१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:३३:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

नयाँ कम्युनिस्ट स्कुलको आवश्यकता

दलाल पुँजीवाद र भूमण्डलीकृत पुँजीवादको विकल्पका रूपमा समाजवादलाई सार्थक बनाउने हो भने नयाँ कम्युनिस्ट स्कुल अपरिहार्य छ

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:३३:oo

एकीकृत जनक्रान्तिको स्कुललाई नयाँ कम्युनिस्ट स्कुल भन्न सकिन्छ । नेपालको पुरानो कम्युनिस्ट स्कुलको उत्कर्ष माओवादी जनयुद्ध र ०७४ को बहुमतको सरकार हो । जब ती दुवै उत्कर्षले कम्युनिस्ट लक्ष्यकेन्द्रित परिणाम दिन सकेनन्, तब निराशा पैदा भयो र नयाँ कम्युनिस्ट स्कुलको जरुरी भयो । जसले कम्युनिस्टप्रिय जनमतको रक्षा गर्दै नयाँ परिणाम दिने सफलता प्राप्त गरोस् । नेकपाले संस्थागत रूपमा ‘कम्युनिस्ट पार्टी कोही पनि दुस्मन होइनन्’ भनेर गरेको निर्णयलाई नयाँ स्कुलको प्रतीकात्मक सन्देश मान्न सकिन्छ । त्यसैले, पुरानो र नयाँ कम्युनिस्ट स्कुलबारे यहाँ संक्षिप्त चर्चा गरौँ ।

पुरानो कम्युनिस्ट स्कुल :  पुरानो कम्युनिस्ट स्कुलको अन्तर्राष्ट्रिय र राष्ट्रिय सन्दर्भ हेर्दा अन्तर्राष्ट्रिय रूपमा पुँजीवादको विकल्प कम्युनिस्ट समाजवाद श्रेष्ठ छ भनी पुष्टि गर्नु ठूलो उपलब्धि र सकारात्मक पक्ष हो भने समाजवादको रक्षा गर्न नसक्नु सीमा र अपूर्णता हो । नेपालका सन्दर्भमा कम्युनिस्ट जनमत विस्तार गर्नु मुख्य उपलब्धि र सकारात्मक पक्ष हो भने लक्ष्य प्राप्त गर्न नसक्नु सीमा र अपूर्णता हो । त्यसैले अबको नयाँ कम्युनिस्ट स्कुलले विगतको त्यो सीमा तथा अपूर्णतालाई सम्बोधन गर्न सक्नुपर्छ ।

नयाँ कम्युनिस्ट स्कुल :  एकीकृत जनक्रान्तिको नयाँ कम्युनिस्ट स्कुलका निम्न सकारात्मक विशेषता र नकारात्मक चुनौती रहेका छन् :

सकारात्मक विशेषता
१. एकीकृत विचार र नवीनता :  नयाँ स्कुलको पहिलो सकारात्मक विशेषता भनेको एकीकृत विचार र नवीनता हो । यसको सरल मान्यता इतिहासको शिक्षासहित समाजवादीहरूलाई एकीकृत गर्दै समाजवादको लक्ष्य हासिल गर्नु हो र त्यसका लागि समाजको गति र मानिसको विशेषताअनुरूप नवीनतामा जोड दिनु हो । व्यावहारिक रूपमा अति विकेन्द्रित नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नु हो भने सिद्धान्ततः माक्र्सवाद र संशोधनवादको ऐतिहासिक भाष्यलाई पुँजीवादविरुद्ध एकीकृत गर्नु हो । एकीकृत विचार र नवीनतालाई दार्शनिक रूपमा अस्तित्व र गतिको अन्तरसम्बन्धमा हेर्न सकिन्छ ।

विगतमा एकातिर सत्तालाई नै साध्य भनेर बुझ्ने र बुझाउने गल्ती भयो भने अर्कातिर सत्ता नपाउँदाको कम्युनिस्ट पाइसकेपछि लक्ष्यबाट च्युत हुने समस्या देखियो । त्यसैले नयाँ एकीकृत जनक्रान्तिको स्कुलले साधन र साध्यको वैज्ञानिक सम्बन्धलाई सही ढंगले प्रशिक्षित गर्नु जरुरी छ ।
 

२. रचनात्मकता, सिर्जनशीलता र गतिशीलता : गति सर्वव्यापी र सार्वभौमिक कुरा हो भने रचनात्मकता र सिर्जनशीलता मानिस मात्रको विशेषता हो । त्यसैले, कम्युनिस्ट समाजवादीले पुँजीवादसँगको प्रतिस्पर्धा तथा संघर्षमा सामान्यतः मानव समाज, विशेषतः श्रमिक जनताको रचनात्मकता र सिर्जनशीलताको केन्द्रीकरणसहित आफ्नो गतिशीलताद्वारा मात्र विजय हासिल गर्न सम्भव छ । पुँजीवाद अन्त्यका लागि आवश्यक ‘आलोचना’ र ‘अनुशासन’ले मानिसको रचनात्मकता र सिर्जनशीलता नै कुण्ठित पारेर औपचारिक बनाओस् । दार्शनिक रूपमा ध्वंस र निमार्णसम्बन्धी यान्त्रिकता र जडता तोड्न आवश्यक छ । साथै ध्वंसात्मक पुँजीवादको विकल्प दिन अपरिहार्य छ । वस्तुतः पुँजीवाद समाजको ध्वंस (समाजको बहुसंख्यक हिस्साको शोषण, असमानता र अशान्ति) मा आधारित छ । त्यसैले, एकीकृत जनक्रान्तिको नयाँ कम्युनिस्ट स्कुलले रचनात्मकता, सिर्जनशीलता र गतिशीलतामा जोड दिन्छ ।

