१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
प्रतिनिधिसभाको शुक्रबारको बैठक अवरोध गर्दै विपक्षी दलका सांसदहरू । तस्बिर : रासस
कमलराज भट्ट काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोरम नपुगेर संसद् प्रभावित, सत्ता र प्रतिपक्षीबीच जुहारी

एमालेले माग्यो चार मन्त्रीको राजीनामा

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:१o:oo

गणपूरक संख्या नपुगेर संसद्को कारबाही प्रभावित भएको विषयमा सत्ता र प्रतिपक्षी दलबीच जुहारी चलेको छ । विधेयक प्रस्तुत गर्ने वेला प्रतिपक्षी दलले आफ्ना सांसद बाहिर पठाएर गणपूरक संख्या यकिन गराउने नाटक मञ्चन गरेको आरोप सत्तापक्षले लगाएपछि शुक्रबार प्रतिनिधिसभा बैठक प्रभावित भयो । 

बिहीबार बसेको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत गर्ने वेलामा गणपूरक संख्या यकिन गर्दा कोरम पुगेको थिएन । संविधानअनुसार विधेयक निर्णयार्थ प्रस्तुत गर्दा एकचौथाइ अर्थात् ६९ सांसद आवश्यक पर्नेमा ६५ मात्रै उपस्थित भएपछि राजनीतिक दलसम्बन्धी विधेयक प्रक्रियामा जान सकेन । त्यसपछि सभामुखले बैठक स्थगित गरेका थिए । 

यसैलाई लिएर शुक्रबार कांग्रेस सांसद राजेन्द्रकुमार केसीले विधेयक प्रस्तुत गर्ने वेला प्रतिपक्षी दलका सांसदहरू बाहिरिएर कोरम नपुगेको आरोप लगाएका थिए । कांग्रेस सांसद केसीले सोधे, ‘राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गर्ने वेलामा प्रतिपक्षको अनौठोको नाटक मञ्चन देखियो । ठ्याक्क गणपूरक संख्या पुग्छ कि भनेर १०–१५ जना सांसद बाहिर जानुभयो, अत्यन्त दुःखदका साथ प्रतिपक्षका साथीलाई भन्छु कि यो केवल सत्तापक्षको मात्रै विधेयक पास गर्ने हो कि प्रतिपक्षको मात्रै हो ?’

केसीले यो टिप्पणी गर्दा एमालेसहित विपक्षी रास्वपा र राप्रपाका सांसद उठेर विरोध गरेका थिए । केसीले एक वर्षमा एउटा मात्र कानुन बन्यो भनेर आज सर्वत्र आलोचना भइरहेको भन्दै प्रतिपक्षीले जानाजान विधेयकलाई असफल बनाउने प्रयत्न गरेको आरोप लगाए । 

उनले कांग्रेसको महासमिति चलिरहेको प्रतिपक्षलाई पनि थाहा भएको, त्यहीकारण आफूहरूको संख्या न्यून भएको जिकिर गर्दै, तर प्रतिपक्षी सांसदहरू बाहिर गएको आफ्नो आँखाले देखेको र विधेयक टेबल गर्ने सत्तापक्षको मात्रै जिम्मेवारीको कुरा नभएको टिप्पणी गरे । ‘हाम्रो संख्या महासमितिले न्यून हुँदा एउटा विधेयकलाई असफल बनाउने प्रयत्न जानाजान प्रतिपक्षबाट भएको छ । विधेयक हाउसको साझा कुरा हो,’ उनले भने । 

जवाफमा एमाले प्रमुख सचेतक पदम गिरी सरकारमाथि खनिए । प्रतिपक्षीले उठाएका सुशासनको सवालमा जवाफदेही हुनुको साटो सत्तापक्ष सांसद प्रतिवादमा उतारेर संसद्कै हुर्मत लिने काम गरेको आरोप लगाए । ‘हामीले संसद् रोक्न चाहेका छैनौँ, नियमित ढंगले अगाडि बढोस् भन्न निरन्तर लागिरहेका छौँ । तर, सरकारले रोस्टमबाट जवाफ दिने होइन, सत्तापक्ष सांसदलाई लगाएर प्रतिपक्षीमाथि हिलो छ्याप्ने दुष्प्रयास हुँदै छ,’ उनले भने । 

