१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण २९ मंगलबार १०:५४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट : एपिएफले कोशीलाई चार विकेटले हरायो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण २९ मंगलबार १०:५४:००

नेपाल एपिएफ क्लबले कोशी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार एपिएफले आयोजक कोशीलाई चार विकेटले पराजित गर्‍यो । पहिलो ब्याटिङ गरेको कोशीले २० ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको थियो ।प्रत्युत्तरमा एपिएफले १८.५ ओभरमा ६ विकेटको क्षतिमा एक सय २० रनको योगफल खडा गर्‍यो । समूह ‘ए’ मा एपिएफले दुई खेलमा समान एक जित र हारको सामना गर्दै दुई अंक जोडेको छ । कोशीले तीन खेलमा दुई हार र एक जित निकालेको छ । कोशीले दुई अंक बटुलेको छ । 

मध्यक्रमले सम्हालेको इनिङ्स
सहज लक्ष्य पछ्याएको एपिएफको सुरुवात गतिलो भएन । इनिङ्सको ३.१ ओभरमा एपिएफले दुई विकेट गुमाएर १७ रन जोडेको थियो । ओपनर सुमित महर्जन पाँच रन तथा आयुशमान बम सुन्य रनमा आउट भएका थिए । त्यसपछि प्रनित थापामगर र पुरन विकले तेस्रो विकेटक लागि १९ रनको साझेदारी गरे ।

प्रनितले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरी २० रन बनाए । पुरनले हिमांशु दत्त र अरुन ऐरीसँग चौथो र पाँचौँ विकेटका लागि गतिलो साझेदारी गर्दै टोलीलाई जिततर्फ अग्रसर गराए । इनिङ्सका १६.३ ओभरमा पुरन आउट भए । उनले ३९ बलमा तीन चौकाको सहयोगमा ३६ रन बनाए । हिमांशुले २१ बलमा ११ रन बनाए । अरुन ऐरीले १५ रन तथा अमर राउटेलाले १० रन बटुले । 

यसअघि टस जितेर ब्याटिङ गरेको कोशीका लागि विकेट–किपर सोनु अन्सारीले ३१ बलमा दुई छक्का र तीन चौका प्रहार गरी ४३ रनको योगदान दिए । अंकित सुवेदीले ३२ रन र श्रवण यादवले १९ रनको योगदान दिए । एपिएफका प्लेयर अफ दी म्याच भुवन कार्कीले १० रन खर्चेर दुई विकेट लिए । यज्ञमान कुमाल, अमर रौटेला र इर्साद अहमद समान २ विकेट लिए ।

 गण्डकीका कप्तान विपिनलाई कारबाही
गण्डकीका कप्तान विपिन खत्री कारबाहीमा परेका छन् । पुलिससँग भएको आइतबार खेलमा पुलिसका खेलाडी शंकर रानाको स्टम्पिङको अपिल गरे पछि अम्पायरले आउट दिएनन् । खेलपछि विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको प्रतिक्रिया दिएका थिए । आयोजकले विपिन आइसिसीको कोड अफ कन्डकट २ अनुसार कारबाही गरेको हो । अम्पायर मोहमद सफिकले उनलाई म्याच फीको सय प्रतिशत र ३ अंक दिएका छन् । 

 सुदूरपश्चिमको तेस्रो जित
दिनको पहिलो खेलमा सुदूरपश्चिम समूह ‘बी’को चौथो स्थानमा रहेको बागमतीलाई दुई विकेटले हरायो । जितसँगै सुदूरपश्चिमले चार खेलमा तीन जित निकाल्यो । सुदूरपश्चिम एक खेलमा पराजित भएको छ । ६ अंकका साथ सुदूरपश्चिम दोस्रोे स्थानमा छ ।

बागमतीले दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बागमतीले बाँकी दुई खेल जित हात पारे अन्तिम चारको स्थान बनाउन सक्दैन । सुदूरपश्चिम सेमिफानमा नजिक पुगेको छ । पुलिसले बाँकी रहेको दुई खेलमा लुम्बिनी र बागमतीलाई विशालअन्तरमा जित निकाले मात्र सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिनेछ । 

टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा सबै विकेट गुमाई एक सय १७ रनको योगफल बनायो । बागमतीका लागि शुभ कन्साकारले ३४ बलमा तीन छक्का र ४ चौका प्रहार गरी ४१ रनको योगदान दिए । रविन जोशीले ३१ रन बनाए । सुदूरपश्चिमका प्लेयर अफ द म्याच नारायण जोशीले २ ओभरमा ९ रन दिएर ३ विकेट लिए ।

लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.२ ओभरमा ८ विकेट गुमाएर जित निकाल्यो । सुदूरपश्चिमका नरेन भट्टले ३० रन र दिपक वोहोराले २२ रन बटुले । वागमतीका गौतम केसीले ३ विकेट लिँदा विपिन आचार्य र इशान पाण्डेले २–२ विकेट लिए । मंगलबारको पहिलो खेल घरेलु टोली कोशी र आर्मीबीच हुनेछ । दोस्रो खेलमा वागमतीले गण्डकीको सामना गर्नेछ ।