१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १० सोमबार
  • Monday, 22 April, 2024
मेहदी हसन
२०८० फाल्गुण १५ मंगलबार ०९:५९:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी राष्ट्रपति बाइडेनको एक फोनले रोकिन सक्छ गाजाको बमबारी

अमेरिकाका कमान्डर–इन–चिफ बाइडेन शक्तिहीन छैनन्, विगतका राष्ट्रपतिको जस्तै इजरायलमाथि उनको प्रशस्त प्रभाव छ

Read Time : > 3 मिनेट
मेहदी हसन
२०८० फाल्गुण १५ मंगलबार ०९:५९:००

कल्पना गर्नुहोस्, इजरायली प्रधानमन्त्रीले अरब राष्ट्रमाथि हवाई आक्रमण घोषणा गरे । सर्वसाधारणको ठूलो हताहती भयो, हजारौँ मारिए । टिभीमा देखिएको यस नरसंहारको दृश्यबाट स्तब्ध भएर अमेरिकी राष्ट्रपतिले इजरायली प्रधानमन्त्रीलाई फोन गर्छन् । र, केही मिनेटमै बमबारी रोकिन्छ । यो असम्भव र बाल कल्पनाजस्तो लाग्ने दृश्य खासमा वास्तविक घटनाको सरल व्याख्या हो ।

सन् १९८२ को ग्रीष्ममा इजरायली सेनाले दक्षिणी लेबनानमा छोटो अवधिका लागि भन्दै सैन्य अभियान सुरु ग¥यो । तत्कालीन रक्षामन्त्री एरियल सेरोनको नेतृत्वमा भएको अभियान लामो नाकाबन्दीमा परिणत भयो । त्यस क्रममा बेरुत र त्यहाँ शरण लिइरहेको ‘प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पिएलओ)’का सदस्यमाथि पूर्णस्तरको आक्रमण भयो । जुन महिना र अगस्टको बीचमा इजरायली सेनाले पिएलओलाई समूल नष्ट गर्ने भन्दै लेबनानको राजधानीमा जाने खानेकुरा, पानी र ऊर्जा रोकिदिए । पिएलओका लडाकु बेरुत सहरमुनिका सुरुङका सञ्जालमा लुकेका थिए । (जुन अहिले गाजाको परिघटनासँग मिल्छ ।)

पछि ‘ब्ल्याक थस्र्डे’को नामले चिनिएको सन् १९८२ को अगस्ट १२ मा इजरायली जेटले बेरुतमा लगातार ११ घन्टासम्म बमबारी गरे । १०० भन्दा बढी मानिस मारिए । त्यही दिन स्तब्ध अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले तत्कालीन इजरायली प्रधानमन्त्री मेनाकेम बेगिनलाई ‘आफ्नो आक्रोश व्यक्त गर्न’ फोन गरे । फोनमा उनले ‘अनावश्यक विनाश र रक्तपात’को निन्दा गरे । ‘त्यहाँ जे भइरहेको छ, त्यो एक होलोकास्ट (यहुदीविरुद्ध नाजीले चलाएको आमनरसंहार जनाउन प्रयोग हुने शब्द) हो,’ रेगनले फोनमा बेगिनसँग भने । हो, एक अमेरिकी नेताले इजरायली नेतासँग ‘होलोकास्ट’ शब्द प्रयोग गरेका थिए । जवाफमा बिगिनले व्यंग्य मिश्रित स्वरमा भने ‘राष्ट्रपति होलोकास्ट के हो मलाई राम्ररी थाहा छ ।’ फोन संवादमा रेगनले बेरुतमा ‘तत्काल’ युद्धविराम घोषणा गर्न भने । २० मिनेटपछि नै (हो यति छोटो समयमा) बिगिनले आफूले बम विस्फोट रोक्न सेरोनलाई आदेश दिएको राष्ट्रपति रेगनलाई जानकारी गराए । फोन राखेपछि रेगनले छक्क पर्दै आफ्ना एक सहयोगीसँग भनेका थिए, ‘मसँग यस्तो शक्ति छ भन्ने मलाई नै थाहा थिएन ।’ 

सन् १९८२ मा तत्कालीन अमेरिकी राष्ट्रपति रेगनले इजरायली बमबारीबाट घाइते भएका एक लेबनानी बच्चाको तस्बिर देखेर द्रवित भई एक फोनमार्फत इजरायललाई बमबारी रोक्न लगाएका थिए । अहिले गाजामा चार महिनादेखि चलेको बमबारीमा १२ हजार तीन सयभन्दा बढी प्यालेस्टिनी बालबालिका मारिइसकेका छन् । तर, बाइडेनले किन रेगनको उदाहरण दोहोर्‍याइरहेका छैनन् ? 

