मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रीकृष्ण धिमाल
२०८० फाल्गुण १२ शनिबार १७:५२:००
Read Time : > 3 मिनेट
ब्लग डिजिटल संस्करण

पलाञ्चाेकी विजेश्वरी भगवती प्रतिष्ठाको १५ सय २१ वर्ष : तथ्य र महत्व

Read Time : > 3 मिनेट
श्रीकृष्ण धिमाल
२०८० फाल्गुण १२ शनिबार १७:५२:००

आज माघ शुक्ल पूर्णिमा । वि.सं. ५६० मा आजभन्दा १ हजार ५ सय २० वर्षअघि विजया स्वामिनीले राजसु यज्ञ सम्पन्न गरी पलाञ्चाेकी विजेश्वरी भगवतीको प्रतिष्ठा गरेकी थिइन्। माग शुक्ल पूर्णिमाका दिन स्थापना भएको पलाञ्चाेकी  विजेश्वरी भगवती काभ्रेपलान्चोक जिल्लाको प्राचीन पलाञ्चोक सहर हालको पाँचखाल नगरपालिकामा रहेको पलाञ्चाेकी विजेश्वरी भगवतीबारे शिलालेखमा उल्लेख छ। शिलालेखमा यस्तो लेखिएको छ :

१. संवत् ४२५ं१३५ (विस ५६०) शक्लपौण्णमास्याम् अस्यान्निदवसपुव्यावा भट्टारक महाराज श्रीमानदेवस्य
२. साग्र वर्षशतमाज्ञायतस् सम्रागड्गृहपतेस्पतन्या विजयस्वामिन्या प्रतिष्ठापिता देवी विजेयश्वरी

(अनुवाद : संवत् ४२५ं१३५ (वि.सं. ५६०) माघ शुक्लपूर्णिमाका दिन भट्टारक (गद्दिनशील) महाराज श्री मानदेवले सयभन्दा बढी वर्षसम्म (लामो कालसम्म) आज्ञा गरिरहनुभएको वेलामा सम्राट गृहपतिको पत्नी विजयास्वामिनिबाट भगवती विजेश्वरी देवीको प्रतिष्ठा गरियो।)

वि.सं. २०१३ सालमा पलाञ्चाेकी विजेश्वरी मन्दिरको छेउमा रहेको पाटीमा लिच्छविकालीन शिलालेख भेटिन्छ, जसलाई राष्ट्रगुरु योगी नरहरिनाथले प्रथमतः प्रकाशित गर्नुभएको थियो।

संवत् ४२५ अर्थात् माग शुक्ल पुर्णिमा दिन, विस ५६० मा राजराजेश्वरी विजया स्वामिनीले राजसुयज्ञ सम्पन्न गरी पलाञ्चोक शहरको शिरोभागमा पलाञ्चोकगढी नजिक स्थापना गरेको विजेश्वरी भगवतीलाई आज भोलि हामी पलाञ्चोक भवती भनेर नाम करार गरिरहेका छौं। यो गलत हो। यस्तो लेखिएको छ मन्दिरमा रहेको लिच्छविकालीन शिलापत्रमा :

१. संवत् ४२५ शक्लपौण्णमास्याम अस्यान्निदवसपुव्यावा भट्टारकमहाराजश्रीमानदेवस्य
२. साग्र वर्षशतमाज्ञायतस् सम्रागड्गृहपतेस्पतन्या विजयस्वामिन्या प्रतिष्ठापिता देवी विजेश्वरी ।

(अनुवाद : संवत्् ४२५ माघ शुक्ल पुर्णिमादिन भट्टारक (गद्दीनशिल) महाराज श्री मानदेवले सय भन्दा बढी वर्षसम्म (लामोकालसम्म) आज्ञा गरिरहनुभएको बेलामा सम्राट गृहपतिको पत्नी बिजयास्वामिनिले भवति विजेश्वरी देवीको प्रतिष्ठा गरियो।

पलाञ्चोक भगवती मन्दिर क्षेत्रको विजयस्वामिनीको अभिलेखबाट प्राप्त विवरणअनुसार पलाञ्चोक क्षेत्रको पुरातात्त्विक प्रमाण संवत् ४२५ को अभिलेखसँगै सुरु हुन्छ। यो अभिलेख पलाञ्चोक मन्दिरको दक्षिण पश्चिम कुनामा पाइएको हो। हिमवत्संस्कृति १ मा राष्ट्रगुरु योगी नरहरिनाथद्वारा छापिएको यो अभिलेख इतिहास संशोधनको ४७ क्रमागत संख्यामा धनवज्र बज्राचार्यले छपाएका हुन्।

सो अभिलेखमा भनिएको छ– संवत् ४२५ माघ शुक्ल पूर्णिमाका दिन भट्टारक (गद्दीनशीन) महाराज श्री मानदेवले सयभन्दा बढी वर्षसम्म (लामो कालसम्म) आज्ञा गरिरहनुभएको बेला सम्राट गृहपतिकी पत्नी विजयस्वामिनीद्वारा भगवती विजेश्वरीदेवीको प्रतिष्ठा गरियो। यो अभिलेख विजयस्वामिनी नामकी एक महिलाले राखेकी हुन््। यस अभिलेखमा उनले आफूलाई सम्राट गृहपतिकी पत्नीको रुपमा चिनाएकी छन्। यो अभिलेख मानदेवले शासन गरेको समयमा राखेको समेत उल्लेख गरिएको छ। अभिलेखमा उल्लेखित ‘सम्राट गृहपति’ कुनै राजसम्राट नभई अभिलेख राख्ने विजयस्वामिनीका श्रीमान् हुन् भन्ने धनवज्र बज्राचार्यको मत छ।

