१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
महानगर प्रहरीको ज्यादतीविरुद्ध फुटपाथ व्यापारीले बिहीबार सुन्धारामा गरेको सभा । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o९:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

फुटपाथ व्यवसायीमाथि महानगरको बर्बरता

रक्सी खाएर आएका नगर प्रहरीबाट लाठी प्रहार र महिलामाथि हातपात गरेको आरोप

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:o१:oo

नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरुङ भन्छिन्-रक्सी खाएर आएका नगर प्रहरीले महिला व्यापारीमाथि जथाभावी हातपात गरेका छन् । यसको जिम्मेवारी मेयर बालेनले लिनुपर्छ । फुटपाथमा सामान राख्न जाने साथीहरू अधिकांशको विकल्प छैन । सामान बेचेर छाक टार्नका लागि उहाँहरू थोरै–थोरै सामान झोलामा बोकेर जानुभएको थियो ।

फुटपाथ व्यवसायीले चरणबद्ध आन्दोलनको घोषणा गरेको महिना दिन नबित्दै काठमाडौं महानगरका नगर प्रहरी र व्यवसायीबीच झडप भएको छ । बुधबार साँझ सुन्धारामा भएको झडपमा नगर प्रहरी र फुटपाथ व्यापारीसहित १६ जना घाइते भएका थिए ।

घाइते सबैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपछि बिहीबार डिस्चार्ज भएका छन् । सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार पाँचजना फुटपाथ व्यापारी र १० जना नगर प्रहरी घाइते भएका थिए । सबैको अवस्था सामान्य देखिएको उनको भनाइ छ । केहीको पाखुरा, ढाड र टाउकामा चोट लागेको छ, तर ठूलो नदेखिएकाले अस्पतालले डिस्चार्ज गरेको हो ।

बुधबार साँझ सुन्धारास्थित सडकपेटीमा पसल राखेका फुटपाथ व्यापारी हटाउन नगर प्रहरी दलबलसहित पुगेको थियो । सोहीक्रममा झडप भएको थियो । नगर प्रहरीले फुटपाथ व्यापारीलाई एक्कासि लाठी प्रहार गरेपछि झडपको स्थिति बनेको थियो । प्रतिकारमा फुटपाथ व्यापारीले पनि ढुंगा र लट्ठी प्रहार गरेका थिए । फुटपाथ व्यवसायीमाथि हातपात भएको विरोधमा बिहीबार दिउँसो फुटपाथ व्यवसायीहरूको संगठन नेपाल स्वरोजगार व्यापार श्रमिक संघले सुन्धारामा एक घण्टा विरोध सभा गरेका छन् । 

व्यवसायीहरूले बुधबारको घटनाको नेतृत्व गरेको प्रहरी उपरीक्षक मनोज लामिछाने र महानगरविरुद्ध शुक्रबार प्रहरीमा उजुरी दिने भएका छन् । ‘हिजो हाम्रा साथीमाथि ज्यानै लिने शैलीमा प्रहार भएको छ । एकाध महिलासहित आएको नगर प्रहरीको जत्थाले महिलामाथि हातपात गरेको छ । लखेटी–लखेटी टाउको फुटाइएको छ । यसविरुद्ध भोलि (शुक्रबार) जनसेवा प्रहरीमा उजुरी दिँदै छौँ,’ संघका अध्यक्ष माया गुरुङले भनिन् । 

राजुनाथ पाण्डे, प्रमुख, महानगर प्रहरी बल
पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि नै आक्रमण भएको हो । बुधबारको घटना प्रतिरक्षाका क्रममा भएको हो । प्रहरी उपरीक्षक मनोज लामिछानेसहित नौजना नगर प्रहरी घाइते भएका छन् । सडक व्यापार पूर्ण निषेध गर्ने महानगरको नीति कार्यान्वयन गर्न प्रहरी खटिएका हुन् ।

‘घटनाको सम्पूर्ण जिम्मेवारी मेयर बालेनले लिनुपर्छ’
बुधबार साँझ सुन्धारामा नगर प्रहरीसँग झडपमा परेर घाइते भएका फुटपाथ व्यापारी

