Skip This
जेलभित्रैबाट पुटिनलाई चुनौती दिने साहसी नभाल्नी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ६ आइतबार
  • Saturday, 27 July, 2024
एन्टोन ट्रोइयानोभ्स्की
२o८o फाल्गुण ६ आइतबार १o:१७:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जेलभित्रैबाट पुटिनलाई चुनौती दिने साहसी नभाल्नी

Read Time : > 3 मिनेट
एन्टोन ट्रोइयानोभ्स्की
नयाँ पत्रिका
२o८o फाल्गुण ६ आइतबार १o:१७:oo

नभाल्नीको मृत्युसँगै रुसले आधुनिक समयका सबैभन्दा साहसी राजनीतिज्ञ र पुटिनका प्रखर आलोचक गुमायो 

रुसका प्रमुख विपक्षी नेता एलेक्सी ए नभाल्नीको शुक्रबार दुर्गम आर्कटिक जेलमा भएको मृत्युले विश्वलाई स्तब्ध बनायो । नभाल्नीको मृत्युको  समाचार रुसको संघीय जेलसेवाले दिएको छोटो वक्तव्यपछि बाहिर आयोे, जसमा उनी जेलभित्रको छोटो हिँडाइपछि बेहोस भएको र चिकित्सकले  ब्युँत्याउने प्रयास असफल भएको उल्लेख छ । नभाल्नीको मृत्युसँगै रुसले आधुनिक समयका सबैभन्दा साहसीमध्ये एक राजनीतिज्ञ र पुटिनका सबैभन्दा चर्को प्रतिरोधी आवाज गुमायो । नभाल्नी एक दशकभन्दा लामो समय राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा प्रखर आलोचकको रूपमा खडा भए । यस अवधिमा उनले पुटिनविरुद्ध अन्य कुनै रुसी नेताले भन्दा सफल विरोध अभियान परिचालन गरे । सन् २०२० मा भएको विष आक्रमणपछि (जसलाई धेरैले क्रेमलिनको कार्यका रूपमा हेर्छन्) उनी उपचारका लागि जर्मनी गए । त्यहाँ ठीक भएपछि नभाल्नी २०२१ मा रुस फर्किए र विमानस्थलबाटै पक्राउ परे । 

तर, जेलमा रहँदा पनि नभाल्नी उत्तिकै सान्दर्भिक रहे । हँसीमजाक गरिरहने, मिलनसार, आफ्नो  कुरा नघुमाई सीधा भन्ने भूतपूर्व घरजग्गा व्यवसायका वकिल नभाल्नीले जेलबाट आफ्ना वकिलमार्फत इन्स्टाग्राम पोस्टहरू प्रकाशित गराइरहे । व्यंग्य र आक्रोशमिश्रित ती पोस्टहरूमा उनी रुसी जनतालाई हार नमान्न वा नडराउन प्रेरित गरिरहेका हुन्थे । पछिल्लो समय उनले युक्रेनमाथि पुटिनको ‘आपराधिक’ युद्धको विरोध गरिरहन्थे । यस युद्धले ‘रुसी जनतामाझ लामो दरिद्रता’ ल्याउने उनको चिन्ता हुन्थ्यो । नभाल्नीको मृत्युपछि इन्स्टाग्रामबाट आउने यी झिनो विरोधका आवाज पनि सुनिन छाड्नेछन् । 

मस्कोमा बस्ने राजनीतिक विश्लेषक मिखाइल भिनोग्राडोभले नभाल्नीको मृत्युलाई सोभियत संघको अन्त्यपछि सबैभन्दा स्तब्धकारी मृत्युको संज्ञा दिए । नभाल्नीको मृत्युपछि उनको सम्मानमा विश्वभर छरिएका रुसीहरूले श्रद्धाञ्जली सभा गरे । रुसभित्रै पनि कैयौँ स्थानमा उनको सम्झनामा मानिसले फूलगुच्छा राखेका तस्बिर सामाजिक सञ्जालमा फैलियो । नभाल्नीको मृत्युबारे पुटिनलाई सूचित गरिएको उनका प्रवक्ताले मिडियालाई बताए । तथापि यस विषयमा क्रेमलिनले थप टिप्पणी गरेको छैन । उता अमेरिकी राष्ट्रपति जो बाइडेनले भने नभाल्नीको मृत्युका लागि पुटिनलाई जिम्मेवार ठह¥याएका छन् । म्युनिखमा एक उच्चस्तरीय सुरक्षा सम्मेलनको पोडियमबाट बोल्दै नभाल्नीकी पत्नी युलिया नवल्नायाले यस प्रकरणमा पुटिनको सरकारलाई ‘कठघरामा ल्याइने’ वाचा गरिन् । 