यसअघि एमाले सचिव योगेश भट्टराईले सरकारका मन्त्रीहरू बालकुमारी काण्ड, रामग्राम जग्गा लिज काण्ड, टेरामक्स काण्डमा मुछिएकाले राजीनामा दिनुपर्ने माग गरेका थिए । ‘तीनवटा मन्त्रीको विषयमा के भएको हो भन्ने प्रधानमन्त्रीले तत्काल जानकारी गराउनुपर्छ । बालकुमारी घटनामा आयोगको प्रतिवेदन संसद्मा टेबल गर्नुपर्छ,’ उनले भने । 

रास्वपा उपनेता विराजभक्त श्रेष्ठले महासमिति बैठकको जानकारी कार्यव्यवस्था समितिमा किन नदिएको भनेर प्रश्न गरे । ‘महासमिति छ भने कार्यव्यवस्थामा कुरा राख्नुपर्दैन ? क्यालेन्डर किन बनाएको हो ? विधेयकमा बहुमत नपुर्‍याउनेले सरकार कसरी चलाइरहेको छ ? सरकारलाई जिम्मेवार बनाउन खोज्दा संसद् चल्न दिएन भन्ने ?’ उनले सोधे । 

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विधेयक नल्याउने, संसद् चलाउन बिजनेस नदिने अनि आरोप विपक्षीलाई लगाउने भन्दै प्रश्न गरे । ‘संसद् रत्नपार्क होइन, सरकारले सदनमा उठेका विषयमा जवाफ दिनुपर्छ,’ उनले भने । 

सत्तारूढ माओवादी सांसद माधव सापकोटाले सांसद केसी बोल्दा नियमापत्ति नै नगरी प्रतिपक्षीले हुलहुज्जत गरेको र त्यसलाई सभामुखले पनि साथ दिएको आरोप लगाए । ‘संसद् बन्द गर्न, हुलहुज्जत र अराजकता प्रदर्शन गर्न, मनलाग्दी गर्न जनताबाट निर्वाचित भएर आएको हो ?’ उनले सोधे, ‘यो शासन व्यवस्था गलत लाग्दछ भने सांसद पदबाट राजीनामा दिएर सडकमा जानुस्, विद्रोह गर्नुस्, यो अधिकार छ । संसद्मा बसेर अराजक र उच्छृंखल हुने तरिका भएन ।’ 

केही घण्टा स्थगित र दलहरूबीच संवादपछि दोस्रो बैठक बसेर प्रतिनिधिसभा कार्यसूचीमा प्रवेश गरेको थियो । बैठकमा कृषि समिति सभापति आरजु राणाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिन् । साथै अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकलाई सम्बन्धित समितिमा पठाइएको छ । 

पछिल्लो समय प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी दलले बालकुमारी घटनामा भौतिकमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, टेरामक्समा अख्तियारमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम जग्गा लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै आएका छन् । यो विषयमा सभामुखले शुक्रबारसहित दुईपटक सरकारलाई जवाफ दिन रुलिङ गरिसकेका छन् । 

एमालेले माग्यो चार मन्त्रीको राजीनामा
प्रमुख प्रतिपक्षी एमालेले बालकुमारी घटनामा भौतिकमन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, टेरामक्समा अख्तियारमा बयान दिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र रामग्राम जग्गा लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमाले सचिव योगेश भट्टराईले चारैजना मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरे । ‘चारजना मन्त्रीको विषयमा के भएको हो भन्ने प्रधानमन्त्रीले तत्काल जानकारी गराउनुपर्छ । बालकुमारी घटनासम्बन्धी छानबिन आयोगको प्रतिवेदन संसद्मा टेबल गर्नुपर्छ,’ उनले भने । यो विषयमा सभामुखले शुक्रबारसहित दुईपटक सरकारलाई जवाफ दिन रुलिङ गरिसकेका छन् । 


 

ad
ad