१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १७ मंगलबार २१:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

गृहमन्त्रीको हस्तक्षेपले प्रहरीमा बढुवा अवरुद्ध 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार २१:३६:oo

नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) तहको बढुवा रोकिदा तल्लो तहसम्मकै वृत्तिविकास प्रक्रिया अवरुद्ध हुन पुगेको छ। यसले बढुवाको प्रतिक्षामा रहेका सयौँ प्रहरीहरू मारमा परेका छन्। 

नेपाल प्रहरीमा एसएसपीको ११ पद रिक्त भएको एक महिना धेरै भइसकेको छ। एसएसपीमा बढुवाका लागि प्रहरी महानिरीक्षक नेतृत्वको बढुवा समिति रहने प्रावधान छ। तर, गृहमन्त्री रमेश लेखकले आफू निकटस्थ जुनियर एसपीहरूलाई जसरी पनि बढुवामा पार्न दबाब दिएपछि बढुवा समितिको बैठक नै बस्न नसकेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ। 

रिक्त ११ पदमा बढुवाका लागि ३३ एसपीबिच प्रतिस्पर्धा छ। प्रतिस्पर्धी एसपीहरूमा विमल बस्नेत, प्रकाश रानाभाट, कमल थापा, तुलबहादुर कार्की, राकेश सिंह, राजीवकुमार बस्नेत, दीपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल र दयानिधि ज्ञवाली छन्। 

त्यस्तै, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमल्सिना र रमेश पण्डित पनि बढुवाका प्रमुख आकांक्षी हुन्।  

उनीहरूमध्ये वरीयतामा पछाडि रहेका पदम विष्ट, श्यामसिंह चौधरी, योगेन्द्रसिंह थापा, चक्रराज जोशी, जनकबहादुर शाहीलगायत आफ्नो क्षेत्रका भएको र अहिले बढुवा गर्न नसके आफूलाई पछि राजनीतिमा गाह्रो पर्ने भन्दै गृहमन्त्री लेखकले जसरी पनि बढुवा गर्न दबाब दिएका छन्। त्यस्तै, अन्य केही अधिकृतका लागि शक्तिकेन्द्रबाट सिफारिस आएको छ। 
३३ जनामध्ये कतिपय सात वर्ष पदावधि पुगेका तथा केही तीन वर्ष मात्र भएका एसपीहरू छन् । तर, तीन वर्ष मात्र पदावधि पुगेका जुनियरलाई जसरी पनि बढुवा गर्न दबाब आएपछि एसएसपी बढुवा एक महिनादेखि रोकिएको स्रोत बताउँछ। 

यसरी एसएसपी बढुवा रोकिँदा त्यसको असर तल्लो तहसम्म परेको छ। एसपी, डिएसपी र इन्स्पेक्टर पदमा पनि बढुवा अवरुद्ध भएको छ। ७ साउनभित्र बढुवा नगरे नयाँ आर्थिक वर्ष सुरु भएपछि चार महिनापछि मात्र बढुवा गर्न मिल्ने भएकाले पनि बढुवा प्रक्रिया रोकिँदा प्रहरी अधिकारीहरू तनावमा परेका छन्। बढुवाका लागि कुर्दा-कुर्दा डिप्रेसनमा जाने अवस्था भइसकेको एक प्रहरी अधिकारी सुनाउँछन्। 

प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरे भने रिक्त पदमा बढुवाका लागि तयारी भइरहेको बताउँछन्।