तिनै विजयस्वामिनीले पलाञ्चोक भगवतीको मूर्ति स्थापना गरेको भन्ने अभिलेखीय प्रमाण पाइन्छ। यो नै अहिलेसम्म प्राप्त भएको पलाञ्चोक क्षेत्रको सबैभन्दा पुरानो अभिलेख हो। यो अभिलेखले केही केही नयाँ तथ्यसमेत उद्घाटन गरेको छ। एकातर्फ यो समयमा मानदेवको शासन पलाञ्चोकसम्म पुगेको कुरालाई यही अभिलेखले पुष्टि गरेको छ भने मानदेव राजा भएको समयमा सो अभिलेख राखिएकोले अभिलेखमा उल्लेख भएको ‘सम्राट’ शब्द कुनै पदवीको अर्थमा नभई नाम विशेषको अर्थमा उल्लेख गरिएको बज्राचार्यको मत छ।

धनवज्र बज्राचार्यको मतमा पलाञ्चोकमा हालसम्म प्राप्त अभिलेखमध्ये सबैभन्दा पुरानो मानिएको यो अभिलेख राख्न लगाउने विजयस्वामिनीसमेत सर्वसाधारण व्यक्ति हुन्। लिच्छविकालीन समयमा दुई पक्षबाट अभिलेख राख्ने गरेको प्रचलन पाइन्छ। एउटा राजपरिवारका सदस्यहरूको तर्फबाट र अर्को सर्वसाधारणलाईसमेत अभिलेख राख्ने छुट थियो। राजपरिवारबाहेक सर्वसाधारणले राखेका अभिलेखहरूको प्रमाण खोज्दा देउपाटनको रत्नसंघको अभिलेख, टेबहालको गृहमित्रको अभिलेख, खपिंछेको वसन्तदेवको अभिलेख, बुढानीलकण्ठको मनुदेवको अभिलेख आदि रहेका छन्। त्यसैले पनि बज्राचार्यको मताअनुसार यो अभिलेख कुनै सम्राट्की पत्नीको नभई साधारण व्यक्ति गृहपतिकी पत्नीले राखेको मतलाई बलियो बनाएको छ।

यी विजेश्वरी भगवतीलाई पलाञ्चोक शहरमा नेपालको राजधानी बनाएका तत्कालीन शासक मदन सिंहरामले काठमाडौँको इटुङ बहालमा शिलालेख थापना गरी विस १४३९ मा पलाञ्चोकको किल्लानेर त्रिपुरेश्वरी र त्रिपुरासुन्दरीदेवीको जीर्णोद्वार गरेको उल्लेख गरेका छन्। सो शिलापत्रमा स्वयम्भूनाथ चैत्यको पुननिर्माण गरेको समेत प्रसङ्ग जोडिएको छ । स्मरण रहोस् विस १४०६ मा मुसलमानले काठमाडौँ उपत्यका आक्रमण गरी ध्वस्त बनाएका मठ मन्दिर पलाञ्चोकका शासकले निर्माण गरेको प्रमाण यथेष्ट छन्। त्यसको अर्को प्रमाण विस १४१७ को पशुपतिनाथको जयसिंहरामवर्दनको शिलालेख हो। मुसलमानको आक्रमणबाट विसं १४०६ मा ध्वस्त भएको पशुपतिनाथ मन्दिर र वर्तमानको शिवलिङ्गसमेत पलाञ्चोकका शासकले निर्माण गरेको पशुपतिनाथभित्रको शिलालेखले पुष्टि गर्छ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका– ९ मा अवस्थित यो मन्दिर संवत् ४२५ विसं ५६० मा मानदेव प्रथमको शासनकालमा विजयास्वामिनीले राजसुयज्ञ गरी स्थापना भएको पाइन्छ। पलाञ्चोक भगवती, नाला भगवती, नक्साल भगवती र शोभा भगवती चार दिदीबहिनीहरूमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठुली दिदी हुन् भन्ने लिच्छविकालीन र पूर्वमध्यकालिन किम्बदन्तीमा उल्लेख भएको पाइन्छ।

पलान्चोकी विजेश्वरी भगवतीको मूर्ति एक मिटर अग्लो कालो चिल्लो ढुङ्गामा कुँदिएको १८ हात भएको, विभिन्न शस्त्रास्त्रले सजिएको, अली बाङ्गिएको आकारमा छ। यो मन्दिरमा विशेष गरी माघ शुक्ल पुर्णिमा, ठुलो एकादशी दशैं, माघे–सङ्क्रान्ति र वैशाख पूर्णिमामा भगवतीलाई रथमा घुमाउने चलन छ। त्यस अवसरमा मन्दिरमा भक्तजनहरुको ठूलो भिड लाग्ने गर्दछ। सम्पूर्ण देवताहरूको अङ्गहरूबाट प्रादुर्भाव भएकी विजेश्वरी भगवती कमलको आसनमा विराजमान देवी महालक्ष्मीलाई सिंह वाहनमा विराजमान गरिएको छ। जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ। उनका १८ हातमा अक्षमाला, कमल, वाण, खड्ग, बज्र, गदा, चक्र, बञ्चरो, त्रिशूल, शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन्। शक्तिस्वरुपिनीमा एकजना पहरी व्यापारीले ल्हासा व्यापारबाट आएको आम्दानीबाट मन्दिरमा ५० धार्नी घण्टी चढाएका छन्। यहाँका आदिवासी पहरी भाषाअनुसार ‘पला’ पाइला र ‘चों’ बस्नु वा राख्नु हो।

(पलाञ्चाेकी विजेश्वरी भगवती प्रतिष्ठाको १५ सय २० वर्ष पूरा भएको अवसरमा)