१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
प्रेम गौतम काठमाडाैं
२०८० फाल्गुण २८ सोमबार ०८:५१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विश्वासको वातावरण बनाउन शीर्ष नेता शृंखलाबद्ध वार्तामा

कांग्रेसले वैकल्पिक गठबन्धनको प्रयास गरेपछि माधव नेपाललाई विश्वासमा लिन प्रचण्ड र ओली निरन्तर भेटघाटमा

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०८० फाल्गुण २८ सोमबार ०८:५१:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच विगतको तिक्तता हटाउने र मन माझामाझ भइरहेको छ । तीन नेताबीच भेटेर र फोनमार्फत निरन्तर कुराकानी हुन थालेको छ । प्रचण्ड–ओली, प्रचण्ड–नेपाल, ओली–नेपालबीच निरन्तर छलफल भइरहेको नेताहरूले बताएका छन् । कांग्रेसले वैकल्पिक गठबन्धनको प्रयास गरेपछि प्रचण्ड र ओलीले नेपाललाई विश्वासमा लिन कुराकानी बढाएका हुन् । प्रचण्ड र ओलीबीच पनि अविश्वास उत्पन्न नहोस् भन्नेमा दुवै नेता सचेत देखिएका छन् । उनीहरूबीच निरन्तर छलफल भइरहेको छ । अविश्वासलाई विश्वासमा परिणत गर्ने गरी वार्ता भइरहेको एमालेका एक नेताले बताए । ती नेताका अनुसार छलफल सकारात्मक छ । 

पार्टी विभाजनपछि ओली र नेपालबीच तिक्ततापूर्ण सम्बन्ध थियो । सार्वजनिक कार्यक्रममा एकले अर्कालाई आरोप–प्रत्यारोपमै बढी समय खर्चिन्थे । तर, पछिल्लो समय आरोप–प्रत्यारोप छाडेर ओली–नेपाल सम्बन्ध सुधारमा लागेका छन् । एमालेका एक नेताका अनुसार ओली नेपालसँग सम्बन्ध सुधार्न लचिलो बनेका छन् । नेपाल पनि सम्बन्ध सुधार्न सकारात्मक रहेको एकीकृत समाजवादीका एक नेताले बताए ।

अघिल्लो वर्षको १० पुसमा प्रचण्ड–ओली मिलेर सरकार बनाउँदा पनि नेपाल छुटेका थिए । यसपटक पनि समीकरण परिवर्तन हुँदा खबर नपाएपछि नेपाल चिढिएका थिए । राष्ट्रपति निर्वाचनताका ओली र नेपाल नजिकिने प्रयास भए पनि सफल भएको थिएन । प्रतिनिधिसभामा १० सिट भएको एकीकृत समाजवादी सत्तासमीकरणमा निर्णायक देखिएपछि नेपालसँगको सम्बन्ध सुधारमा ओली पनि अघि सरेका हुन् । विगतको कमजोरी सच्याएर अगाडि बढ्ने वचन ओली र प्रचण्ड दुवैले नेपाललाई दिएका छन् ।

प्रचण्ड र ओलीले नेपालसँग संयुक्त र छुट्टाछुट्टै भेट गरेर विगतबाट पाठ सिक्दै अगाडि बढ्ने र कमजोरी नदोहो¥याउने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । प्रचण्डसँगको छलफलबारे नेपालले भनेका छन्, ‘तीनचोटि कुरा गर्दा ६० प्रतिशत क्लियर भयो, ४० प्रतिशत बाँकी छ । ६० प्रतिशत विश्वास दिलाउनुभयो । विश्वास गर्नुस्, विश्वासको साथमा अगाडि बढौँ । विश्वासघात हुँदैन । विश्वासको जगमा हामी अगाडि बढौँ भनिसकेपछि हामीले पनि उदारता देखाउनुपर्छ । पहल लिनुपर्छ । अग्रसरता देखाउनुपर्छ ।’

नयाँ सत्तासमीकरणपछि ओलीले नेपालसँग दुईपटक भेटेर र एकपटक फोनमा कुरा गरेका छन् । ओलीले नेपाललाई अविश्वास मेटाएर अगाडि बढ्न आग्रह गरेका छन् । अविश्वासलाई विश्वासमा परिणत गरेर सँगै यात्रा गरौँ भन्ने ओलीको प्रस्ताव छ । तर, नेपाल ढुक्क भइसकेका छैनन् । नेपालले काम र व्यवहारबाट परिणाम खोजेका छन् । ‘तपाईं र मेरोबीचको अविश्वास मेटाउनुप¥यो । अविश्वास लामो समयदेखि कायम भएको छ । त्यसलाई विश्वासमा परिणत गर्नुपर्छ,’ ओलीको प्रस्ताव छ । ओलीको प्रस्तावलाई नेपालले सकारात्मक रूपमा लिएका छन् । ‘विश्वास नै सम्बन्धको आधार हो । विश्वास रहेन भने सम्बन्ध रहँदैन । त्यसकारण विश्वास काम र व्यवहारबाट हुन्छ । विश्वास कुराबाट हुँदैन,’ नेपालले भनेका छन् । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही पनि नहुने भन्दै नेपालले आफू कोहीसँग पनि आग्रही नभएको बताएका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारमा सहभागी दलका नेताबीच छलफल हुनु स्वाभाविक र सामान्य भएको बताए । उनले नेकपा ब्युँत्याउने गरी छलफल अघि नबढेको पनि बताए । ‘कम्युनिस्ट पार्टी मात्रको सरकार पनि होइन ।कम्युनिस्ट, लोकतान्त्रिक र देशभक्त शक्तिको सरकार हो । सरकारमा सहभागी भएका दलका नेताहरू भेटघाट हुनु नौलो कुरो होइन । नेकपा ब्युँत्याउने गरी छलफल भएको छैन,’ उनले भने ।माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले पनि सत्तारूढ दलका नेताहरूको छलफल स्वाभाविक भएको बताए । ‘गठबन्धनलाई सबल र सुदृढ बनाउन छलफल भइरहेको छ । विश्वासको वातावरण तयार पार्दै अगाडि बढ्नुपर्छ,’ सापकोटाले भने ।

विष्णु पौडेल, उपाध्यक्ष, एमाले
यो कम्युनिस्ट पार्टी मात्रको सरकार होइन । कम्युनिस्ट, लोकतान्त्रिक र देशभक्त शक्तिको सरकार हो । सरकारमा सहभागी भएका दलका नेताहरू भेटघाट हुनु नौलो कुरो होइन । नेकपा ब्युँत्याउने गरी छलफल भएको छैन ।