१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:५७:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

ब्रेन डेथ भएका व्यक्तिको अंग प्रत्यारोपण नगन्य : ६ वर्षमा १३ जनामा मात्रै प्रत्यारोपण

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मात्रै ७४४ बिरामी मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग लिन पालो कुर्दै केहीबेरमै खरानी भएर जाने अंगबाट अर्को व्यक्तिको ज्यान जोगिन सक्छ भन्ने बुझाउन नसक्दा पनि मस्तिष्क मृत्यु भएकाको अंग नै पाइँदैन

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५७:oo

दुर्घटनाबाट हुने स्ट्रोक र हेड इन्जुरीका कारण मस्तिष्कले काम गर्न छाडेको, तर भेन्टिलेटरको सहायताले अन्य अंगले भने काम गरिरहेको अवस्थामा ती अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा यसरी मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न थालेको ६ वर्ष भइसक्दा पनि प्रत्यारोपण दर भने न्यून छ ।

ब्रेन डेथ भएका व्यक्तिबाट भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६ वर्षमा जम्मा १३ जनामा मात्रै अंग प्रत्यारोपण गरिएको छ । जसमध्ये १० जनामा मिर्गौला र तीनजनामा कलेजो प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण केन्द्रमा अहिले पनि ७४४ बिरामी मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग लिन पालो कुरिरहेका छन् । 

केन्द्रले २८ वैशाख ०७४ मा पहिलोपटक ब्रेन डेथ भएका व्यक्तिबाट लिएको मिर्गौला प्रत्यारोपण गरेको थियो । सुनसरीका ५१ वर्षीय पुरुष र काठमाडौंका १५ वर्षीय बालक गरी दुईजनामा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि  १२ कात्तिक ०७५ मा पोखराका ५६ वर्षीय र स्याङ्जाका ३० वर्षीय पुरुष गरी थप दुईजनामा मिर्गौला नै प्रत्यारोपण गरिएको थियो । त्यस्तै, ३ माघ ०७५ मा इलामका ४३ वर्षीय र ओखलढुंगाका ३१ वर्षीय पुरुषमा मिर्गाैला प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । २३ असार ०७९ मा मोरङका ५० वर्षीय पुरुष र काठमाडौंका २४ वर्षीया महिला तथा १४ फागुन ०७९ मा रुपन्देहीका ४३ वर्षीय र सिराहाका ३२ वर्षीय पुरुषमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । यसबाहेक ब्रेन डेथ भएका व्यक्तिबाट लिइएको कलेजो तीनजनामा प्रत्यारोपण गरिएको छ । केन्द्रका अनुसार ०७६, ०७८ र ०७९ मा कलेजो प्रत्यारोपण गरिएको हो । 

चिकित्सकहरूका अनुसार मिर्गौला, कलेजो, आँखालगायत अंग ब्रेन डेथ भएका व्यक्तिबाट केही निश्चित समयभित्र अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । यद्यपि, यो चुनौतीपूर्ण हुने डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । यसमाथि आममानिस, स्वास्थ्यकर्मी र चिकित्सकमा समेत ब्रेन डेथ भएका व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गर्ने विषयबारे जानकारी नहुँदा झनै गाह्रो रहेको उनको भनाइ छ । 

ब्रेन डेथ भएका एक व्यक्तिबाट मुटु, कलेजो, मिर्गौला, आँखा, फोक्सो, छाला, प्याङ्क्रियाज, सानो आन्द्रा गरी आठ अंग प्रत्यारोपण गर्न सकिन्छ

‘आकस्मिक मृत्युलगत्तै अर्को व्यक्तिलाई अंग दिन परिवारका सदस्य र आफन्त तयार हुँदैनन् । केहीबेरमै खरानी भएर जाने अंगबाट अर्को व्यक्तिको ज्यान जोगिन सक्छ भन्ने विषय बुझाउन नसक्दा मस्तिष्क मृत्यु भएकाबाट अंग प्रत्यारोपण सहज नबनेको हो,’ नेपालमा ब्रेन डेथबाट अंग प्रत्यारोपण सुरु गरेका डा. श्रेष्ठले भने ।

कलेजो प्रत्यारोपणजस्तो जटिल काममा ब्रेन डेथ भएका व्यक्तिबाट अंग पाए ७५ प्रतिशतभन्दा बढी जोखिम घट्ने कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रमेशसिंह भण्डारी बताउँछन् । ‘स्वस्थ दाताबाट समेत अंग लिएर प्रत्यारोपण गर्ने वातावरण सहज छैन । मस्तिष्क मृत्यु भएकाबाट कलेजो प्रत्यारोपण त सोचभन्दा बाहिरको विषय हो । प्रत्यारोपणका लागि अस्पताल आउने दातासँग रगत समूह नमिल्दा, अंग मेल नहुँदा प्रत्यारोपण गर्न सकिँदैन । यही कारण कतिपय बिरामीको उपचार भइरहेको छैन । मस्तिष्क मृत्यु भएकाबाट सहजै अंग पाएमा आधाभन्दा बढी बिरामीको सहजै उपचार हुन्थ्यो,’ उनले भने ।

