
निर्वाचन आयोगले उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले रिक्त रहेको इलाम २ र बझाङ प्रदेश सभा ‘१’मा १५ वैशाखमा उपनिर्वाचन गर्ने गरी आइतबार मिति घोषणा गरेको थियो ।
कार्यतालिकाअनुसार १६ फागुनदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २२ चैतमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उपनिर्वाचनमा भाग लिन चाहने दलले २४–३० फागुनसम्म दर्ता गरिसक्नुपर्नेछ ।
२२ चैतमा मुख्य निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना हुनेछ । २७ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गरिनेछ । २८ चैतदेखि १२ वैशाखसम्म प्रचारप्रसारको अवधि राखिएको छ ।