१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १३ आइतबार
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १३ आइतबार ११:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १३ आइतबार ११:५o:oo

अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली (अनलाइन)मार्फत रुट परमिट जारी गरेको छ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा विभागले निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउन विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिन सक्ने व्यवस्था गरेको हो। 

निषेधित क्षेत्रमा जाने पर्यटकलाई यसअघि अध्यागमन विभागले कागजी प्रक्रियाबाट मात्र अनुमतिपत्र प्रदान गर्दै आएकोमा गत हप्तादेखि भने विद्युतीय माध्यममार्फत रुट परमिट दिने व्यवस्था मिलाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए।

उनका अनुसार म्याजिकल नेपाल प्रालिमार्फत तीनजना चिनियाँ नागरिकको अनलाइन माध्यममार्फत रुट परमिट जारी गरिएको छ। अनलाइनमार्फत रुट जारी हुने चिनियाँ नागरिकमा बिङ सी, छिछि पिङ, विनहुवा लुओ छन्।

अनलाइनमार्फत रुट परमिट दिने व्यवस्था भएसँगै अब मुस्ताङको माथिल्लो भाग, डोल्पाको माथिल्लो भाग, गोरखाको मनास्लु क्षेत्रका चुम र नुब्री भ्याली, हुम्ला जिल्लाको सिमकोट, चङ्खेली र नाम्खा साथै ताप्लेजुङको कञ्चनजंघा क्षेत्र जाने पर्यटकलाई सहज हुने भएको छ।

टानका अध्यक्ष नीलहरि बास्तोलाले निषेधित क्षेत्रको परमिट अनलाइनमार्फत गर्दा पदयात्रा पर्यटक व्यवसायीलाई सहज हुने जानकारी दिए। ‘जति धेरै पर्यटकलाई सहजता दिन सक्यो त्यति नै धेरै पर्यटक नेपाल घुम्नका लागि आउँछन्, उक्त अनलाइन सेवाले पर्यटन व्यवसायीलाई सहयोग पुग्ने विश्वास मैले लिएको छु,’ उनले भने।

अध्यागमन विभागका निमित्त महानिर्देशक कृष्णबहादुर कटुवालले अनलाइन प्रणालीमार्फत परमिट खुला गरेसँगै लामो समय लगाएर प्राप्त गरिने प्रक्रियाको अन्त्य भएको बताए।

उक्त प्रणालीसँगै पर्यटकले अब सहजै रूपमा आफ्नो कम्पनी तथा व्यक्तिगत खाताबाट ‘क्युआर पेमेन्ट’ गरी सहज तरिकाले परमिट लिन सकिने उनको भनाइ छ।