३. पुरानो ज्ञानको जग र नयाँ ज्ञानको प्रकाश :  सामाजिक क्रान्तिको विज्ञान मालेमावादको शास्त्रीय तथा ऐतिहासिक ज्ञानविना मानिस वैज्ञानिक समाजवाद–साम्यवादप्रति विश्वस्त र आशावादी हुन सक्दैन भने ज्ञान–व्यवहारको चक्रद्वारा निरन्तर नयाँ ज्ञान उत्पादन गर्न सकिएन भने लक्ष्य निर्देशित क्रियाशीलता, गतिशीलता र सफलता हासिल गर्न सम्भव हँुदैन । बलियो जगविनाको नयाँ ज्ञानको अतिले लक्ष्यविहीन विचलनतिर लान्छ भने नयाँ ज्ञानको अभावमा पुरानो ज्ञानको अतिले नयाँ अन्तरविरोध तथा समस्याको हल गरेर लक्ष्य निर्देशित परिणाम दिन असमर्थ बनाउँछ । दार्शनिक रूपमा यो पुरानो र नयाँको अन्तर्सम्बन्धमा हेर्नुपर्छ । त्यसैले, ‘एकीकृत जनक्रान्तिको विचार’ पुरानो ज्ञानको जग र नयाँ ज्ञानको प्रकाशको एकीकृत अभिव्यक्ति हो, यो एक्काइसौँ शताब्दीको उन्नत मानव चेतना हो । जो नयाँ कम्युनिस्ट स्कुलको विशेषता हो । 

४. एकीकृत मानवको निर्माण र नयाँ स्कुल :  पुँजीवादले विज्ञान–प्रविधमाथि अधिकार जमाएर त्यसको प्रयोगद्वारा एलन मस्क वा यस्तै अन्यमार्फत निर्माण गरिने र हुने नयाँ यन्त्र तथा उन्नत मानव आजको भन्दा कैयौँ गुणा शक्तिशाली र बुद्धिमान् हुने प्रक्षेपण र विश्लेषण भइरहेको छ । ती मानिसले निश्चित तथा समाजको अल्पसंख्यक मानवको प्रतिनिधित्व गर्नेछन् र बाँकी मानवको भविष्य अनिश्चित हुनेछ । ठोस रूपमा उनीहरू बाँकी मानिसलाई आफूजस्तै बनाउन तयार र सक्षम हुनेछैनन् । पुँजीवादको विकल्पमा समाजवादको नेतृत्व पनि गर्नेछैनन् । त्यसैले समाजको बहुसंख्यक मानिसका तर्फबाट आजैदेखि सम्भावित चुनौतीको सामना गर्ने गरी एकीकृत मानवको अवधारणा अगाडि बढाउन जरुरी छ । 

एकीकृत मानव भनेको विचारमा असल विद्यार्थी हुनु हो, जसको विशेषता निरन्तर सिक्नु, अध्ययन–अनुसन्धान र आविष्कार गर्नु हो । एक सापेक्षिक पूर्ण मानिसको गुरु तथा शिक्षकीय विशेषता भनेको अस्थायी र विशिष्ट हो भने स्थायी र सामान्य विशेषता भनेको त विद्यार्थी हुनु नै हो । राजनीतिमा कुशल नेता हुनु हो, जसको विशेषता प्रश्न गर्नु, उत्तर दिनु र नेतृत्व गर्नु हो ।

राज्यको अस्तित्व रहेसम्म राजनीतिमा सबैले श्रेष्ठता हासिल नगरी राज्यद्वारा सिर्जित समस्याको समाधान हुनेछैन । व्यवहारमा अथक श्रमिक र सक्षम सिपाही हुनु हो । जसको विशेषता मुख्यतः भौतिक र मानसिक श्रममा निरन्तर भाग लिनु हो भने सैन्य चेत र गुणसहितको विजयी सेना बन्नु हो । यति विशेषतासहितको एकीकृत मानव बन्न र बनाउन अहिलेदेखि नै सचेत योजनाबद्धता आवश्यक छ । नयाँ एकीकृत जनक्रान्तिको स्कुलले यस्ता नयाँ एकीकृत मानव निर्माण गर्ने विशेषता बोकेको छ, जो भविष्यको नयाँ मानव समाजको हिस्सा हुन् ।

