१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २५ शुक्रबार ०६:२०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुसी समकक्षीसँग उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको टेलिफोन वार्ता

शव पठाउन सहज नभएको भन्दै रुस सरकारले तीन नेपाली मृतकको दाहसंस्कार गरिसकेको छ

Read Time : > 3 मिनेट
२०८० फाल्गुण २५ शुक्रबार ०६:२०:००

नेपालले सन्धिका आधारमा भर्ती भएकाबाहेक अन्य कुनै पनि मुलुकका सेनामा आफ्ना नागरिकको भर्ती स्वीकार्य नहुने रुसलाई स्पष्ट पारेको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग बिहीबार अपराह्न भएको टेलिफोन कुराकानीमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली नागरिकलाई रुसी सेनाबाट अलग गर्न, मृत्यु भएकाहरूको शव स्वदेश फर्काइदिन र सेनामा भएका नेपालीको संख्याबारे जानकारी गराइदिन आग्रह गरेका छन् ।

रुसी सेनामा रहेका नेपालीका विषयमा नेपाल र रुसबीच पहिलोपटक उच्चस्तरमा संवाद भएको हो । राष्ट्रपति पुटिनका विश्वासप्राप्त लाभरोभ दुई दशकदेखि निरन्तर रुसका विदेशमन्त्री छन् । दुई परराष्ट्रमन्त्रीबीच बिहीबार टेलिफोन वार्ता गर्ने समय निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदकै कार्यकालमा तय भएको थियो । 

‘उपप्रधानमन्त्री श्रेष्ठले शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न रुसका विदेशमन्त्रीसँग आग्रह गर्नुभएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपप्रधानमन्त्रीले क्षतिपूर्तिको प्रक्रिया सुरु गरेकोमा रुसी मन्त्रीलाई धन्यवाद दिँदै यसलाई छिटोभन्दा छिटो टुंग्याउन आग्रह गर्नुभएको छ ।’ रुसले त्यहाँ मारिएका नेपाली नागरिकका परिवारलाई नेपाली दूतावासमार्फत क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आएको छ । 

‘उपप्रधानमन्त्री श्रेष्ठले नेपाली नागरिकलाई रुसी सेनाबाट अलग गर्न, त्यहाँ रहेका नेपाली नागरिकको संख्या र अवस्थाबारे जानकारी गराउन, मृत्यु भएकाहरूको शव स्वदेश फर्काउन सहजीकरणका लागि आग्रह गर्नुभएको छ । उहाँले दोहो¥याएर नेपालको चासो स्पष्ट रूपमा राख्नुभएको छ,’ टेलिफोन संवाद सुनेका परराष्ट्र अधिकारीले भने, ‘यसका लागि आवश्यक परे नेपालबाट उच्चस्तरमा भ्रमण गर्न वा आवश्यक अन्य उपायका लागि पनि तयार छौँ भन्ने सन्देश पनि नेपालका तर्फबाट गएको छ ।’ 

उपप्रधानमन्त्री श्रेष्ठले रुस नेपालको पुरानो मित्र रहेको उल्लेख गरेका थिए । तर, रुस र युक्रेनको युद्धमा नेपाल निरपेक्ष रहेकोसमेत उनले स्पष्ट पारेका थिए । रुस र युक्रेनको युद्ध संवादबाट समाधान गर्नुपर्नेमा उनले जोड दिएका थिए । ‘हाम्रो देशको कानुनले सैन्य भर्तीसम्बन्धी सन्धि भएबाहेकका मुलुकका सेनामा नागरिक भर्ती गर्ने  कुरालाई मान्यता दिएको छैन । पुरानो मित्रका रूपमा रुसले हाम्रा नागरिकलाई सेनाबाट बिदा गरोस् भन्ने हाम्रो आग्रह छ,’ उपप्रधानमन्त्री श्रेष्ठलाई उद्धृत गर्दै परराष्ट्र अधिकारीले भने, ‘नेपालीहरू रुसको सेनामा कति छन्, त्यसका बारेमा पनि जानकारी चाहन्छौँ । त्यहाँ मृत्युवरण भएका नेपालीहरूको संख्या र उनीहरूको शव पठाउने व्यवस्था होस् ।’ उपप्रधानमन्त्री श्रेष्ठले नेपाल आफ्ना नागरिकको सुरक्षाप्रति चिन्तित रहेको बताएका थिए । 

रुसी विदेशमन्त्री लाभरोभले नेपाली पक्षको चासोलाई सम्बोधन गर्न सहयोग गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र स्रोतका अनुसार लाभरोभले रुसको कानुनमा शत्रुदेशबाहेक अन्य देशका नागरिकले सेनामा भर्ती हुन पाउने व्यवस्था रहेको बताएका थिए । तर, उपप्रधानमन्त्री श्रेष्ठले राखेको चासोमा उनले सकारात्मक जवाफ दिए । ‘हामी तपाईंको चासोमा सकारात्मक छौँ,’ रुसी विदेशमन्त्रीको भनाइ थियो, ‘रक्षा मन्त्रालयसँग सम्बन्धित विषय भएको हुनाले त्यहाँ आवश्यक समन्वय गर्छौँ ।’ 

