१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण २८ सोमबार १५:५३:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसी राष्ट्रपतीय निर्वाचन : पुटिनसँगको प्रतिस्पर्धामा नयाँ अनुहार

Read Time : > 1 मिनेट
२०८० फाल्गुण २८ सोमबार १५:५३:००

युक्रेनमा रुसको चुनावी अभियानका कारण उत्पन्न उथलपुथलका बाबजुद रुसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदै छ। निर्वाचनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप ६ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शंका छैन। 

चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना डन्टसोभाले आफ्नो उम्मेदवारीको समर्थनमा दशौँ हजार हस्ताक्षर संकलन गर्दै उम्मेदवारीको घोषणा गरेका थिए, तर उनीहरूको उम्मेदवारी अस्वीकृत भएको छ। 

पुटिनबाहेक राष्ट्रवादी कन्जरभेटिभ लिओनिद स्लट्स्की, कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ र प्रसिद्ध व्यापारी भ्लादिस्लाभ दाभानकोभ गरी तीनजना पुटिनसँगको प्रतिस्पर्धामा छन्। तीनैजनाले युक्रेनविरुद्ध भइरहेको रुसको आक्रमणलाई समर्थन गरेका छन्।

क्रेमलिनका आलोचकले यी तीन उम्मेदवारको भूमिका विपक्षीलाई दमन गरी पाखा लगाइएको वा देशभित्र उनीहरूको राजनीतिक भूमिका नै अन्त्य गरिएको समयमा मतदानमा बहुलवादी रङ भर्ने र पुटिनविरोधी आलोचनालाई कमजोर पार्ने रहेको औँल्याएका छन्।

स्वतन्त्र पर्यवेक्षकहरूले पनि मतदानमा धाँधली, मतपत्रमा अनियमित रूपमा गैर–मतदाताबाट छाप हान्ने र यथास्थितिलाई समर्थन गर्न राज्यका लाखौँ कर्मचारीलाई प्रयोग गर्नेजस्ता कार्यहरू हुन सक्ने बताएका छन्। 

करिब एक महिना पहिले जेलमा मृत्यु भएको भनिएका विपक्षी नेता एलेक्सी नभाल्नी र उहाँकी पत्नी युलिया नाभाल्नायाले आह्वान गरेअनुसार नेता पुटिनको कार्यकाललाई लम्ब्याउन गरिने ‘तथाकथित निर्वाचन’को विरोधमा कुनै विरोध प्रदर्शन हुन सक्छ कि सक्दैन अहिले विश्वको ध्यान त्यसतर्फ गएको छ। 

गत महिना मस्कोमा नभाल्नीको अन्त्येष्टिमा हजारौँ समर्थकले सरकारविरोधी नारा लगाएका थिए। नभाल्नीको मृत्युका कारण शोकमा रहेकी उनकी पत्नीले आफ्ना समर्थकलाई आइतबार स्थानीय समयअनुसार बिहान ९ बजे मतदान केन्द्रमा आएर पुटिनबाहेक अरूलाई मतदान गरेर वा मतपत्रमा ‘नभाल्नी’ लेखेर मतदान रद्द गर्दै विरोध गर्न आग्रह गरेकी थिइन्। 

निर्वाचनको परिणाममा कुनै शंका नभए पनि पुटिनको आन्तरिक र अन्तर्राष्ट्रिय वैधतालाई मजबुत बनाउन सरकारले कडा अभियान चलाइरहेको छ। युक्रेनमा रुसी आक्रमणको सफलताका र विपक्षीहरूको आवाज दमनमा परेको समय भएकाले नेता पुटिन अहिले सहज स्थितिमा छन्।

किएभका लागि पश्चिमी समर्थन र रुसविरुद्धको व्यापक प्रतिबन्धहरूको बाबजुद रुसी अर्थव्यवस्था लचिलो साबित भएको छ। पुटिनले हालैका हप्ताहरूमा सञ्चारमाध्यममा उपस्थिति बढाएका छन्। 

गत महिना ‘स्टेट अफ द नेसन’को भाषणमा राष्ट्रपति पुटिनले विद्यालय र पूर्वाधारको आधुनिकीकरण, गरिबी निवारण,  वातावरण संरक्षण र प्रविधिको विकासका लागि अर्बौँ रुबल प्रदान गर्दै बजेट प्रतिबद्धताको लामो शृंखलाको घोषणा गरेका थिए। कम्तीमा सन् २०३० सम्मका लागि सरकारको योजना सार्वजनिक गरिएको सम्बोधनमा पुटिनले रुसको एकता र विकासमा जोड दिएका छन्। 

यद्यपि, युद्धपछि पनि रुसी अर्थव्यवस्था अपेक्षा गरेभन्दा सहज अवस्थामा देखिएको भए पनि धेरै रुसीहरू युक्रेनविरुद्धको अभियानले उत्पन्न अस्थिरताबारे चिन्तित छन्। 

युक्रेन युद्धमा हजारौँ युवा लडिरहेका वा मृत्यु भएका कारण श्रमको अभाव बढेको छ भने लाखौँ अन्य मानिस द्वन्द्वको विरोध गरेका कारण वा सैन्य सेवाबाट बच्न विदेश पलायन भएका छन्।

आफ्ना प्रियजनलाई मोर्चाबाट फर्कन दिइयोस् भन्ने माग गर्दै आएका सैनिकका पत्नीहरूले हालैका महिनामा गरेको प्रदर्शनमा अधिकारीहरूले निकै कडाइ गरेका थिए।