नेपाल स्वरोजगार व्यापार श्रमिक संघकी अध्यक्ष माया गुरुङले बुधबार भएको घटनाको सम्पूर्ण जिम्मवारी महानगरका मेयर बालेन्द्र साहले लिनुपर्ने बताएकी छिन् । रक्सी खाएर आएका नगर प्रहरीले जथाभावी हातपात गरेको उनको आरोप छ ।

उनले भनिन्, ‘फुटपाथमा सामान राख्न जाने साथीहरू अधिकांशको विकल्प छैन । सामान बेचेर छाक टार्नका लागि उहाँहरू थोरै–थोरै सामान झोलामा बोकेर जानुभएको थियो । त्यस्ता साथीहरूमाथि मापसे गरेर आउनुभएका नगर प्रहरीले हातपात गर्नुभयो । लाठी प्रहार गर्नुभयो । महिला व्यवसायीमाथि पुरुष नगर प्रहरीले हातपात गर्नुभयो ।’ उनले आफूहरू सधैँ वार्ता र संवादको पक्षमा भए पनि महानगरले उल्टै अमानवीय व्यवहार गर्दै आएको बताइन् । महानगरका प्रवक्ता नवीन मानन्धर भने नगर प्रहरी फुटपाथ व्यापारी हटाउन जाँदा झडपको स्थिति बनेको बाताउँछन् । उनले भने, ‘महानगरले गरिखाने ठाउँ दिएन भनेर धेरै असन्तुष्ट छन्, यहाँ रोजीरोटीको ठूलो समस्या त छ,’ उनले भने, ‘झडपमा नगर प्रहरीमाथि पनि कुटपिट भएको थियो ।’  

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले सुन्धारा सडक–किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि नै आक्रमण भएको बताए । उनका अनुसार बुधबारको घटना प्रतिरक्षाका क्रममा भएको हो । 

सोक्रममा प्रहरी उपरीक्षक मनोज लामिछानेसहित नौजना नगर प्रहरी घाइते भएका छन् । उनका अनुसार सडक व्यापारलाई महानगरपालिकाले पूर्ण निषेध गरेको छ । सडक व्यापार पूर्ण निषेध गर्ने महानगरको नीति कार्यान्वयन गर्ने दायित्व महानगर प्रहरी बलको हो । १० असोजमा महानगरसँग भएको चारबुँदे सहमतिविपरीत ७ माघ (आइतबार) बेलुका महानगर प्रहरीले रत्नपार्कको फुटपाथबाट व्यवसायीको सामान जफत गरेपछि उनीहरूले १२ माघदेखि चरणबद्ध आन्दोलनको घोषणा गर्दै आन्दोलन थाले । 

सामाजिक अभियन्ता ईः भन्छन्
यो देशमा गरिब हुनुभन्दा ठूलो अभिशाप अरू केही रहेनछ । राति ७ बजेपछि दुई छाक टार्न सुन्धाराको रित्तिँदो सडकछेउ उद्यम गरिरहेकामाथि एक्कासि कुटपिट किन ? नगर प्रहरीसँग यातना दिने अधिकार छैन । व्यक्तिगत सम्पत्ति खोस्ने संवैधानिक आधार छैन ।

यो सरासर अपराध हो । सैद्धान्तिक समाजवाद, मौलिक अधिकार र सामाजिक न्यायका प्रावधान गफै मात्र हुन् त ? मानव अधिकार, नागरिक अगुवा, गृह मन्त्रालय तथा संघीय सरकार आदि– सबैको मुख यो डण्डा कुनै दिन धनीमानीमाथि बर्सेपछि मात्र खुल्ने हो ? मेयर बालेनको सडक व्यवसाय व्यवस्थापन गर्ने आफ्नै चुनावी वाचा कार्यान्वयन हुने किसिमले काठमाडौं महानगरपालिकासँग भएको चारबुँदे सहमतिपछि बिहान ८ बजेअघि र बेलुकी ७ बजेपछि आवातजावत अवरोध नहुने ठाउँहरूमा सडक व्यवसायलाई केही सहजीकरण भएको थियो ।

नगर प्रहरीले यातना नदिने आश्वासन प्राप्त भएको थियो । तर, केही समययता त्यो सहमति र त्यसको आशयलाई रछ्यानमा फाली सडक व्यवसायमाथि हिंसा र सामान जफत गर्ने क्रमलाई निरन्तरता दिइएको छ ।

ad
ad