Skip This
वाफ महिला च्याम्पियनसिप : फेरि फाइनलमै चुक्यो नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
वाफ महिला च्याम्पियनको उपाधिका साथ जोर्डन फुटबल टिम
रमेश सुवेदी काठमाडाैं
२o८१ बैशाख २९ शनिबार o६:११:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

वाफ महिला च्याम्पियनसिप : फेरि फाइनलमै चुक्यो नेपाल

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:११:oo

नेपाली राष्ट्रिय महिला फुटबल टोली वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित भएको छ । जोर्डन छैटौँपटक च्याम्पियन भएको छ । साउदी अरेबियामा बिहीबार भएको उपाधि भिडन्तमा नेपालकी रक्षक अमृता जैसीको प्रहार असफल भएपछि नेपाल वेस्ट एसियन फुटबल महासंघ वाफ महासंघले आयोजना गरेको वाफ च्याम्पियनसिपमा उपविजेतामा सीमित भएको हो । नेपाल जोर्डनसँग पराजित हुँदा ११औँ पटक फाइनल पुगेर पनि उपाधि विमुख भएको छ । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएपछि उपाधिको छिनोफानो सीधै पेनाल्टी सुटआउटबाट भएको थियो । 

पेनाल्टीमा जैसीको प्रहारलाई जोर्डनकी गोलकिपर सेरिन अल सालाबले डाइभ गर्दै रोकेकी हुन् । नेपालबाट गीता राना, दीपा शाही र हीराकुमारी भुजेलले मात्रै गोल गरे । जोर्डनका लागि आया अल मजाली, मायसा बाराह, नोउरा जोक्वास, सराह आबु सबाह र रौजवहान फ्राइजले गोल गरे । टाइब्रेकरको पहिलो तीन प्रहारमा नेपाल र जोर्डनका खेलाडीले गोल गरेका थिए । नेपालकी मिडफिल्डर दीपा शाहीले फाइनलमा राम्रो खेल्दाखेल्दै पेनाल्टीको सिकार भएको र अग्रपंक्तिमा राम्रो गर्न नसकेको बताइन् । ‘हामीले ९० मिनेटनै फाइट गर्‍यौँ, तर फाइनलमा पराजित हुन पुग्यौँ,’ उनले भनिन्, ‘हाम्रो अग्रपंक्ति कमजोर रह्यो । फाइनलमा सावित्रा दिदीलाई गुमाएका थियौँ ।’ महिला फुटबलको ३८ वर्षे इतिहासमा नेपाल ११औँ पटक उपविजेतामै सीमित भएको छ । 

नेपाल सातपटक भारतसँग साफ च्याम्पियनसिप र दुईपटक दक्षिण एसियाली खेलकुद (साग) खेलको फाइनलमा पराजित भयो । यसैगरी, बंगलादेश, म्यानमार र उज्वेकिस्तानसँग नेपाल समान एकपटक फाइनलमा पुगेर उपाधिबाट टाढा भयो । वाफ च्याम्पियनसिपको फाइनल यात्रामा नेपाल अपराजित रहँदै पुगेको थियो । नेपालको अपराजित यात्रा उपाधि भिडन्तमै टुंगिएको छ । समूह ‘बी’मा नेपालले सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो । सेमिफाइनलमा नेपालले लेवनानलाई २–१ ले पराजित गरेको थियो । उपाधि जित्ने लक्ष्यका साथ साउदी अरेबियामा पुगेका नेपालका प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बा पुनः एकपटक चुकेका छन् । 

रोमाञ्चक फाइनल
निर्धारित ९० मिनेटको खेल रोमाञ्चक रह्यो । नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । खेलको २९औँ मिनेटमा सविता रानामगरले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाइन् । यसअघि चारै खेलमा बेन्चमा रहेकी सविताले पहिलोपटक प्लेइङ सेटमा स्थान बनाएकी थिइन् । खेलको ७४औँ मिनेटमा जोर्डनकी लाना फेरासले खेल १–१ को बराबरीमा पुर्‍याइन् । मध्यभागबाट मिलाएको बललाई नेपाली रक्षक र गोलरक्षकलाई बिट गर्दै लानाले उत्कृष्ट गोल गरेकी हुन् । नाटकीय रूपमा जोर्डनले खेलको ८९औँ मिनेटमा २–१ को अग्रता लियो । सराहले व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डनले खेलमा पहिलोपटक अग्रता लियो । कप्तान मायसा बराहले मिलाएको सुन्दर बललाई सराहले उत्कृष्ट गोल गरेकी हुन् ।

फाइनलमा आठ मिनेट इन्जुरी समय थप भयो । यसै समयमा नेपालले पेनाल्टीमा गोल गर्दै २–२ को बराबरीमा खेल पुर्‍यायो । जोर्डनकी खेलाडीले रेखा पौडेललाई बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई गीता रानाले गोल गरिन् । राष्ट्रिय टोलीका लागि गीताको यो दोस्रो गोल हो । गीताले समूहको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध पेनाल्टीमै गोल गरेकी थिइन् । जोर्डन फिफा वरीयतामाको ७४औँ स्थानमा रहँदा नेपाल भने १०५औँ स्थानमा छ । 

पेनाल्टीमा अभागी भयौँ
दीपा शाही, मिडफिल्डर

हामीले ९० मिनेट फाइट गर्‍यौँ । जोर्डनविरुद्ध राम्रो खेल खेल्यौँ । तर, पेनाल्टीमा हार व्यहोरेका छौँ । हाम्रो अग्रपंक्ति कमजोर भयो । हामीले सावित्रा भण्डारी दिदीलाई गुमाउन पुग्यौँ । तर, हामी खुसी छौँ । हामीलाई समर्थन गर्नुभएका सबैलाई धन्यवाद । 

 सावित्रा सर्वाधिक गोलकर्ता
नेपालकी स्ट्राइकर सावित्रा भण्डारी प्रतियोगिताको सर्वाधिक गोलकर्ता घोषित भएकी छिन् । उनले प्रतियोगितामा सर्वाधिक नौ गोल पूरा गरेकी छिन् । व्यावसायिक फुटबलका लागि फ्रान्सको शीर्ष डिभिजन क्लब एन एभान्ट गेङ्गाम्पमा अनुबन्ध भएपछि उनले फाइनल गुमाएकी हुन् । क्लबले फिफा विन्डोमा मात्रै उनलाई फुकुवा गरेको थियो । उपाधि भिडन्त फिफा विन्डोमा थिएन । यसकारण उनले फाइनल गुमाएकी हुन् । सावित्राले इराकविरुद्ध पाँच गोल गरेकी थिइन् । उनले प्यालेस्टाइनविरुद्ध दुई तथा सिरिया र लेबनानविरुद्ध समान एक गोल गरेकी थिइन् । उनी यसै प्रतियोगिताबाट ५० अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

ad
ad