रुसी सेनामा कार्यरत नेपालीका परिवारलाई नेपाली दूतावासमार्फत क्षतिपूर्ति पठाउन रुस तयार भएको थियो । नेपाल र रुसको कूटनीतिक च्यानलमार्फत भएका चरणबद्ध पत्राचारका क्रममा रुसले फागुन पहिलो साता यो प्रतिबद्धता जनाएको थियो । रुस सरकारले मस्कोस्थित नेपाली दूतावासमा क्षतिपूर्ति पठाउनेछ भने त्यहाँबाट परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट मृतकका परिवारलाई उक्त क्षतिपूर्ति उपलब्ध हुनेछ । रुस सरकारको यो निर्णयप्रति उपप्रधानमन्त्री श्रेष्ठले समकक्षी लाभरोभलाई धन्यवाद दिएका छन् । 

रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई पदभार ग्रहण गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले व्यापार, पर्यटन, संस्कृतिलगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको पनि बताएका थिए । दुवै परराष्ट्रमन्त्रीले रुसी सेनामा रहेका नेपालीको समस्यालगायत नेपाल–रुस सम्बन्धका विविध पक्षमा छलफल गरेका थिए ।

नेपालले भन्यो– नेपालीलाई  रुसी सेनाबाट बिदा दिनुहोस्, रुसले भन्यो : सकारात्मक छौँ 
रुसी सेनामा रहेका नेपालीका विषयमा नेपाल र रुसबीच पहिलोपटक उच्चस्तरमा संवाद भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच बिहीबार अपराह्न टेलिफोन वार्ता भएको हो । ‘उपप्रधानमन्त्री श्रेष्ठले शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न रुसका विदेशमन्त्रीसँग आग्रह गर्नुभएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपप्रधानमन्त्रीले क्षतिपूर्तिको प्रक्रिया सुरु गरेकोमा रुसी मन्त्रीलाई धन्यवाद दिँदै यसलाई छिटोभन्दा छिटो टुंग्याउन आग्रह गर्नुभएको छ ।’ उपप्रधानमन्त्री श्रेष्ठले राखेको चासोमा रुसी विदेशमन्त्री लाभरोभले सकारात्मक जवाफ दिए । ‘हामी तपाईंको चासोमा सकारात्मक छौँ,’ रुसी विदेशमन्त्रीको भनाइ थियो, ‘रक्षा मन्त्रालयसँग सम्बन्धित विषय भएको हुनाले त्यहाँ आवश्यक समन्वय गर्छौँ ।’ 

नेपाली फिर्ता गर्न रुस तयार रहेको साउदको दाबी
निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा कार्यरत नेपालीलाई चरणबद्ध रूपमा स्वदेश फर्काउन रुस सरकारले सहमति जनाएको दाबी गरेका छन् । विदेश मन्त्रालयले कूटनीतिक पत्राचारमार्फत प्रतिबद्धता जनाएको साउदले बताए । 
‘रुसको विदेश मन्त्रालयले त्यहाँको सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न सहमत छौँ भनेर चिठी पठाएको छ । उनीहरू रुसका विभिन्न ठाउँमा भएको हुनाले चरणबद्ध रूपमा स्वदेश फिर्ता गर्छौँ भन्ने पनि जानकारी आएको छ,’ साउदले भने, ‘सरकारले यसलाई फलोअप गर्नुपर्छ । एकैपटक सम्भव हुँदैन, चरणबद्ध रूपमा हामी नेपालीलाई फिर्ता गर्न सहमत छौँ भनेर चिठी नै आएको छ ।’ 

साउदले रुसमा रहेका नेपाली फिर्ता र मृतकको क्षतिपूर्तिलगायतका विषयमा अहिलेसम्म महत्वपूर्ण उपलब्धि भएको बताए । ‘अब यसलाई कार्यान्वयनमा ल्याउन मात्रै बाँकी छ । मैले एउटा स्थितिमा पुर्‍याएर गएको छु । नवनियुक्त मन्त्रीले निरन्तरता दिनुपर्छ,’ साउदले भने ।अहिलेसम्म रुस सरकारले रुसी सेनामा कार्यरतमध्ये १० जनाको मृत्यु भएको विवरण परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

परराष्ट्रका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल र पितम कार्की, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, कुन्दनसिंह नागल, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ । तर, रुसी सेनामा कार्यरतमध्ये दुई दर्जनभन्दा बढीको मृत्यु भएको भन्दै शव फिर्ताका लागि परिवारका सदस्यले सरकारसित अनुरोध गरेका छन् ।