तर, रुसबाट निर्वासित रहेका र लिथुआनियामा मुख्यालय बनाएर बसेका नभाल्नीका सहयोगीहरू उनको मृत्युको मुख्य जिम्मेवारी पुटिन रहेकोमा विश्वस्त छन् । आखिर उनै पुटिनले तीन वर्षअघि आफ्ना सबैभन्दा प्रखर राजनीतिक प्रतिद्वन्द्वीलाई कैद गर्ने निर्णय गरेका थिए । त्यसवेलादेखि नभाल्नीलाई जेलमा गरिने व्यवहार कठोर बनाउँदै लगिएको थियो । पछिल्लो समय उनीमाथि लगाइएका नयाँ आरोपमार्फत उनको सजाय अर्को एक दशकसम्म थप गरियो । पुटिनले नभाल्नीलाई पुनः शक्तिशाली प्रतिरोध आवाजको रूपमा पुनः नउदाऊन् भन्ने सुनिश्चित गर्न खोजेजस्तो देखिन्थ्यो । 

सन् २०१७ मा युट्युबमा आफ्नो साप्ताहिक प्रत्यक्ष प्रसारणको क्रममा नभाल्नी । तस्बिर : न्युयोर्क टाइम्सका लागि जेम्स हिल

विगत वर्षमा नभाल्नीले मस्कोका उदार मध्यमवर्गभन्दा बाहिर समर्थन विस्तार गर्न उनको चर्को भाषणशैली र शासनको भ्रष्टाचार पर्दाफास गर्ने युट्युब च्यानलमार्फत देशव्यापी राजनीतिक सञ्जाल निर्माण गरेका थिए । यी सञ्जाल देशमा दशकौँमा भएका ठुल्ठूला विरोध प्रदर्शन निर्माण गर्न प्रयास गरिएका थिए । त्यसैले उनी क्रेमलिनको आँखाको कसिंगर हुनु स्वाभाविक थियो । रुसी राष्ट्रपति कार्यालयले भने नभाल्नीको मृत्युलाई सामान्यीकरण गर्ने प्रयास गरेको देखियो । सो दिन पुटिन युराल पर्वत क्षेत्रमा नियमित कार्यक्रममा देखा परे, जहाँ उनले रोबोटिक्स, सरकारी अनुदान र इन्जिनियरिङ स्कुलजस्ता विषयमा बोले । तर, उनले नभाल्नीबारे उल्लेख गरेनन् । पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पछि टिप्पणी गर्ने क्रममा नाभाल्नीको मृत्युमा विदेशी अधिकारीले क्रेमलिनलाई दोष दिनु ‘पूर्णतः अस्वीकार्य’ भएको बताए । 

नभाल्नीको मृत्यु रुसी राष्ट्रपति चुनावको एक महिनाअघि भएको छ । यस चुनावलाई क्रेमलिन पुटिनको पाँचौँ कार्यकालको राज्यरोहणको सहज मार्गका रूपमा प्रयोग गर्ने योजनामा छ । मुख्यतः आमरुसीहरू पुटिनको पक्षमा एकजुट भएको चित्रित गर्न खोजिँदै छ । क्रेमलिनले पछिल्लो समय युक्रेनको युद्धमोर्चामा हासिल भइरहेको सफलतालाई चुनावी जितको लागि प्रयोग गर्नेछ । युक्रेन युद्ध सुरु भएको तेस्रो वर्ष पुग्दै गर्दा पुटिनको घरेलु राजनीतिमाथि लगभग पूर्ण नियन्त्रण कायम देखिन्छ । अहिले पुटिनका सबैभन्दा ठूला विरोधी या त जेलमा छन्, या निर्वासनमा । सडक आन्दोलन तत्कालै दबाइन्छ । पछिल्लो समय युक्रेनमाथिको युद्धको विरोध गर्ने हजारौँ रुसीहरू देशद्रोहको मुद्दामा जेलमा हालिएका छन् । 

