Skip This
रोमाञ्चक खेलमा नेदरल्यान्ड्स दुई रनले विजयी, त्रिकोणीय शृंखलामा नेपालको दोस्रो हार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १५:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

रोमाञ्चक खेलमा नेदरल्यान्ड्स दुई रनले विजयी, त्रिकोणीय शृंखलामा नेपालको दोस्रो हार

दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनका बाबजुद नेपालले सकेन जित निकाल्न

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १५:o९:oo

रोमाञ्चक म्याचमा नेपाललाई दुई रनले पराजित गर्दै नेदरल्यान्ड्सले टी–२० आई त्रिकोणीय शृंखलामा विजयी सुरुवात गरेको छ । नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले आठ विकेटको क्षतिमा एक सय ८२ रन मात्र बनाउन सक्यो । 

अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक परेका वेला दीपेन्द्रसिंह ऐरीले लगातार दुई बलमा चौका र छक्का प्रहार गरेपछि नेपालले खेल जित्ने सम्भावना बढेको थियो । त्यसपछि चार बलमा पाँच रन अवश्यक रहेका वेला करण केसी रन आउट हुन पुगे । 

दीपेन्द्रले आफू स्ट्राइकमा रहन मुस्किलजस्तो देखिएको अवस्थामा पनि दोस्रो रनका लागि कल गरेपछि करण दौडिएका थिए । तर, उनी क्रिजसम्म पुग्न सकेनन् । यही नै खेलको टर्निङ प्वाइन्ट बन्यो । 

चौथो बलमा दीपेन्द्र क्रिजबाट बाहिर निस्किएर ठूलो सट प्रहार गर्न खोज्दा स्टम्पिङ हुन पुगे । उनी आउट भएपछि प्रतीश जिसी क्रिजमा आए । त्यसवेला जितका लागि दुई बलमा चार रन चाहिएको थियो । तर, प्रतीशले पहिलो बलमा रन बनाउन सकेनन् भने दोस्रो बलमा लेगबाइमा एक रन पाएपछि नेपाल दुई रनले पराजित हुन पुग्यो । 

दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरे पनि जित दिलाउन सकेनन् । उनले तीन छक्का र ६ चौकाको मद्दतमा ३४ बलमा ६३ रन बनाए । 

यस्तै, नेपाली ब्याटिङ इनिङ्समा कप्तान रोहितकुमार पौडेलले पनि ५० रनको अर्धशतकीय योगदान दिए । ३६ बल खेलेका उनले दुई छक्का र ६ चौका प्रहार गरे । 

ओपनर आसिफ शेख २३ बलमा ३४, कुशल मल्ल सात बलमा ११, करण केसी सात बलमा ११, सन्दीप जोरा ६ बलमा आठ रन बनाएर आउट भए । सोमपाल कामी र कुशल भुर्तेलले खाता खोल्न सकेनन् । गुल्सन झाले कुनै बलको सामना गर्नै पाएनन् । 

त्यसअघि टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ८४ रन बनाएको थियो । 

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाए भने साइब्रान्ड एंगलब्रेक्टले अविजित ४९ रनको योगदान दिए । लेभिटले टी–२० को डेब्यू म्याचमै अर्धशतक बनाएर उत्कृष्ट ढंगले करिअर सुरु गरे । 

नेपालका सबै बलरमाथि निर्मम प्रहार गरेका लेभिटले ३६ बलमा तीन छक्का र पाँच चौकासहित ५४ रन बनाए । ३८ बलमा एक छक्का र चार चौका प्रहार गरेका साइब्रान्ड एंगलब्रेक्ट ४९ बलमा अविजित रहे । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजे पनि नेपाली बलरहरूले उनको निर्णयलाई सही साबित गर्न सकेनन् । अलराउन्डर दीपेन्द्रसिंह ऐरीबाहेक अन्य सबै बलरलाई नेदरल्यान्ड्सका ब्याटरले खुलेर चुटे । नेपाली बलरहरूले न विकेट लिन सके, न रन रोक्न नै । 

सबैभन्दा किफायती बलिङ गरेका दीपेन्द्रले चार ओभरमा एक मेडन ओभरसहित जम्मा २० रन दिए । उनको मेडन ओभरपछि नेपालले केहीबेर नेदरल्यान्ड्सका खेलाडीलाई ठूला सट प्रहार गर्नबाट रोक्न सकेको थियो । 

नेदरल्यान्ड्सले दुई विकेट रनआउटमा गुमाएको थियो भने बाँकी दुई विकेट करण केसी र कुशल मल्लको नाममा रह्यो । एक विकेट लिए पनि करणले तीन ओभरमा २९ रन दिए । कुशलले चार ओभरमा ३७ रन दिए भने एक ओभर बलिङ गरेका सोमपाल कामीले १४ रन दिए । 

चार ओभरमा ललित राजवंशीले ४२, कुशल भुर्तेलले एक ओभरमा ११ र प्रतीश जिसीले तीन ओभरमा २९ रन खर्चिए । यस अतिरिक्त नेदरल्यान्ड्सले १३ अतिरिक्त रन पायो । 

दीपेन्द्रले बलिङमा मात्र नभई फिल्डिङमा पनि कमाल देखाए । नेदरल्यान्ड्सका दुईमध्ये एक रनआउट दीपेन्द्र र अर्को सन्दीप जोराको थ्रोमा भएको थियो । 

दीपेन्द्रकोे थ्रोमा विकेटकिपर आसिफ शेखले एक्रोब्याटिक फिल्डिङको नमुना प्रस्तुत गर्दै नेदरल्यान्ड्सका विस्फोटक ब्याटिङ गरिरहेका स्कट एडवार्डसलाई नेपालले रनआउट गराएको थियो । उनले १६ बलमा ३३ रन बनाए ।

तस्बिरहरू : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

ad
ad