अब त्यस घटनाको ४२ वर्षपछि अहिलेको समयमा आऊँ । गाजामाथि इजरायली आक्रमण भएको समय बेरुतमाथि नाकाबन्दी भएको भन्दा दोब्बर भइसक्यो । सन् १९८२ मा रेगनले एक घाइते लेबनानी बच्चाको तस्बिरबाट द्रवित भई बेगिनलाई फोन गरेको बताइन्छ । जबकि गाजामा चार महिना लामो बमबारीमा १२ हजार तीन सयभन्दा बढी प्यालेस्टिनी बालबालिका मारिइसकेका छन् । घाइते र अपांग बालबालिकाको संख्या दसौँ हजार पुगिसकेको छ । रेगनको समयमा युद्धको तस्बिर हेर्न साँझको समाचार पर्खिनुपथ्र्यो । अहिले हामीसँग इन्स्टाग्रामलगायत धेरै समाजिक सञ्जाल छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले उनीअघिका रेगनले जस्तै बेन्जामिन नेतान्याहुलाई एक फोन कल गरेर हालको नरसंहारको अन्त्य गर्न सक्थे । उनीसँग पनि रेगनले कल्पना नगरेको खालको ‘शक्ति’ छ । यसमा विमति जनाउनेहरूलाई विश्वास नगर्नुस् । 

केही मिडियाकर्मी भनिरहेछन्, ‘अमेरिकाले इजरायलमाथिको आफ्नो प्रभावको सीमा थाहा पाइरहेछ ।’ अमेरिकी कांग्रेसमा केहीले तर्क गर्दै छन्, ‘अमेरिकी राष्ट्रपतिहरूसँग तिनले सोचेजस्तो इजरायलमाथि प्रभाव रहेछ ।’ ह्वाइट हाउसका अधिकारीहरू ‘मध्यपूर्वमा अमेरिकाको सबैभन्दा घनिष्ठ साझेदार मुलुकलाई मार्ग परिवर्तन गर्न प्रभाव पार्न असमर्थ’ भएको निरीहता देखाइरहेका छन् । तर, यो सब कपटपूर्ण राजनीतिक चालबाजी हो । मिडिया आलोचक एडम जोनसनको भनाइ सापटी लिने हो भने सबै ‘बनावटी निरीहता’ हुन् । जोनसनका अनुसार बाइडेन नेतृत्वको ह्वाइट हाउसबाट गरिएका ‘स्वार्थपूर्ण चुहावट’का शृंखलाअनुसार इजरायली कदमबाट अमेरिकी राष्ट्रपति क्रुद्ध छन् । 

सत्य यो हो कि विश्व इतिहासकै सबैभन्दा धनी देश अमेरिकाको ‘कमान्डर–इन–चिफ’ बाइडेन शक्तिहीन छैनन् । उनीसँग विगतका कमान्डर–इन–चिफजस्तै इजरायलमाथि प्रशस्त प्रभाव छ । यो कसरी ठोकुवा साथ भन्न सकिन्छ ? पहिलो, किनभने अमेरिकी रक्षा प्रतिष्ठानका सदस्यहरूले नै यो कुरा भनिरहेका छन् । उदाहरणका लागि, सिआइए तथा राष्ट्रिय सुरक्षा परिषद्मा तीन दशक बिताएका ब्रुस रिडेललाई नै लिनुस् । चार फरक–फरक राष्ट्रपतिलाई सल्लाह दिएका रिडेलले हालै एक अन्तर्वार्तामा भने, ‘अमेरिकासँग (इजरायलमाथि) अझै ठूलो प्रभावशक्ति छ । अमेरिकाले हरेक दिनजसो इजरायललाई मिसाइल, ड्रोन, गोला–बारुद प्रदान गरिरहेको छ ।’