ब्रेन डेथ भएकाको अंग कति समयमा प्रत्यारोपण गर्ने ?
चिकित्सकका अनुसार ब्रेन डेथ भएका व्यक्तिबाट विभिन्न अंग निकालेर छोटो समयमै प्रत्यारोपण गरिसक्नुपर्छ । जसमध्ये मुटु चारदेखि पाँच घण्टाभित्र, फोक्सो चारदेखि आठ घण्टाभित्र, कलेजो र प्यान्क्रियाज आठदेखि १२ घण्टाभित्र, मिर्गौला २० देखि ३६ घन्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ ।

ब्रेन डेथ भएका एक व्यक्तिबाट मुटु, कलेजो, मिर्गौलालगायत आठवटा अंग अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । छोटो अवधिमा परिवारका सदस्यको मन्जुरी लिएर अर्को व्यक्तिमा प्रत्यारोपण गरिसक्नुपर्ने भएकाले निकै समस्या हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । नेपालमा ब्रेन डेथ भएकाहरूको अंगदानका लागि स्वास्थ्य सेवा विभागलगायतको संलग्नतामा समन्वय समितिले काम गर्दै आएको छ । तर, मानव अंग प्रत्यारोपण केन्द्रबाहेक अन्य अस्पतालले अझैसम्म ब्रेन डेथ भएकाबाट प्रत्यारोपण सुरु गर्न सकेका छैनन् । 

अंग फेलको छैन यकिन तथ्यांक 
नसर्ने रोगको दर बढेसँगै अंग फेल हुने समस्या विश्वव्यापी रूपमा बढेको अस्पताल पुग्ने बिरामीको तथ्यांकले देखाए पनि यकिन तथ्यांक भने उपलब्ध छैन । नेपालमा बर्सेनि सरदर तीन हजार व्यक्तिको मिर्गौला फेल हुने अनुमान गरिए पनि अन्य अंग फेलको यकिन तथ्यांक छैन । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठका अनुसार नेपालको कुल जनसंख्याको १० प्रतिशत अर्थात् वार्षिक करिब ३० लाखको मिर्गौलामा कुनै न कुनै समस्या देखिन्छ । उनले भने, ‘तीन लाखमा यो समस्या अझै ठूलो देखिन्छ । ३० हजारको एउटा मिर्गौला बिग्रे पनि अर्कोले काम गर्छ । तर, वार्षिक तीन हजार बिरामीको त मिर्गौला अन्तिम अवस्थामा पुग्छ । प्रत्यारोपण नै गर्नुपर्छ ।’ डा. श्रेष्ठका अनुसार पछिल्लो मेडिकल मान्यताअनुसार कुल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या देखिन्छ । त्यसको १० प्रतिशतमा अझ ठूलो समस्या देखिन्छ । त्यसको पनि १० प्रतिशतमा एउटा मिर्गौला बिग्रिन्छ र त्यसलाई झिकेर फाले पनि अर्को मिर्गौलाले काम गर्छ । त्यसको पनि १० प्रतिशत जनसंख्या भने मिर्गौला नै प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुग्छन् ।

यसबाहेक नेपालमा वार्षिक कयौँ व्यक्ति कलेजोलगायतका अंग फेल भएर पनि ज्यान गुमाइरहेका छन् । यसको यकिन तथ्यांक संकलन गर्न नसकिएको बताउँछन्, एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका निर्देशक कपिल तिमल्सिना । उनले भने, ‘अंग फेल भनेरै छुट्टै तथ्यांक संकलन गरिएको छैन । अंग फेल हुने खालका रोगहरूको मोरबिडिटी र मोरालिटी रेट मात्रै सिस्टममा अपडेट हुने भएकाले यकिन साथ कतिजनामा अंग फेल भयो भन्न सकिन्न ।’ त्यस्तै, नसर्ने रोगको दर बढिरहेकाले यसको रेकर्ड राख्न थालिएको, तर देशभरिको तथ्यांक उपलब्ध नभएको उनले बताए ।  

मस्तिष्क मृत्यु भएकाबाट अंग प्रत्यारोपण एसियामै न्यून 
मस्तिष्क मृत्युबाट अंग प्रत्यारोपण एसियामै न्यून छ । इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजीले विश्वका एक सय ५५ देशमा भइरहेको प्रत्यारोपणको दर अध्ययनका आधारमा गरेको सर्वेक्षणमा एसियामा एकदमै कम प्रत्यारोपण भएको देखाएको हो । 