उच्च तलबभत्ता दिएर सैन्य भर्ती चालू राख्न सकेकाले क्रेमलिनले युक्रेन युद्धका लागि दोस्रोपटक जनतामाझ आम–सैन्य परिचालनको आह्वान गर्नुपरेको छैन । यसले गर्दा अधिकांश रुसीहरूले युक्रेन युद्धको दुष्प्रभाव सामना गर्नुपरेको छैन । अर्थतन्त्र सबल रहेकाले पश्चिमी प्रतिबन्धको असर अहिले निस्तेज बनेका छन् । तर, केही विश्लेषक नभाल्नीको मृत्यु पुटिनको शक्ति बाहिर देखिएभन्दा कमजोर रहेको कुराको संकेत हुन सक्ने बताउँछन् । नाभाल्नी भ्रष्टाचार र युद्धविरोधी आवाज उचाल्न माहिर थिए । उनको मृत्युपछि नयाँ सिराबाट पुटिनविरोधी अभियान सुरु हुन सक्ने मस्को निवासी विश्लेषक विनोग्राडोभ मान्छन् । रुसी जेलमा १० वर्ष बिताएर हाल निर्वासनमा रहेका पुटिनका आलोचक मिखाइल खोदोरकोभस्कीले नभाल्नीको मृत्युले अब पुटिनविरोधी अभियान कुनै एक नेतावरिपरि केन्द्रित हुन नहुने पाठ दिएको बताए । ‘क्रेमलिनविरुद्धको संषर्घ सबल बनाउन प्रतिरोधीहरूले गठबन्धन बनाउनुपर्छ । प्रतिरोधका लागि गठबन्धन धेरै स्थिर हुन्छ । यसमा यदि कोही मरेर गयो भने उसको स्थानमा अर्को नयाँ मानिस खडा हुनेछ,’ हाल लन्डनमा रहेका खोदोरकोभस्कीले भने । 

खोदोरकोभस्कीले नाभाल्नीको मृत्युपछि गरेका इन्स्टाग्राम पोस्टमा उनले सुरु गरेका प्रतिरोधी अभियानलाई प्रवद्र्धन गर्न जारी राख्ने बताए । ‘हामीलाई नभाल्नीले ठूलो जोखिम मोलिरहेका छन् भन्ने थाहा थियो । तर, भावनात्मक रूपमा हामी उनको निधनका लागि तयार थिएनौँ,’ खोदोरकोभस्कीले फोन अन्तर्वार्तामा भने । नभाल्नीको मृत्युपछि क्रेमलिनले देशभित्र दमन र सेन्सरसिपको नयाँ चरण चाल्ला कि नचाल्ला भन्ने प्रश्न उब्जिएको छ । बितेपछि पनि नभाल्नीले क्रेमिलिनका लागि समस्या खडा गरिदिएको राजनीतिक विश्लेषक तातियाना स्तानोभायाले भनिन् । ‘कार्नेगी रसिया युरेसिया सेन्टर’का वरिष्ठ फेलो रहेकी स्तानोभायाले यसबारे प्रस्ट्याउँदै भनिन्, ‘धेरैको ध्यान अब शासनले अनावश्यक बढी प्रतिक्रिया जनाउँछ कि भन्ने कुरामा निर्भर हुनेछ । तिनलाई नभाल्नीको विरासत नियन्त्रण गर्नुपर्ने चुनौती जो छ ।’ 

नभाल्नीको विरासत उनको मृत्युको समाचार बाहिरएको केही घन्टाभित्रै देखिएको थियो । कैयौँ रुसी नागरिकले भारी हिउँको ख्याल नगरी मस्कोको स्टालिनको शासनकालमा भएका दमनका पीडितप्रति समर्पित सोलोभेत्स्की स्मारकमा फूलगुच्छा र मैनबत्ती राखेर उनीप्रति श्रद्धाञ्जली दिँदै सम्मान व्यक्त गरे । बर्लिनस्थित रुसी दूतावासको अगाडि क्रेमलिनका पूर्वसल्लाहकार रहेर पछि पुटिनविरोधी बनेका मारात गुयलम्यानले नभाल्नीको मृत्युबारे बोल्दै भने, ‘म के विश्वास गर्छु भने नभाल्नीको मृत्युले रुसको संकटग्रस्त र विभाजित प्रतिरोधी समूहहरूलाई पुनर्ताजगी गर्नेछ । मलाई आशा छ, रुसमा एक नायकको स्थानमा सय नायक उदाउनेछन् ।’ 

–द न्युयोर्क टाइम्सबाट

(ट्रोइयानोभ्स्की द न्युयोर्क टाइम्सका मस्को ब्युरो प्रमुख हुन् । उनी रुस, पूर्वी युरोप, काकेसस र मध्यएसियाबारे लेख्छन् ।)