
मिर्मिरे उज्यालो हुनासाथ एक भिखारी भिक्षाटनका लागि आफ्नो कुटीबाट निस्किए । टोलका विभिन्न घरघर चहारेर उनले भिक्षा संकलन गरे । घुम्दैफिर्दै उनी एउटा घरमा पुग्दा संयोगवश त्यस घरका घरधनी पनि प्रातः भ्रमणमा जानका लागि मूलढोकाबाट बाहिर निस्किए ।
ढोकाबाहिर भिखारी उभिएको देखेर उनले भिक्षादानका लागि यसो खल्तीमा हात घुसारे । तर, खल्तीमा केही पनि पाएनन् । उनी भित्र पसे, भिखारीलाई भिक्षादान दिनलायक खासै केही भेटेनन् । त्यसैले, उनी भान्छामा पसे र एउटा गिलास ल्याएर भिखारीलाई दिए । भिक्षादान पाएपछि भिखारी आफ्नो बाटो लागे ।
उता भिक्षादाताकी पत्नीले आफ्ना पतिले भिखारीलाई गिलास दिएको पत्तो लगाइहालिन् । उनले आत्तिँदै पतिलाई भनिन्– लौन नि ! यो के गर्नुभयो तपाईंले ? बिहान–बिहान एउटा भिखारीलाई भिक्षादानका नाममा त्यति महँगो चाँदीको गिलास दिनुभयो ? त्यो भिखारी त्यति टाढा पुगिसकेको छैन होला, दौडेर जानुहोस् र त्यो गिलास फिर्ता ल्याउनुहोस् । पत्नीको आदेश पाएपछि उनी हतरिँदै भिखारीको खोजीमा दौडिए । एकैछिनमा उनले भिखारीलाई भेटे । हतारिँदै भिखारीको नजिकै गएर उनले खुसीसाथ भने– मैले भर्खरै तपाईंलाई दिएको गिलास चाँदीको रहेछ, त्यसलाई सस्तोमा नबेच्नुहोला है !
भिक्षादाताले भिखारीलाई भनेको यो कुरा उनका मित्रले सुनिरहेका थिए । मित्रले उनलाई भने– जब तपाईंलाई त्यो गिलास चाँदीको हो भन्ने थाहा थियो भने किन भिखारीबाट फिर्ता लिनुभएन ? झन् खुसीसाथ उसलाई त्यो गिलास सस्तोमा नबेच्नु है भनेर सम्झाएर पो फर्किनुभयो नि ? भिक्षादाताले जवाफ दिए– जुन वस्तु मैले खुसीसाथ कसैलाई दिइसकेको छु भने त्यो सस्तो या महँगो जे भए पनि म किन दुःखी हुनु ? त्यसैले, म खुसी छु मित्र !