१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका महोत्तरी
२०८० फाल्गुण ३ बिहीबार १२:११:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
२०८० फाल्गुण ३ बिहीबार १२:११:००

न दिन भन्न पाइन्छ, न रात । महोत्तरीका गाउँ तथा नगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन् । खेतबारीका सुरसुरमा ‘धुआ’ (मुर्कट, बुख्याचा, झिलुंगो) ठड्याएर वन्यजन्तु तर्साउने यहाँको धेरै पुरानो चलन फेरि  बाक्लिँदै गएको छ ।

‘यो धुआ ठड्याउने त पुरानै चलन हो, बीचमा वन्यजन्तुको चहलपहल घट्दा हटेको थियो । अहिले फेरि हामीले यसको सहारा लिन थालेका छौँ,’ भंगाहा– ५ कर्पुरगन्जका ६० वर्षीय किसान रामजुलुम सर्दारले भने, ‘बाली माड्दै, उखेल्दै हिँड्ने वन्यजन्तु धुआ ठडिएको देखेपछि मान्छे हो भन्ठानेर हच्कँदा रहेछन् ।’ पूर्व–पश्चिम राजमार्गबाट करिब २० किलोमिटर दक्षिणतर्फीको यहाँको बस्तीमा नीलगाई र बँदेलले धुरुक्क रुवाएको उनको भनाइ छ । ‘बाँदर र दुम्सी त यता देखिएका छैनन्, तर घोडगदाहा (नीलगाई) र जंगली सुँगुर (बँदेल)ले भने हुर्मत लिएका छन्,’ उनले भने । 

महोत्तरीका मध्य र दक्षिणी क्षेत्रमा नीलगाई र बँदेलआतंकले आजित किसान बाली लागेका खेतबारीका सुरमा धुआ ठड्याउनसँगै ठाउँ–ठाउँमा बिजुली बाल्न थालेका छन् । बिजुलीको चिम (बल्व)को उज्यालोबीच हातमा छडी बोकाइएको मुर्कट अगाडि पर्दा वन्यजन्तु हच्केर भाग्ने गरेका पाइएको किसानको भनाइ छ ।

जिल्लाको मध्य र दक्षिणी भेगसम्म नीलगाई र बँदेलआतंक छ भने वनक्षेत्र नजिकका उत्तरी क्षेत्रका बस्तीमा त बाँदर र दुम्सीले पनि हैरान खेलाएको किसानको गुनासो छ । वेलावेलामा हुने हात्तीको आक्रमणबाट वाक्कदिक्क बनाएका बर्दिबास– ३ राईमण्डलका ६० वर्षीया कर्णमाया गुर्मछाने बताउँछन् । ‘बाँदरले त यी ठड्याएका मुर्कट केही गन्दैन, आँगनकै थांग्राका मकैसमेत उधिन्छ, नीलगाई र बँदेल भने बिजुलीको उज्यालो र मुर्कट देख्दा हच्किँदा रहेछन्,’ गुर्मछानेले सुनाए । 

‘यो धुआ बाजेले ठड्याउनुभएको मलाई सम्झना छ,’ विगत सम्झँदै बर्दिबास–९ बनरझुल्लाका ७० वर्षीय रामचन्द्र महतो भन्छन्, ‘बीचमा वन्यजन्तुको हिँडडुल कम हुँदा यसको चलन हराउँदै गएको थियो,’ धुआ र बिजुलीको प्रबन्धले वन्यजन्तुको उपद्रव अलि कम भएको किसानको ठम्याइ छ । यसले बाली बच्ने र वन्यजन्तुलाई पनि चोट नलाग्ने भएपछि किसानले सन्तोषको श्वास फेर्न पाएका छन् ।

वन्यजन्तुले बाली खाएको देखेपछि लखेट्दा कैयौँ बस्तीमा नीलगाई मारिएका र बँदेललाई पासो थापेर मार्ने गरेका घटना पनि अब कम हुने किसानको विश्वास छ । दिनभरि घारीतिर लुकेर मध्यरातपछि तरकारी बाली, गहुँ, उखुका बोट र केराका थामसमेत उखेल्ने बँदेलले हैरान नै पारेका बेला धुआ  र बिजुलीले आफूहरूलाई राहत दिएको किसानको भनाइ छ । ‘बिजुलीको चमकमा हातमा लौरो लिएको मुर्कट देखेपछि मान्छे ठानेर बँदेल र नीलगाई हच्कँदा रहेछन्,’ बर्दिबास– ७ प्रेमनगरका रामउदगार महतोले भने, ‘खेतबारीमा बिजुलीको झलमल्ल उज्यालोमा जंगलीजन्तु हिँडेको पनि अलिक टाढैबाट देखिन्छ, देख्नासाथ हल्लीखल्ली गरिएपछि वन्यजन्तु भाग्ने भएका हुँदा अहिले क्षति कम भएको छ ।’

महोत्तरीमा अचेल उत्तरदेखि दक्षिणसम्मकै किसानले धुआ र बिजुलीको बन्दोबस्त बढाएका छन् । बस्ती–बस्तीका किसानले खेतखेतमा बिजुली बालेपछि जताततै चहकिलो उज्यालो देखिन थालेको छ । ‘खेतबारीमा झलमल्ल बिजुलीको उज्यालो हुन्छ, जंगली जनावर मात्र होइन, यसले चोर्न पल्केका पनि हच्कँदा रहेछन्,’ भंगाहा–४ रामनगरका किसान शुभनारायण ठाकुरले भने, ‘खेतमा बिजुली बल्न थालेपछि केराका घरी र तरकारी चोर्ने घटना पनि कम भएका छन् ।’

सघन तरकारी खेती गरिने महोत्तरीका उत्तरी क्षेत्रका स्थानीय तहहरू बर्दिबास, गौशाला, भंगाहा र औरहीसहित छिमेकको धनुषा जिल्लाको मिथिला र क्षिरेश्वर नगरपालिका एवं बटेश्वर गाउँपालिकाका बस्ती/बस्तीमा पनि वन्यजन्तुबाट बाली जोगाउन किसानले धुआ र बिजुलीको उपाय  अपनाउँदै छन् ।