाँ स्टक एक्सचेन्जदेखि नेप्से पुनर्संरचनासम्मका सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत २ शुक्रबार ०८:५२:००

नेपाल धितोपत्र बोर्डलाई पुँजी बजार सुधार गर्न दीर्घकालीन र अल्पकालीन योजनासहितका सुझाव बुझाइएको छ । बिहीबार सिंहदरबारमा ब्रोकर कम्पनी, नेपाल स्टक एक्सचेन्ज, सिडिएसी, लगानीकर्तालगायतका संघ–संस्थाबीच भएको छलफलमा सरोकारवालाले बुँदागत रूपमा सुझाव पेस गरेका हुन् । छलफलमा तत्कालै गर्नुपर्ने, तीन महिनाभित्र गर्नुपर्ने, एक वर्षमा गर्नुपर्ने र प्रक्रिया आरम्भ गर्नुपर्ने सुझाव छन् । 

नयाँ स्टक एक्सचेन्जको प्रक्रियालाई अघि बढाउनुपर्ने र अहिलेको नेप्सेलाई पुनर्संरचनामा गर्नुपर्ने सुझाव दिएका हुन् । नयाँ स्टक एक्सचेन्जलाई कुनै पनि बहाना नगरीकन अघि बढाउनुपर्ने गरी सुझाव दिएको न्यु ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए । व्यक्तिगत र संस्थागततर्फको कर्जा सीमा पूर्ण रूपमा हटाउनुपर्ने, मार्जिन जोखिमभारलाई १२५ बाट १०० मा झार्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई सेयर खरिद–बिक्रीमा लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, सेयर धितोमा गणना गरिने १८० दिनको औसतलाई घटाएर १२० दिन गर्नुपर्नेलगायतका १५ बुँदे सुझाव धितोपत्र बोर्डमार्फत अर्थ मन्त्रालयलाई दिइएको छ । 

छलफलमा प्रदेश सरकार र महानगरलाई ऋणपत्र जारी गर्न प्रोत्साहित गर्ने, दोस्रो बजारमा सरकारी ऋणपत्रको कारोबार गर्ने–गराउने, पुँजी बजार शिक्षण संस्था स्थापना तथा सञ्चालन गर्ने, वित्तीय साक्षरता बढाउन मल्टिमिडियाको उपयोग गर्ने सुझाव नेप्सेले दिएको छ । त्यस्तै, एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गर्ने, एकदेखि तीन वर्ष होल्ड गर्नेलाई ३ प्रतिशत र तीनदेखि पाँच वर्ष होल्ड गर्नेलाई १ प्रतिशत तथा पाँच वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई लाभकर नलाग्ने व्यवस्था गर्न सुझाव दिइएको छ । नेप्सेले अर्थ मन्त्रालय, धितोपत्र बोर्ड वा सिडिएससीले कार्यान्वयन गर्ने विषयलाई छुट्याएर सुझाव दिएको हो  ।

त्यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघहरूले सातवटै प्रदेशमा पुँजी बजारका लागि सचेतना कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने, नयाँ स्टक एक्सचेन्जलाई अघि बढाउनुपर्ने, इन्ड्रा डे यथाशीघ्र सञ्चालन गर्नुपर्ने, एनआएरएनहरूले पुँजी बजारमा लगानी गर्ने वातावरण तयार गर्न सुझाव दिएका छन् । यसअघि सांसद हरि ढकालले मंगलबार अर्थमन्त्री पुनलाई भेटेर सेयर बजार सुधारका लागि आवश्यक सुझाव दिएका थिए । धितोपत्र बोर्डले सरोकारवालाको छलफलबाट आएको सुझावलाई एकीकृत गरी आइतबार अर्थमन्त्रीलाई बुझाउने तयारी रहेको बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा. नवराज अधिकारीले बताए ।