Skip This
एकीकृत समाजवादीको वैचारिक बाटो तय, ‘जबजका उपलब्धिको रक्षा, नेपाली विशेषताको समाजवाद’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Saturday, 27 July, 2024
प्रेम गौतम काठमाडाैं
२o८o फाल्गुण १८ शुक्रबार o८:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एकीकृत समाजवादीको वैचारिक बाटो तय, ‘जबजका उपलब्धिको रक्षा, नेपाली विशेषताको समाजवाद’

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार o८:४६:oo

एकीकृत समाजवादीले समाजवादी कार्यक्रमका साथ अगाडि बढ्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय आलोकनगरमा तीन दिनसम्म बसेको महाधिवेशन दस्ताबेज मस्यौदा समितिको बैठकले जनताको बहुदलीय जनवाद (जबज)का उपलब्धिको रक्षा गर्दै नेपाली विशेषताको समाजवादी कार्यक्रम तय गर्ने निष्कर्ष निकालेको हो ।

अध्यक्ष माधवकुमार नेपालले जबज र सम्मानित नेता झलनाथ खनालले नेपाली विशेषताको समाजवादी कार्यक्रमको पक्षमा अभिव्यक्ति दिँदै आएका थिए । मस्यौदा समितिको बैठकले मध्यमार्गी बाटो अपनाएर जाने निर्णय गरेको हो । नेपाल संयोजक रहेको २७ सदस्यीय मस्यौदा समितिमा खनाल पनि छन् । ‘समाजवादका लागि नयाँ कार्यक्रमका साथ अगाडि बढ्ने पार्टीको संकल्पले अहिलेको विभाजित कम्युनिस्ट आन्दोलनमा दूरगामी प्रभाव पार्नेछ भन्ने कुरामा पार्टी विश्वस्त छ,’ महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले हाम्रो पार्टीपंक्तिलाई नयाँ आशा र विश्वासका साथ अगाडि बढ्न नयाँ उत्साह वृद्धि गर्नेछ ।’

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीभित्र उठेका संशयहरू दूर भएको बताए । ‘पार्टीभित्र उठेका संशयहरू अब दूर भएका छन् । अलगअलग सोचहरू दूर भएका छन् । हाम्रो पार्टीले लिने समाजवादी क्रान्तिको बाटो के हो, समाजवादका चुनौती के हुन्, समाजवादको प्रारम्भ कहाँबाट हुन्छ, हाम्रो प्रधान अन्तरविरोध कोसँग हो भन्नेजस्ता कुराहरू पार्टीको दस्ताबेजमा आउनेछ । जबजका उपलब्धिहरूको रक्षा गर्दै नेपाली विशेषताको समाजवादी कार्यक्रम तय गरेर अगाडि बढ्ने बैठकको निष्कर्ष छ,’ उनले भने ।

१०औँ राष्ट्रिय महाधिवेशनकेन्द्रित दस्ताबेज मस्यौदा समितिको बैठकले महाधिवेशनमा एउटा मात्रै दस्ताबेज प्रस्तुत गर्ने निर्णय गरेको खतिवडाले जानकारी दिए । मस्यौदा समितिमा तीन दिनसम्म छलफल भएको थियो । बैठकमा महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमाथि छलफल भएको उनले बताए । ‘बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल भयो । खासगरी हाम्रो पार्टीको आगामी महाधिवेशनबारे गम्भीर छलफल भयो । पार्टीले अगाडि बढाउने समाजवादी कार्यक्रमबारे महत्वपूर्ण छलफल भएको छ । पार्टीभित्र विभिन्न ढंगले उठिरहेका विषयमाथि समेत छलफल भएको छ । आगामी महाधिवेशनमा एउटा मात्र दस्ताबेज आउनेछ । यसका निम्ति सर्वसम्मत निर्णय भएको छ,’ उनले भने ।

एकीकृत समाजवादीको बैठकमा विशेषगरी प्रधान अन्तरविरोध र जबजका विषयमा छलफल भएको थियो । वैचारिक रूपमा प्रधान अन्तरविरोध कांग्रेससँगै रहेकोमा नेताहरूको एकमत छ । ‘प्रधान अन्तरविरोध र जबजको विषयमा गरमागरम छलफल भयो । वैचारिक हिसाबले पुँजीवादी शक्तिसँग प्रतिस्पर्धा र समाजवादी शक्तिसँग सहकार्य गर्ने नीतिअनुरूप मस्यौदा बन्छ,’ मस्यौदा समितिका सदस्य गणेश विकले भने, ‘मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद हुन्छ । जबजका सकारात्मक कुरालाई समेटेर समाजवादी कार्यक्रम तय गर्छौँ ।’ 

बैठकले विभिन्न दस्ताबेज लेखनको संयोजनका लागि कार्यविभाजन गरेको छ । राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाल, समाजवादी कार्यक्रम लेखनको जिम्मेवारी सम्मानित नेता झलनाथ खनाल, विधान लेखनको जिम्मेवारी उपाध्यक्ष डा. बेदुराम भुसाल र संगठनात्मक प्रस्ताव लेखनको जिम्मेवारी महासचिव घनश्याम भुसाललाई दिएको छ । दस्ताबेजको मस्यौदामाथि छलफल गर्न आगामी २७ फागुनमा बैठक बोलाइएको छ । एकीकृत समाजवादीको महाधिवेशन आगामी ३ देखि ७ जेठमा काठमाडौंमा हुँदै छ ।