मिर्गाैलालगायत अंग फेल हुने दर एसियामा बढी रहेको, तर प्रत्यारोपणको दर सबैभन्दा कम रहेको अध्ययनले देखाएको छ । दक्षिण एसियाली देशमा अधिकांश बिरामी डायलाइसिस र अन्य तात्कालीक उपचार पद्धतिमा बढी निर्भर रहेकाले समेत प्रत्यारोपण न्यून रहेको पाइएको छ ।

सन् २०१८ देखि २०२१ सम्म विश्वभरको तथ्यांकअनुसार प्रति एक मिलियन (१० लाख)मा ब्रेन डेथ भएका १५.१ जनाबाट मिर्गाैला लिने गरिएको छ । सबैभन्दा धेरै मिर्गौला प्रत्यारोपण दक्षिण कोरियामा भइरहेको छ । दक्षिण कोरियामा प्रति १० लाख जनसंख्यामा ४४ जनामा मिर्गौला प्रत्यारोपण र जसमध्ये ३७ प्रतिशतभन्दा बढी ब्रेन डेथ भएका व्यक्तिबाट  भइरहेको छ । यसबाहेक पूर्वी एसियाका चीन, ताइवान, हङकङ, इरान, थाइल्यान्डलगायत देशमा अंग प्रत्यारोपण दर राम्रो रहेको अध्ययनले देखाएको छ । तर, अन्य देशमा भने प्रत्यारोपण दर न्यून छ । 

पछिल्ला वर्षमा ब्रेन डेथबाट अंग प्रत्यारोपण गराउने देशको संख्या बढ्दै गएको इन्टरनेसनल रजिस्ट्री अफ अग्र्यान डोनेसन एन्ड ट्रान्सप्लान्टको तथ्यांकले देखाएको छ । एसियाली मुलुकले सन् १९६० बाटै मस्तिष्क मृत्युबाट अंग प्रत्यारोपण सुरु गरेका हुन् । सन् १९७० मा सिंगापुर र त्यसपछि मलेसिया, भियतनाम, हङकङ, जापान, दक्षिण कोरियाले प्रत्यारोपण सुरु गरेका हुन् । ताइवानले सन् १९८५ मा ‘प्रत्यारोपण एक्ट’समेत बनाएको थियो ।

के हो ब्रेन डेथ ?
ब्रेन डेथ अर्थात् मस्तिष्क मृत्यु भनेको चिकित्सकीय र कानुनी दुवै कोणबाट पूर्ण मृत्यु नै हो । तर, यस्ता व्यक्तिका अंगहरू निश्चित समयमा अन्य बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ । तर, आममानिसमा मुटु, मिर्गौला, आँखा, फोक्सो आदिले काम गरिरहेको भ्रम हुने गर्छ, जसकारण उनीहरू सजिलै अंगदान गर्न सहमत हुँदैनन् । यस्तो अवस्थामा मेडिकल टिमले छोटो समयमा सम्बन्धित व्यक्तिलाई विश्वस्त बनाएर अंग प्रत्यारोपणका लागि तयारी गरिसक्नुपर्ने हुन्छ । जसमा सम्बन्धित अस्पतालको ठूलो भूमिका रहन्छ ।

 अध्ययन भन्छ– नेपालमा मिर्गाैलालगायत अंग फेल हुने दर बढी, तर प्रत्यारोपण दर न्यून
नेपालमा ब्रेन डेथबाट अंग प्रत्यारोपण सुरु गरेका डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्–
मिर्गौला, कलेजो, आँखालगायत अंग ब्रेन डेथ भएका व्यक्तिबाट केही निश्चित समयभित्र अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर, आकस्मिक मृत्युलगत्तै अर्को व्यक्तिलाई अंग दिन परिवारका सदस्य र आफन्त तयार हुँदैनन् । केहीबेरमै खरानी भएर जाने अंगबाट अर्को व्यक्तिको ज्यान जोगिन सक्छ भन्ने विषय बुझाउन नसक्दा मस्तिष्क मृत्यु भएकाबाट अंग प्रत्यारोपण सहज नबनेको हो । आममानिसमा मात्र होइन, स्वास्थ्यकर्मी र चिकित्सकमा समेत ब्रेन डेथ भएका व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गर्ने विषयबारे जानकारी नहुँदा अपेक्षाकृत हुन सकेको छैन ।

कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रमेशसिंह भण्डारी भन्छन्– स्वस्थ दाताबाट समेत अंग लिएर प्रत्यारोपण गर्ने वातावरण सहज छैन । मस्तिष्क मृत्यु भएकाबाट कलेजो प्रत्यारोपण त सोचभन्दा बाहिरको विषय हो । प्रत्यारोपणका लागि अस्पताल आउने दातासँग रगत समूह नमिल्दा, अंग मेल नहुँदा प्रत्यारोपण गर्न सकिँदैन । यही कारण कतिपय बिरामीको उपचार भइरहेको छैन । मस्तिष्क मृत्यु भएकाबाट सहजै अंग पाएमा आधाभन्दा बढी बिरामीको सहजै उपचार हुन्थ्यो ।

ad
ad