१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०८० फाल्गुण ८ मंगलबार ११:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

शान्ति सैनिकले जातीय तनाव र आतंकवादको खतरा सामना गर्नुपरेको छ : प्रधानमन्त्री    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०८० फाल्गुण ८ मंगलबार ११:०५:००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतंकवादका विभिन्न कारकबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ खटिएका सैनिकले खतराको सामना गर्नुपरेको बताएका छन् ।

‘चौथो शान्ति प्रयास’ अभ्यासको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा सचेत हुनुपर्ने बताए । शान्ति स्थापना कार्य जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गर्दै उनले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाइ छ ।

‘संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतीहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनः मूल्यांकन गर्नुपर्ने भएको छ,’ प्रधानमन्त्रीले भने, ‘शान्ति स्थापनाको महत्वलाई अतिरञ्जित गर्न हुँदैन, त्यसका लागि मानवताको गहिरो भावना र प्रतिबद्धतालाई जोगाउन हस्तक्षेपको तत्परता आवश्यक पर्छ ’

खतराको ठूलो सामना गरेर शान्ति सैनिकले मानवताको गहिरो भावना र प्रतिबद्धतालाई मूर्तरूप दिइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सैनिकले गरेका त्यस्ता प्रयासको गहिरो प्रभाव परेको बताए ।

‘यस अवसरमा म विश्वभर शान्तिको खोजीमा बलिदान दिने बहादुर शान्ति सैनिकहरूप्रति सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँहरूको निस्वार्थ कार्य र समर्पणभाव हामी सबैका लागि प्रेरणको स्रोत हो ।’ उनले कठिन चुनौतीको सामना गर्दै वीरता र करुणका साथ सेवा जारी राख्ने शान्ति सैनिकहरूको प्रशंसासमेत गरे।

नेपालले हाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी खटाउने गरेको र थप १० हजारसम्म तालिमप्राप्त सेना परिचालन गर्ने वाचा गरेको तथ्यलाई जोड दिएकोप्रति गर्व महसुस भएको प्रधानमन्त्रीको भनाइ छ ।