इजरायलमाथि अमेरिकाको प्रभाव छ भन्ने दोस्रो कारण हो, इजरायली रक्षा प्रतिष्ठानका सदस्यको त्यस्तो स्वीकारोक्ति । सन् २०२३ अक्टोबरको अन्त्यतिर इजरायली सांसदहरूले रक्षामन्त्री योआभ ग्यालेन्टलाई इजरायली बन्धकलाई रिहा नगरी गाजामा (थोरै पनि) मानवीय सहायता पस्न नदिन चेतावनी दिए । जवाफमा ग्यालेन्टले भनेका थिए, ‘अमेरिकीहरूले सहायता पठाउन जोड दिएका छन् र हामी तिनलाई अस्वीकार गर्न सक्ने ठाउँमा छैनौँ । विमान र सैन्य उपकरणका लागि इजरायल अमेरिकामा निर्भर छ । यस्तोमा हामी के नै गर्न सक्छौँ ? सहायता रोक्ने हो भने तिनैलाई भन्नुस् ।’ 

वास्तवमा अमेरिकाका राष्ट्रपतिले हातहतियार, गोला–बारुद, गुप्तचर सूचना आदि रोकेर सम्भावित नरसंहार रोक्न सक्थे । बाइडेनले नेतान्याहुलाई गाजाका प्यालेस्टाइनीहरूको सामूहिक हत्या गर्नबाट रोक्न सक्ने सामथ्र्य रहेको तेस्रो प्रमाण हो, उनकै विगत । उनले विगतमा यस्तो शक्ति प्रयोग गरेका छन् । सन् २०२१ को मेमा इजरायलले लगातार ११ दिन गाजापट्टीमा बमाबरी गर्‍यो । ६६ बालबालिकासहित १०० भन्दा बढी प्यालेस्टिनी मारिए । सोही अवधिमा, हमास र गाजाका अन्य सशस्त्र समूहले इजरायलमा चार हजारभन्दा बढी रकेट प्रहार गरेर १४ सर्वसाधारणको ज्यान लिए । 

हुन सक्छ, बाइडेन लाखौँ अमेरिकी र विश्वका अन्य धेरैजस्तै अक्टोबर ७ मा इजरायलीमाथि भएको आतंकवादी आक्रमणबाट स्तब्ध भए । तर, उनमा त्यस्तै भावना गाजामा जारी आतंकबाट किन उत्पन्न भइरहेको छैन ? त्यहाँ हरेक घन्टा दुई प्यालेस्टिनी आमा मारिइरहेका छन् । हरेक दिन १० प्यालेस्टाइनी बच्चाहरूको एक वा दुवै हातखुट्टा गुमिरहेको छ । प्रत्येक चारमध्ये एक प्यालेस्टाइनी अहिले भोकमरीको सामना गरिरहेका छन् । 

गाजामा निर्दोष मानिसमाथि अमेरिकामा बनेका बम निरन्तर खसिरहेको समयमा बाइडेन रातमा कसरी सुत्लान् ? गाजामाथिको बमबारीमा आफ्नाको निष्क्रियता र साँठगाँठको औचित्य कसरी पुष्टि गर्लान् ? बाइडेनसँग विगतमा भयावह व्यक्तिगत वियोग सामना गरेको अनुभव छ । उनले २९ वर्षदेखिकी श्रीमती र एक वर्षीया छोरीलाई कार दुर्घटनामा गुमाएका थिए । त्यसको दशकौँपछि फेरि उनले मस्तिष्क क्यान्सरका कारण अर्को सन्तान गुमाए । सयौँ आमा र बालबालिकाको दैनिकको हत्या रोक्न यस ग्रहका आठ अर्ब मानिसमध्ये बाइडेनसँग सबैभन्दा बढी शक्ति छ । उनको एक फोनमार्फत गाजाको नरसंहार रोकिन्छ भने उनले त्यस्तो शक्ति प्रयोग गर्नुपर्छ ।
द गार्जियनबाट