१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०८० फाल्गुण १६ बुधबार ११:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

६ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय ६ अभियुक्त पक्राउ    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०८० फाल्गुण १६ बुधबार ११:२७:००

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय ६ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । यसमध्ये सात पुरुष र एकजना महिला विदेशी हुन् ।

जम्मा पक्राउ परेकामध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत २२, कोशी प्रदेशमा ८५, मधेशमा ५८, बागमतीमा ३२, गण्डकीमा ३२, लुम्बिनीमा ७९, कर्णालीमा ४९ र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले  जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षमा ७७ प्रतिशत अभियुक्त प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ परेका हुन् । अनुसन्धान निरन्तर चलिरहने भएको हुँदा अभियुक्त पक्राउ पर्ने संख्या बढ्दै जान्छ । आव ०७९/८० मा ७८, आव ०७८/७९ मा ७७, आव ०७७/७८ मा ७५, आव ०७६/७७ मा ८१ र आव ०७५/७६ मा ८२ प्रतिशत अभियुक्त पक्राउ गर्न सफल भएको थियो ।  

पछिल्लो पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा कर्तव्य ज्यान मुद्दामा औसत ७९ प्रतिशत अभियुक्त पक्राउ परेका थिए । यसै सिलसिलामा सर्वश्वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखीका ७० वर्षीय सूर्यबहादुर दवाडी २१ वर्षपछि गत माघ १ गते पक्राउ परे । उनलाई अंशसम्बन्धी झगडामा श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा वि.सं. ०६१ जेठ ५ गते जिल्ला अदालत धादिङले सर्वश्वसहित जन्मकैद फैसला गरेको थियो ।

यसैगरी, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँके नेपालगन्जका ५५ वर्षीय मोहमद हाफिम खाँ १४ वर्षपछि मंसिर २० गते पक्राउ परे । उनलाई वि.सं. ०६६ असार २२ गते जिल्ला अदालत बाँकेले १८ वर्ष कैद सजायको फैसला गरेको थियो । दवाडी र खाँ प्रतिनिधिपात्र मात्रै हुन् । उनीहरूजस्तै कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न तथा फरार व्यक्ति पक्राउ पर्ने क्रम जारी छ ।  

नेपाल प्रहरीले अनुसन्धानलाई निरन्तरता दिने र खोजतलासलाई तीव्र पारेका कारण यस्ता अपराधी पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिए । यस प्रकार हरेक आर्थिक वर्षमा जघन्य अपराधको अनुसन्धानमा नेपाल प्रहरी सफल भएको देखिन्छ । यो सफलता प्राप्त हुनुमा प्रहरीको क्रियाशीलता नै प्रमुख कारण भएको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले बताए ।  रासस