१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:२८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मिटरब्याजीपीडितको माग पूरा गर्न पूर्वप्रधानमन्त्री खनालको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:२८:oo

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याजी पीडकलाई कडा कारबाही गर्न र किसानहरूलाई न्याय दिने हिसाबले क्रान्तिकारी कदम चाल्न सरकारसँग माग गरेका छन् । बुधबार वक्तव्य जारी गर्दै खनालले अन्यथा, परिस्थिति अझ जटिल बन्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो देशका भूमिहीन, गरिब र मध्यम किसानका समस्यालाई गम्भीरतापूर्वक लिन, मिटरब्याजपीडित किसानका पीडालाई गहिरो गरी बुझ्न, उनीहरूका समस्याहरूलाई आधारभूत रूपले समाधान गर्न, किसानहरूलाई यस पीडाबाट पूर्ण रूपले मुक्त बनाउने ढंगले कदम चाल्न, मिटरब्याज पीडकलाई कडा कारबाही गर्न र किसानहरूलाई अधिकतम न्याय दिने हिसाबले क्रान्तिकारी कदम चाल्न म सरकारसँग जोडदार माग गर्दछु ।’

खनालले एकीकृत समाजवादीको तर्फबाट मिटरब्याजपीडित किसानको न्यायपूर्ण आन्दोलनलाई दृढ समर्थन गरेका छन् । किसानको आन्दोलनलाई हरप्रकारले सहयोग र समर्थन गर्न अखिल नेपाल किसान महासंघ र एकीकृत समाजवादीका सम्पूर्ण नेता तथा कार्यकर्ता र समर्थकलाई आह्वान पनि गरेका छन् । मिटरब्याजपीडित किसानको न्यायपूर्ण आन्दोलनप्रति सहानुभूति राख्ने अन्य सबै राजनीतिक पार्टी, शक्ति र व्यक्तिहरूलाई आन्दोलनलाई सहयोग र समर्थन गर्न पनि उनले आग्रह गरेका छन् ।

‘फेरि एकपटक मिटरब्याजपीडित किसान मेची र महाकालीबाट आन्दोलनमा उत्रिन बाध्य भएका छन् । यो आन्दोलन दलाल पुँजीवाद र तिनीहरूका राजनीतिक प्रतिनीधिहरूले भूमिहीन, गरिब र मध्यम किसान जनतामाथि गर्दै आएको निर्मम, क्रुर र भयावह शोषण, अन्याय, अत्याचार र जनलुटका विरुद्ध जारी किसान आन्दोलन हो ।’ खनालले भनेका छन् । अमानवीय शोषण र अत्याचारबाट मुक्ति दिलाउन किसानले गरेका माग पूरा गर्न सरकारले ठोस कदम चाल्न नसकेको उनले औँल्याएका छन् ।