५. साधन र साध्यको वैज्ञानिक सम्बन्ध :  कम्युनिस्टका लागि राजनीतिक सत्ता साधन हो भने साध्य भनेको त्यो सत्ताको अन्त्य हो । तर, एकातिर विगतमा सत्तालाई नै साध्य भनेर बुझ्ने र बुझाउने गल्ती भयो भने अर्कातिर सत्ता नपाउँदाको कम्युनिस्ट पाइसकेपछि लक्ष्यबाट च्युत हुने समस्या देखियो । त्यसैले नयाँ एकीकृत जनक्रान्तिको स्कुलको विशेषता साधन र साध्यको वैज्ञानिक सम्बन्धलाई सही ढंगले प्रशिक्षित गर्नु रहेको छ । जसले विगतका ती गल्ती र समस्यालाई समाधान गर्नेछ ।

नकारात्मक चुनौती :
१. पुरानो बुझाइको जडता : आजको विज्ञान–प्रविधि र समाजको गतिसँगै मानिसको चेतना र व्यवहारमा गतिशीलता हुन आवश्यक हुन्छ । जुन गतिलाई पछ्याउन मानिसले सचेत पहल गर्नुपर्छ । यो सन्दर्भमा पुँजीवाद गतिशील भएर नै अस्तित्ववान् भएको तथ्यलाई मध्यनजर गर्दै कम्युनिस्ट पुरानो स्कुलको बुझाइको जडता तोड्न आवश्यक छ । जो नयाँ स्कुुलका लागि गम्भीर नकारात्मक चुनौती हो ।

२. एकीकृत बुझाइ, सक्रियता र शक्तिको अभाव :  कुनै पनि वस्तु, घटना र समस्याबारे समान वा एकरूपताको बुझाइसहितको सक्रियताले नै एकीकृत शक्ति पैदा हुन्छ र परिणाम दिन्छ । यसको एक असल उदाहरण माओवादी जनयुद्ध हो । तर, जनयुद्धले धक्का खाएपछि र बहुमतको कम्युनिस्ट सरकार असफल भएपछि अहिले मानिस आ–आफ्नो आनुभाविक ज्ञान तथा सत्य लिएर एकीकृत शक्तिको अभावमा वस्तुतः विसर्जनको बाटोमा हिँडिरहेका छन् । त्यसैले, उनीहरूले एकीकृत सत्यको बाटो हुँदै अवधारणागत ज्ञान (समस्याको पहिचान र समाधान) सहित अघि बढ्न अति आवश्यक छ । खासगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नयाँ संश्लेषणले अवधारणागत ज्ञान तथा एकीकृत सत्यको खोजमा सकारात्मक योगदान गरेका छन् । यसबारेको एकरूपताको बुझाइ सक्रियता र शक्तिको अभाव नयाँ स्कुलको नकारात्मक चुनौती हो ।

३. नयाँ पुस्ता र कम्युनिस्ट :  राजनीति र कम्युनिस्ट विचारप्रति नयाँ पुस्ताको विकर्षण नयाँ कम्युनिस्ट स्कुुलको अर्को नकारात्मक चुनौती हो । व्यावहारिक जीवनका आवश्यकता, पुरानो कम्युनिस्ट स्कुलको सीमा र भूमण्डलीकृत पुँजीवादको मन्दविषबारेको अनभिज्ञताले कसरी नयाँ पुस्तालाई राजनीति र कम्युनिस्टबाट अलग्याउँदै लगेको छ भन्ने कुराको खोज गरेर नयाँ विकल्प दिन सकिएन भने भोलि पश्चत्ताप गरेर केही हुनेछैन । त्यसैले, नयाँ पुस्ताको अलगाव नयाँ स्कुलको नकारात्मक चुनौती हो । 

आजको विश्वमा पुँजीवाद संकटग्रस्त र असफलताउन्मुख छ भने समाजवाद पनि रक्षात्मक अवस्थामा पुगेको छ । आज पनि नेपाल बलियो कम्युनिस्ट जनमत भएको देश हो । यदि इतिहासको शिक्षासहित नयाँ कम्युनिस्ट स्कुल खडा गर्न सकिएन भने नेपालमा पनि त्यही हुनेछ, जो गएको शताब्दीमा अन्य कम्युनिस्ट देशमा भयो । त्यसैले, दलाल पुँजीवाद र भूमण्डलीकृत पुँजीवादको विकल्पका रूपमा समाजवादलाई सार्थक बनाउने हो भने नयाँ कम्युनिस्ट स्कुल अपरिहार्य छ भन्ने मान्यतामा एकीकृत जनक्रान्तिको स्कुल खडा भएको हो । जो नेकपाको मात्र नभएर सबै कम्युनिस्टहरूको साझा उपलब्धि हो । जसलाई एकीकृत सिद्धान्त, विचार, कार्यदिशा, क्रान्ति, कार्यक्रम र स्कुलका रूपमा बुझ्न र बुझाउन सकिन्छ । जसको व्यावहारिक अभिव्यक्ति समाजवादी मोर्चा हो भन्न सकिन्छ । 
(सी नेकपाका स्थायी समिति सदस्य हुन्) 

ad
ad